७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

आज प्रेम गरौं,रुने-हाँस्ने भोलि गरौंला!

कथा

 यो पूरै तलाभरि प्रत्येक कोठालाई नम्बरिङ गरिएको छ। बाथरुम र भान्सा कोठा साझा छन्। तिनलाई छाडेर मेरो कोठा मात्र एक त्यस्तो कोठा छ जसको ढोकामा कुनै नम्बर टाँसिएको छैन। संसारका सबै कोठाहरुको नम्बर हुनै पर्छ भन्ने पनि के छ? होइन र!  अत: म यो बिना नम्बरको कोठामा सबैभन्दा सानो नम्बरको उमेर बोकेर नेपालदेखि काम गर्न आइपुगेको छु। यो कम्पनीद्वारा कामदारहरूलाई बस्नको निम्ति  उपलब्ध गराइएको फ्ल्याट हो जुन पृथ्वीको एउटा निश्चित भौगोलिक बिन्दुमा पर्छ जुन दक्षिण कोरियाको एउटा सहरको एउटा औद्योगिक क्षेत्रभित्र हो।

जीवनमा म एउटा प्रश्नले धेरै पहिलेदेखि लखेटिइँदै आइरहेको छु। त्यो प्रश्न हो - के कुनै स्त्री र पुरुष बीच हुने प्रेम र अन्य पारिवारिक-सामाजिक सम्बन्धमा हुने प्रेम एकै हो?  यसको जवाफ यकिन गर्न कठिन छ। प्रेम त विश्वव्यापी छ। यो यति अपरिमेय छ कि हामीले अनुमानहरूले यसका आयतन र आयामाहरु छाम्नुपर्ने हुन्छ। हो यही रहस्यमयी र अति तिलस्मी प्रेमबारे नसोचिरहन मेरो मगजले पटक्कै दिंदैन। त्यसैले म बेला न कुबेला यसको बारेमा सोचिरहन्छु।

म यहाँ आउनुअघि यही कम्पनीमा काम गर्दै आएका नेपाली  चार साथी हुनुहुन्छ। उनीहरूमा मैले चार प्रेमी पात्र पाएको छु। म उनीहरूभित्रका प्रेमीहरूलाई बडो सूक्ष्म ढंगले नजिकबाट नियाल्ने प्रयास गरिरहेको हुन्छु। म खोजिरहेको हुन्छु पत्ता लगाउन कि - के प्रेम एकै हो?

कोठा नम्बर १ - सोनम आसेङ

सोनम आसेङको कोठा सुरुमै पर्छ । उनको घर दोलखा हो।  उनले भर्खरै प्रेम बसेको आफ्नी प्रेमीका काठमाडौंमै छाडेर आएका छन्। प्रेमीकाको नाम काया हो रे। मैले ठट्टा गर्दै एक दिन भनेँ कि 'यो नामै नेपाली परिवेशको छैन। नाम सुन्दै यो केटी नक्कली हुनुपर्छ जस्तो लाग्छ। होस् पुर्याउनू है आसेङ! होस् पुर्याउनू' मेरो कुराले उनको अनुहार अँध्यारो भयो। कुरा प्रष्ट थियो उनी मसँग रिसाए तर संयमित हुँदै उनले आफ्नी प्रेमीकाको बचाउ गरे-'हैन, हैन, नाम मात्रै त्यस्तो हो। एकदमै सोझी छ ' मैले विचार गरेँ आफूले प्रेम गर्ने मान्छेको कुरा काटेको पटक्कै मन पर्दैन रहेछ र उसको तुरुन्तै बचाउ गर्न मन  लागिहाल्दो रहेछ।

मैले सोनाम आसेङको प्रेममा वासनाको मात्रा के कति छ भनेर ध्यान नदिने पनि निधो गरेको थिएँ किनकि  मेरो विषय प्रेम थियो,यौन थिएन।

थोरैभन्दा थोरै समय मिल्यो कि सोनम आसेङ कायालाई कल गर्न आतुर देखिन्थे। त्यो आतुरीलाई म राम्ररी नियालिरहेको थिएँ। जस्तो कि कामको बीचमा पाइने कफी ब्रेक अथवा काम सुस्त चलिरहेको बेला मिल्ने केही जोडा खाली मिनेटहरू अथवा भनौं दिउँसोको खाना खानेबेलाको छोटो फुर्सद अथवा साँझ काम सकेर नुहाउनुअघिको थोरै उँघ्ने समय। हरेक त्यस्ता उब्रेका न्यूनतमभन्दा न्यूनतम समयहरूमा पनि उनी कायाको अनुहार हेर्न व्यग्र हुन्थे र कल गरिहाल्थे-'हेलो काया! अँ भनन'।

कल आफू गर्ने अनि उतापट्टिकोलाई अँ भनन भन्ने यो प्रेमीको चाला पनि बडो गजबको छ! म मुस्कुराउँथे।

सप्ताह अन्तको छुट्टीको रात कोठा नम्बर एकबाट प्रेमले भरिएका कुराकानीहरु रातको अन्तिम प्रहरसम्म बाहिरै सुनिनेगरी गुनगुन गुनगुन आइरहेका हुन्थे । अनि बीचबीचमा 'अँ भनन अँ भनन' सबै भन्दा प्रष्ट र बुलन्द सुनिन्थ्यो।

कोठा नम्बर २ - झापाली दाजु

कोठा नम्बर दुईमा झापाली दाजु बस्नुहुन्छ। उहाँको नाम लिम्बू भाषामा भएकोले सायदै कसैलाई राम्ररी थाहा होला। उमेरमा हामीभन्दा थोरै ठूलो हुनुहुन्छ त्यसैले गर्दा उहाँलाई झापाली दाजु भन्ने गरेका थियौँ।

एक दिन काम गरिरहँदा उहाँ निकै अशान्त देखिनुभयो। सामान्यतया काम गर्दा एउटादुईटासम्म चुरोट खाने मान्छे त्यो दिन भने  छिनछिनमा चुरोट सल्काको सल्काकै हुनुहुन्थ्यो। उहाँको छटपटी र बेचैनी टाढाबाटै देख्न सकिन्थ्यो। काममा कतै कुनै दुर्घटना नहोस् भनेर उहाँलाई नजिक गएर के भयो दाजु भनेर सोधेँ। उहाँले निकै शिथिल स्वरमा श्रीमतीलाई बेथा लागेर अस्पताल भर्ना गरिएको कुरा सुनाउनुभो। मैले पीर नगर्न र सबै ठीक हुनेछ भनेर सान्त्वना दिएँ। मेरो शान्त्वनाले एक पित्को पनि काम गरेन। त्यो दिन झापाली दाजुले दिवा खाना समेत खान सक्नु भएन । त्यतिकै खालीपेटै काम गर्नु भो।

काम सकेर नुहाइधुवाइ गरेपछि साँझ खबर आयो। पहिलो सन्तानको रूपमा झापाली दाजुको छोरो जन्मियो। दिनभर श्रीमतीको पीरले खाना समेत नखाएर काम गरेको झापाली दाजु साँझमा युद्ध जितेको प्रधान सेनापतिझैँ गर्जनुभो, 'केटाहरू हो, आज कुनै बहाना चल्दैन। लुगा लगाओ! म ट्याक्सी बोलाउँछु। आज बाहिर गएर रातभर रमाइलो गर्ने हो। मलाई बेस्सरी भोक लागेको छ। आज मेरो तर्फबाट पार्टी' त्यो दिनदेखि झापाली दाजु पुरानो झापाली दाजु रहनुभएन। उहाँभित्र नयाँ प्रेमीको जन्म भइसकेको थियो, पुत्रप्रेमीको।

कामको बीचमा चुरोट खाने छोटो समयमा पनि श्रीमतीलाई भिडियो कल गर्दै 'पुन्टे खै त?' भनेर सोध्नुहुन्थ्यो। म कसम खाएर भन्न सक्छु भिडियो कलमा एक झलक भए पनि छोरालाई देखेपछि उहाँको सिगरेटमा सय गुणा स्वाद थपिएको हुनुपर्छ। उहाँको आत्मामा हजार गुणा शान्ति छाएको हुनुपर्छ। हाय यो प्रेम पनि कस्तो चिज रहेछ!

के साँझ,के विहान, के रातबिरात, के छुट्टी, के ड्युटी जतिखेरै पनि झापाली दाजुको 'उलुलुलुउलुलुलु..' आवाज सुन्नपर्थ्यो। भिडियो कलमा उहाँ आफ्नो शिशु पुत्रलाई बोलाइरहनुभएको आवाज हुन्थ्यो त्योर त्यो सधैं एउटै हुन्थ्यो।

सुरुमा 'हेल्लो! अँ, पुन्टे खै त?' हुन्थ्यो। अनि उताबाट भाउजूले छोरो देखाएपछि 'ओइ छोरो! उलुलुलुउलुलुलु...' । यो उलुलुलु यति धेरै हुन्थ्यो कि कहिलेकाहीँ त हामी अरू कोठाकालाई डिस्टर्ब नै हुन्थ्यो। तर हामी पनि उहाँको खुसीमा खुसी थियौँ।

एक दिन म बाथरुम भएर आफ्नो कोठातिर फर्कँदै थिएँ। झापाली दाजुको कोठाबाट आएको आवाज सुनिपठाएँ। उहाँ भन्दै हुनुहुन्थ्यो, 'उलुलुलु बाबू ....उलुलुलु छोरो...। होइन बूढी के हौ! हाम्रो छोरो त बोल्दैन त?'

उनको अधैर्यता देखेर म मनमनै मुस्कुराएँ। र आफैसँग भनेँ'भर्खर दुई महिनाको बच्चा पनि कहीँ बोल्छ त दाजु?'  मैले एउटा नव प्रेमीलाई नजिकबाट देख्न पाएकोमा म भने खुसी थिएँ। 

कोठा नम्बर ३ -जेठा मगर

म्याग्दीका जेठा मगर तीन नम्बर कोठामा बस्छन्। उनको एक साल अघि मात्रै विवाह भएको छ। घरमा नयाँ दुलहीलाई बाआमासँग छाडिराखेर उनी यो देशमा दु:ख गरिरहेका छन्। विवाहपछिको प्रेम कस्तो हुँदो रहेछ भनेर मैले उनीबाट बुझ्दै थिएँ। उनकै अनुसार उनको मागी विवाह भएको हो रे। विवाहअघि उनको कसैसँग प्रेम सम्बन्ध थिएन रे। यो उनको पहिलो विवाह, पहिलो प्रेम।

जेठा मगरलाई कुनै बहाना मात्रै चाहिन्छ आफ्नी दुलहीको तारिफ गर्न थालिहाल्छन्। प्रभा यस्ती छे, प्रभा उस्ती छे। प्रभाले यसो भनी, प्रभालाई उसो भनेँ। प्रभालाई यो पनि आउँछ, प्रभालाई त्यो पनि आउँछ। प्रभालाई यो कुरा मन पर्छ, प्रभालाई त्यो कुरा मन पर्दैन। सुन्ने मान्छे सुन्न इच्छुक छ कि छैन समेत ख्याल नगरी उनी आफ्नी श्रीमतीको प्रसंग उठाउन कुनै मौका बाँकी राख्दैनन् र प्रशंसाको एक थोपा पनि विलकुलै खेर जान दिँदैनन्। आफ्नी प्रेमिकाको कुरा हर्दम गरिरहन मन लाग्ने अहो यो कस्तो प्रेम हो! अहो यो कस्तो आभाष हो!

एक दिन जेठा मगरले हामी सबैलाई अचम्म पार्ने गरि एउटा काँधे ब्याग किने। गुची ब्रान्डको उक्त काँधे लेडिज ब्यागको मूल्य सोह्र लाख कोरयन वन थियो जसको नेपाली रुपैयाँमा लगभग एक लाख साठी हजार पर्न आयो।

जिन्दगीमा आफूले दुई हजार रुपैयाँभन्दा माथिको जुत्ता नलाएको कुरा आफै सुनाउने उनले श्रीमती प्रभाको लागि जन्मदिनको उपहार पठाउने भनेर गुचीको ब्याग किनिदिए। हाम्रो निम्ति त्यो उनको बेवकुफी थियो, पैसाको दुरूपयोग अथवा भनौं अपचलन नै थियो। यो त्यही जेठा मगर थियो जसलाई दुई छाक सादा खाना र शरीर ढाक्न सामान्य कपडा भए पुग्थ्यो र उल्टै हामीलाई अनावश्यक खर्च गर्नु ठीक होइन भनेर बारबार सम्झाउँथ्यो। जब हामीले यति महँगो सामान किन्नुको कुनै विशेष कारण नै पो छ कि न भनेर सोध्यौँ, उनको जवाफले अवाक भयौँ। उनको जवाफ सामान्य थियो 'प्रभालाई यसले सुहाउँछ नि त!'

मलाई जेठा मगरको यो रूप असाध्य मन पर्‍याे। यो मान्छे जो दुई रुपैयाँ खर्च गर्न तीन पटक सोच्छ, आफ्नो पियारीलाई सुहाउँछ भनेर लागेकै भरमा डेड लाखमाथिको ब्याग 'सरप्राइज्ड गिफ्ट' खरिद गर्छ। मैले भगवानसँग प्रार्थना गरेँ कि यो ब्यागले उनकी श्रीमतीलाई उनले कल्पना गरेको भन्दा अझै धेरैधेरै सुहाइदियोस् र जेठा मगरको हृदयभरिको जो आत्मसन्तुष्टि छ अलिकति पनि कम नहोस्। जस्ताको तस्तै बरकरार रहोस्।

कोठा नम्बर ४-  पोखराका तिमल्सिना

'मेरी आमा हजुरआमा जस्तो वृद्ध हुनुहुन्छ। बूढी भैसक्नुभो। आफ्ना थुप्रै सन्तान खेर गएपछि म कान्छो छोरो बुढेसकालमा जन्मिएको हुँ। म जन्मिएपछि केही कमाउँछु भनेर इन्डियातिर गएको बुबा फर्केर कहिल्यै आउनुभएन' कोठा नं चारमा बस्ने पोखरेली तिमल्सिना भन्ने गर्थे। आमालाई बूढी माऊ भनेर बोलाउने छोरो मैले जिन्दगीमा पहिलो पटक देखेँ। खै कुन फिल्ममा हो कुन्नि नायक दिलिप रायमाझीले आमालाई त्यसरी बूढिमाऊ भनेको देखेको हुँ तर साँच्चैमा भने उनै तिमल्सिना मात्रै देखेको हुँ।

'हाँस त हाँस। आज के तरकारी खायौ त बूढीमाऊ! धेरै रक्सी नखाऊ है !' उनको आमासँग भिडियो कलमा हुने कुराको सारांश यति हुन्थ्यो। समय मिल्नासाथ भिडियो कल गर्‍याे अनि फेरि उही कुरा सोध्यो -के तरकारी खायौ त बूढिमाऊ?

कमै पढालेखा तिमल्सिनाले एक दिन मलाई बडो नादान प्रश्न सोधे 'सुरेश भाइ ! डाक्टरले आमालाई प्रेसरको दबाई लेखिदिएको छ । बिहान बिहान बाचुन्जेल खानु पर्छ रे। के डाक्टरलाई थाहा नदिई दिनमा दुईचोटि खाँदा हुन्न होला? आमा छिट्टै जाती हुनुहुन्थ्यो कि भनेर नि' मैले उनले ठट्टा पो गरेका हुन कि भनेर उनको भोला चेहेरामा हेरेँ। आमाको सुर्ता गरिरहेको एउटा अबोध प्रेमी छोरा मात्रै पाएँ।

साँच्चै भन्ने हो भने म अत्यन्तै भावुक भएको थिएँ। उनलाई उभिएको उभियै अंकमाल गर्न चाहन्थेँ तर आफूलाई रोकेँ। उनलाई त्यसरी नहुने बरु आमालाई सकिन्छ भने रक्सी छोडाउन कोसिस गर्न भनेर सुझाव दिएँ। आवश्यक परे स्थिति हेरेर डाक्टरले आफै औषधि रोकिदिनेछन् भनेर पनि सम्झाएँ। उनले मलिन चेहेरामा यति मात्रै भने 'त्यै त। बूढीमाऊलाई रक्सी नखाऊ न भन्छु। लल भन्छिन् फेरि खाइहाल्छिन्' गायक प्रमोद खरेलले गाएको गीत जस्तै उनी कोरियामा थिए तर उनको दिल पोखरामा थियो।

दिदीभिनाजुको घरमा छोडिराखेर आएको बूढी आमालाई बा केही भइहाल्ला कि भन्ने चिन्तामा उनी हर्दम रहन्थे। त्यसैले मौका मिल्यो कि भिडियो कल गरिहाल्थे र उही कुरा दोहोर्‍याउँथे,  'हाँस त हाँस बूढिमाऊ। तिम्रो दाँत हेरौं 'त्यसरी ती चारै कोठाका चारै प्रेमीको क्रियाकलाप र व्यवहारहरू सूक्ष्म रूपले अवलोकन गरेर मैले सबै पाटाह केलाई हेर्ने प्रयास गरेँ। गणितमा सरल गर्दा साझा भेरियबलहरू एक्स वाई कोष्ठक बाहिर तानेझैं उनीहरूका साझा प्रवृत्तिहरू बाहिर अलग्गै तान्ने प्रयास गरेँ। तब मैले पाएँ,

- थोरैभन्दा थोरै समय मिल्नासाथ उनीहरूलाई नहेरी, उनीहरूसँग नबोली शान्ति नमिल्नु

- उनीहरूको प्रशंसा र तारिफ सुन्दा खुसी हुनु

- उनीहरूको बचाउ गर्न हर्दम तयार हुनु

- उनीहरूको स्वास्थ्यको ख्याल राख्नु

-उनीहरूको भावनाको कदर गर्नु 

- आफ्नो खुसी उनीहरूमै रहनु

- उनीहरूको खुसी किन्नको निमित्त धन सम्पत्ति वा पैसाको कुनै परबाह नहुनु 

- उनीहरूको गुणदोष सबै स्वीकारेर संरक्षण गर्नु 

- आफ्नो जिन्दगीमा उनीहरूको अत्यन्तै ठूलो भूमिका हुनु

तब मैले निष्कर्ष निकालेँ। अहो! यो नै प्रेम हो। यो सबै एकै हो। यसको मुहान एकै हो। यौनसँग यसको दूरदूरतक कुनै साइनो छैन। यो अनेक रूप जस्तो देखिए पनि सारमा एकै हो। के प्रेमी प्रेमीका? के श्रीमान श्रीमती? के पिता पुत्र? के आमा छोरा? सम्बन्धको नाम जेसुकै भए पनि यो प्रेम एउटै हो। मेरो टाउको हलुका हुँदै गइरहेको थियो। म मोटामोटी एउटा नतिजामा पुगेको ठानिरहेको थिएँ यसर्थ स्वतन्त्र महसुस गरिरहेको थिएँ।

उपसंहार

आज दिउँसो फेसबुकभरि प्रेमविरुद्धका समाचारहरू देखेँ। जस्तो कि छोराले बाउलाई वृद्धा आश्रमको गेटमा छोडेर भागे। मैले पुत्र प्रेमी झापाली दाजुलाई सम्झिएँ। नेपालभरि पारपाचुके गर्नेहरूको मुद्दा संख्या ७० हजार नाघ्यो। मैले नवविवाहित जेठा मगरलाई सम्झेँ। प्रेमीले विदेशबाट पठाएको सबै पैसा लिएर प्रेमीका अर्कैसँग फरार। मैले प्रेमी सोनम आसेङलाई सम्झेँ। घरको छतबाट खसेर एक वृध्दाको मृत्यु। मैले मातृभक्त पोखरेली तिमल्सिनालाई सम्झिएँ। त्यसैले आज दिनभर मन खिन्न भइरह्यो।

बेलुकीको खाना पकाउने पालो मेरो थियो। दिउँसो भारी भएको मन साँझ पर्दासम्म बदलिएर चङ्गा भैसकेको थियो किनकि म सोच्न थालिसकेको थिएँ, 'के थाहा? न झापाली दाजुको छोरा इतिहासकै असल सुपुत्र पो भएर निस्कन्छ कि? के थाहा जेठा मगर र उसकी दुलही सय वर्षसम्म साथ हुन्छन् कि? के थाहा सोनम आसेङले सात जन्मसम्मको प्रियतमा पो भेटेका छन् कि? के थाहा तिमल्सिनाकी माताश्री एक सय दस वर्ष स्वस्थ भएर जिउँछिन् कि? 

जिन्दगी भनेको त आज पो हो। भोलि त के थाहा? आज जोजो प्रेममा छन् खुसी छन्। आज प्रेमको उत्सव हो। यो प्रेमले भोलि रुवाउला कि हँसाउला भनेर किन अहिले नै चिन्ता लिने? त्यसैले आज प्रेम गरौँ, रुने हाँस्ने भोलि गरौँला। यदि प्रेमको कुनै समय हुन्छ भने त्यो अहिल्यै हो, आजै हो। तुरुन्तै हो। भोलिको कुनै ठेगाना हुँदैन।

प्रेमको उत्सव सम्झेर मैले आज अतिरिक्त मेहनतका साथ मासु पकाएँ। दुई थरी त अचारै पनि बनाएँ। दाल बनाएँ। काँक्रो र गाजर काटेँ।  रेफ्रिजेरेटरबाट चिसा क्यान बियरहरू निकालेर टेबलमा सजाएँ  र सबैलाई खाना खान डाकेँ।

खानाको तयारी देखेर झापाली दाजुले सोध्नुभो, 'के हो सुरेश भाइ,आज केही विशेष दिन हो र? तयारी त गजब छ त हाउ!'

मैले मुस्कुराएर भनेँ, 'दाजु आज प्रेम गर्ने दिन हो।' 

तीनै जनाले जिल्ल परेर एकैसाथ मलाई हेरे, मानौँ सोचिरहेछन्, 'यो भाइको खुस्कियो कि क्या हो?' 

प्रकाशित: १८ श्रावण २०८१ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App