७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

फोन नं. १०० !

लघुकथा

अस्पतालमा भर्ना चौध वर्षीया किशोरी। साथमा बसेकी महिलाका आँखामा आँसु थिए। आगन्तुकले सोध्यो, “तपाईंकी छोरी?”

“हँ, हो..इन।”

“अनि, रोइरहनुभएको छ त?”

महिला झसङ्ग भई, “हाम्रै घरमा बस्ने, छोरीजस्तै हो।”

“के भएको नि?”

“ज्वरो आएको।”

“कति छ नि?”  

“अलि बढी नै।”

“विचरी। धन्य हो तपाईंहरूको महानता। आजकल आफ्नै छोराछोरीलाई त मान्छेले यति गर्न छोडिसके, अझ घरका नोकरलाई। हुन त टोलकै चर्चित समाजसेवी र नेता पनि पर्नुभयो हजुरका श्रीमान्!”

केटीका आँखाबाट तरतरी आँसु झरेको देखेर आगन्तुक पछुतायो, “माफ गर नानी, मैले गलत शब्द प्रयोग गरेंछु, सरी!”

ऊ एक डाक्टर थियो। औषधि हेर्न मन लागिहाल्यो। यसो औषधिको टोकरी उठाएर हेर्न थाल्यो। महिला रातीपिरी भइन्। टोकरीमा ज्वरो कम गर्ने सिटामल, निमेसुलाइड या एम्पिसिलिन, एमोक्सिसिलिन र सिप्रोफ्लोक्सासिन जस्ता एन्टिबायोटिक पनि थिएनन्। बरु थिए त मिफेप्रिस्टोन र मिसोप्रोस्टोलका एकएकओटा पाता।

आगन्तुकले दोहोराईदोहोराई पालैपालो औषधि, महिला र बेडमा सुतेकी किशोरीलाई हेर्‍यो। किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!

अचानक कोठामा एकजना भलाद्मीको प्रवेश भयो। बालअधिकार तथा महिला अधिकारका हिमायती सङ्गठनका ठुलै नेता। आगन्तुकले चिन्थ्यो, नेताले चिन्ने कुरै भएन। केटीकाे छेउमा बसेर रुने महिला उसकै श्रीमती थिइन्। दुई वर्षपहिले श्रीमानकाे कुटाइबाट भाँचिएको यिनका हातको प्लास्टर यिनै डाक्टरले गरेका थिए।

आगन्तुक निस्केर ढोकामा पुग्नै लाग्दा भलाद्मीले श्रीमतीलाई भन्यो, “यहाँ जोपाइलाई आउन किन दिएको? अझ औषधिको टोकरीतिर के गर्दै थियो? यो औषधि पनि लुकाएर राख्न पर्दैन? अनि सुन, मलाई आज महिला हिंसाविरुद्धको कार्यक्रममा प्रमुख अतिथि बोलाएका छन्। ख्याल गर्नु कतै यो केटी भागेर बर्बादै होला फेरि!”

ढोकामा उभिएर सुनेका आगन्तुकले किशोरीको अवस्था र किशोरीले एकछिनअघि महिलाका आँखा छलेर हात जोडेको सम्झ्यो। उसले फोन थिच्यो, “१००!”  

प्रकाशित: १८ श्रावण २०८१ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App