२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

हात्तीको खाने र देखाउने दाँत

पाँच लघुकथा

१) हात्तीको खाने र देखाउने दाँत

यो विषयमा सदनमा पनि कुरा उठिसकेको थियो भने सडकमा समेत यसको विरोधमा प्रदर्शन भैरहेको थियो। तर नेताहरूको बोलीको कुनै ठेगान थिएन। ठूला भनिने अधिकांश पाटीर्का नेताहरू सदनमा एउटा कुरा, पार्टीमा एउटा कुरा र सडकमा एउटा कुरा गरेर जनतालाई दिग्भ्रमित बनाइरहेका थिए। वास्तविकता के हो भनेर पार्टीमा दिनरात खट्नेहरूलाई पनि थाहा थिएन।

देशमा विदेशी शक्तिको चलखेलबाट सशंकित आम जनता वास्तविकता जान्न उत्सुक र इच्छुक थिए। तर नेताहरूको दहीचिउरे प्रवृत्तिले गर्दा कतै यिनले देश नै भड्खालोमा हाल्ने त हैनन् भनेर जनता दिनरात चिन्तित थिए। किनकि नाम चलेका नेता जत्तिले यो विषय सदनबाट पास गर्न करोडौं रुपैया घुस खाएको कुराले सडक र सामाजिक सञ्जाल तातिएको थियो।

सदनमा गर्मागर्मी। सडकमा विरोध प्रदर्शन। अखबार र सामाजिक सञ्जाल यसकै समर्थन र विरोधले भरिएका छन्। तर यो देशमा आउनुहुन्छ कि हुन्न भन्नेमा अन्यौल र द्विविधाको स्थिति। समर्पणले आफ्नै नेता चतुरप्रसादको बोलीको मूल्याङ्कन गर्‍यो-

सदनमा- यो सहयोग हो लिनुपर्छ

सडकमा-आम जनताको मनोभाव बुझेर मात्र काम गर्नेछौं। जनभावना विपरीत जाने छैनौं।

पार्टीमा- कुनै पनि हालतमा यो पास हुनु हुँदैन। देशलाई विदेशीको क्रीडास्थल बन्न दिइने छैन।

समर्पणले नेता चतुरप्रसादले जुलुसमा जानुअघि जुलुस निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा दोहोर्‍याएर सोध्दा निकाल्ने र यो विषयमा सशक्त ढङ्गले विरोध गर्ने भनेपछि ऊ जुलुसको नेतृत्व गर्दै सडकमा पुग्यो। प्रहरीको कुटाइ खाँदै, पानीको फोहोरा सहँदै र अश्रुग्याँसको पीरो सहँदै नारा लगाउन थाल्याे, ‘यो शिशी नामको सहयोग हामीलाई चाहिंदैन, देश बेच्न पाइँदैन।’

यता चतुरप्रसाद लगायत देशभक्त हुँ भन्न नेताहरू र पार्टीहरू मौन बसिदिंदा ‘शिशी’ दुई तिहाई बहुमतले पास भैसकेको थियो

२) कर्तुत

रमाकृष्ण सिंह समाजकल्याण मन्त्री भएपछि देशका करीवकरीव हरेक मानिस खुशी भए। किनकि आर्थिक हैसियत राम्रो भएको र छोराछोरी, नातिनातिना कोही नभएकाले यिनले चैँ साँच्चै समाजको कल्याण गर्नेछन्, भ्रष्टाचार गर्ने छैनन्, देशलाई डुबाउने छैनन् भन्नेमा धेरैको विश्वास थियो।

मन्त्री भएको एक डेढ महिना त यिनी भाषण गर्न र फूलमाला लगाई माग्न नै देश दौडाहामा निस्किए। उनीसँगै उनको चम्चा र प्लेटहरूको लावालस्कर पनि हुने नै भयो। त्यसपछि आफ्नो मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा आफ्ना हुक्के, बैठके र झोलेहरूलाई जागीर लगाइदिन यिनी एक डेढ महिना राम्रौ व्यस्त भए।

त्यसपछि प्रशासक, महाप्रवन्धक, निर्देशक जस्ता पदहरुमा नियुक्तिका लागि यिनले मोटोमोटो रकम लिएको हल्ला बजारमा आउन थाल्यो। ती कुराको यिनले बोलीले विरोध गरे र यिनका नन्दीभृङगीहरूले पाखुराले गरे। आफ्ना आलोचक र विरोधीहरूमाथि यिनले गालीको वर्षा नै गरिरहे। गाली र उखानटुक्का यिनलाई कति आउने रहेछ भनेर लोकले राम्रैसँग थाहा पाए।

समाज कल्याण मन्त्री भएपछि समाजको कति कल्याण गर्नुपर्छ भन्नेमा यिनलाई पटक्कै चिन्ता थिएन। यिनी आफ्नो जिल्लामा अन्टसन्ट दशौं शीर्षकमा बजेट पार्न सफल भएका थिए। धान खेत मासेर यिनले भ्यूटावर बनाए। सुकुम्बासी बस्तीलाई डोजर लगाएर भत्काएपछि त्यहाँ खेल मैदान र मनोरञ्जनस्थल बनाउने घोषणा गरे। त्यत्तिमा मात्र यिनी रोकिएनन् बरु आफ्नो पदको दुरुपयोग गर्दै आफ्नो स्वर्गीय बाबुको नाममा स्थापना गरिएको प्रतिष्ठानलाई दश करोड विनियोजन गराउन पनि सफल भए। हिजो जनताले आशा गरेको मन्त्रीको यस्तो कार्यहरू बाहिरिएपछि जतातै उनको चर्को आलोचना हुन थाल्यो। उनको विरोधमा सदन तातियो। सडकमा जुलुस निस्कियो। पत्रकार सम्मेलन गरेरै उनले यसको जोरदार खण्ड्न गर्‍यो।

त्यसको भोलिपल्टै नेपालको नम्बर एक राष्ट्रिय दैनिक ‘लोकदृष्टि’मा समाचार आयो-समाजकल्याणमन्त्री रमाकृष्ण सिंहले पदबाट राजिनामा दिएर जाँदा जाँदै आफ्नै नामको प्रतिष्ठानलाई सुन्सरी जिल्लामा बीस विघा जग्गा उपलब्ध गराएको प्रमाण लोकदृष्टिसँग सुरक्षित छ।

३) असहमति

साहित्यमा थोरै मात्र भए पनि रुचि राख्ने नेपालीलाई समीरजंग समर को हुन भनेर चिनाइरहनु पर्दैन। कवितामार्फत देशभक्ति, परिवर्तन र प्रगतिको गीत गाउने उनी प्रखर प्रगतिवादी कविको रूपमा परिचित र स्थापित छन्।

समीरजंग समर अत्यन्त साधारण लवाइखवाइ र व्यवहारका भएकैले आफूलाई वामपन्थी पार्टीको निकट प्रगतिशील संस्थाहरू भनाउनेहरूले उनलाई आआफ्नो पार्टीमा तान्न नखोजेका हैनन् तर लेखनधर्म छाडेर उनी पार्टीको झण्डा बोक्न गएनन्।

मार्क्सवादी सौन्दर्य चिन्तकका रूपमा समेत परिचित समीरजंग समरको स्थायी जागीर थिएन। काठमाडौं मा आफ्नो घर पनि थिएन। उनकी अर्धांगिनीको जागीरको भरमा समीरजंग समरको घर चलेको थियो। लेखनबाट आएको दुईचार पैसा उनी अर्धांगिनीको हातमा राखिदिन्थे तर ती पैसा इज्जतसाथ उनकै खल्तीमा आउँथ्यो।

समीरजंग समरलाई आआफ्नो पार्टीमा तान्न बामपन्थी पार्टीहरू लागिपरेका थिए। त्यसमा पनि जनहीत पार्टीका अध्यक्ष घामडसिंहले घरैमा आएर विभिन्न प्रस्तावसहित पार्टीको ठुलै पद प्रस्ताव गरेका थिए तर समीरजंग समरले मानेनन्।

 अचानक समीरजंग समरलाई सरकारले साहित्य प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त गरेको समाचार आयो। घामडसिंहले समीरजंग समरलाई फोन गरेर आफ्नै पार्टीको सिफारिसमा उनी नियुक्त भएको जानकारी गराए र बधाई पनि दिए तर समीरजंग समर केही बोलेनन्। समरजंग समीरलाई बधाईको ओइरो लाग्यो। समरजंग समीरजंग समर केही बोलेनन्। सबैको बुझाइ थियो, अब समीरजंगले नियुक्तिपत्र पनि बुझ्नेछन् र पार्टी पनि प्रवेश गर्नेछन्। तर समीरजंग समरको मनको कुरा कसैलाई थाहा थिएन।

भोलिपल्ट राष्ट्रिय दैनिकहरूको व्यानर न्यूज थियो-आफ्नो सहमति बिना नियुक्त गरिएकाले समरजंग समीरले साहित्य प्रतिष्ठानको नियुक्ति नलिने।

४) कलमको आवाज

छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरु भएको थियो। त्यसैगरी खाद्यान्न र सागसब्जीको भाउ बढेर छोइनसक्नु भएको थियो। मिचाहा छिमेकीलाई दोष दिंदै भाउ बढाउनमा स्थानीय व्यापारीको पनि पूरापूर हात थियो। तैपनि नेपाली जनताले धैर्यपूर्वक कष्टका दिनहरूलाई कटाइरहेको थिए। ‘हैनहैन भन्दै दक्षिणका सम्पूर्ण नाका बन्द गरेर उसले अन्तर्राष्ट्रिय नियमको खुल्लमखुल्ला खिल्ली उडाएको थियो।

देशलाई सङ्कट पर्दा कवि लेखकहरू पनि चुप लागेर बस्दैनन् भन्ने मान्यतालाई आत्मसात गर्दै संस्थाका अध्यक्ष सागरमणि समर्पणको नेतृत्वमा प्रगतिशील लेखकहरूको साझा संस्था ‘सम्पूर्ण लेखक सङघ’ ले पनि विरोध र्‍यालीको आयोजना गरेको थियो।

र्‍याली भोटाहिटीबाट अगाडि बढ्नै लाग्दा प्रहरीको जत्थालाई जुलुसलाई रोकेर बलपूर्वक तितरबितर बनाउने प्रयास गर्न थाल्यो।

‘डिएसपी साब, छिमेकीको अत्यन्त क्रूर अनि निन्दनीय नाकावन्दीको विरोधमा हामी सडकमा आएका हौं, तोडफोड गर्न हैन बरु संसारले पनि देखोस् सधैं असल छिमेकीको नाटक गर्नेले आफ्नो छिमेकीमाथि कुन हदसम्मको अत्याचार गर्न सक्दो रहेछ।’सागरमणि समर्पणले भन्यो।

‘हामीलाई माथिको आदेश छ, जुलुस अगाडि नबडाउनुस्। बलप्रयोग गर्न हामीलाई बाध्य नपार्नुस्।’

‘हामीमाथि बलप्रयोग गर्दा नाकाबन्दी खुल्छभने गर्नु‘स् हामीमाथि बल प्रयो । के यो नाकावन्दीले तपाईलाई मर्का परेको छैन? महँगी र अभावले तपाईका सन्तानले दुःख खेप्नुपरेको छैन?’

डिएसपीले सागरमणि समर्पणको कुरा नसुनेझैं र जुलुसलाई नदेखेझैं गरेपछि लेखक, कवि, साहित्यकारहरूको जुलुसले नाकाबन्दीविरुद्ध गगनभेदी नारा लगाउँदै भोटाहिटीबाट रत्नपार्क हुँदै पुतलीसडकतिर लाग्यो।

५) नोकरी

अप्रत्यासित रुपमा ह्दयघातबाट बुबाको निधन भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी प्रगतिको काँधमा आइलागेको थियो। आमाले पनि सकेको बनीबुतो नगर्ने हैन तर सञ्चोभन्दा बढीजसो समय बिसञ्चो हुने आमाबाट सधैं बनीबुतो हुन सक्दैनथ्यो। त्यसैले जेजस्तो काम पाए पनि घरको गाडी अगाडि बढ्थ्यो भनेर प्रगतिले नधाएको ठाउँ छैन, सम्भावित मानिसहरुलाई नभनेको पनि कोही छैनन्।

कतिपय सहकारी संस्था, होलसेल पसलमा प्रगति पुगिन् तर सबैको एउटा जवाफ अहिले खाली छैन,  खाली भएछभने बोलाउँला। तर बायोडाटा छाडेको कुनै पनि ठाउँबाट आजसम्म प्रगतिलाई बोलावट आएको छैन। लोकसेवा नपनि नभिडेको हैन, तर नाम निस्कन सकेन।

बल्लबल्ल एउटा बोर्डिङ स्कुलमा पढाउने काम पाइन्। प्रगतिको खुशीको कुनै सीमा थिएन। प्रगतिले काम पाएपछि आमा र सानो भाइ प्रणव पनि प्रगतिसँगै खुसी भए। मन लगाएर नानीहरुलाई पढाउँदा पढाउँदै एक महिना बित्यो, डेढ महिना बित्यो, दुई महिना बित्यो। बल्ल, एक महिनाको तलब प्रगतिको हातमा पर्‍यो। हातमा परेको तलब देखेर उनी छक्क परिन्।

पन्ध्र हजार मासिकको कुराकानी भएको थियो तर कोरोनाको कहर बताउँदै प्रगतिको हातमा पाँच हजारमात्र हात लाग्यो। प्रगतिले किन यस्तो भनेर प्रश्न गर्दा प्रिन्सिपल थगप्रसाद बोहरा जंगिए, ‘प्रगति मिस, कोरोनाको बेलामा यो पनि धेरै हो लिनुस्। धेरै किचकिच गर्नुहुन्छ भने भोलिदेखि स्कुल नआए हुन्छ।’

प्रगति चुपचाप विद्यालयबाट निस्किन् र घर पुगेर पाँच हजार आमाको हातमा राखिदिइन्। प्रगतिको मन छटपटिरह्यो। यस्तो विद्यालयमा पढाएर घर कसरी धानिन्छ? भट्ट उनले हरिकला लामिछाने दिदीलाई सम्झिइन्। पार्टीमा उनीसँग राम्रै चिनजान भएकै हो। उनले बैनीलाई जस्तै स्नेही व्यवहार पनि त गर्छिन् भनेर प्रगतिले हरिकला लामिछानेलाई भेट्ने निर्णय गरिन्।

दशौँ पटकको भेटपछि प्रगतिले आफ्नाे  पीडा र आवश्यकता हरिकला लामिछानेसामु पोखिन्। प्रगतिको कुरा सुनिसक्दा नसक्दै हरिकला लामिछाने लट्टेसरी पड्किइन्, ‘म मन्त्री भएँ भन्दैमा सबैलाई जागीर लाइदिने मैले ठेक्का लिएकी छु र? पढ्नुपर्‍यो लोकसेवा पास गर्नुपर्‍यो हैन भने आफ्नै व्यापार व्यवसाय गर्नुपर्‍यो। चार दिन पार्टीको झण्डा बोकेको भरमा म सबैलाई जागीर लाइदिन सक्दिनँ। तपाई जान सक्नुहुन्छ।

( एक मुठी घाममा सङ्गृहीत)

प्रकाशित: १० श्रावण २०८१ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App