देशकै प्रमुख १० भन्सार नाकामध्ये पर्ने कृष्णनगर भन्सारमा चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनाको अवधिमा १ अर्ब ४५ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। साउन, भदौ र असोज महिनामा गरी उक्त राजस्व सङ्कलन भएको हो।
तीन महिनाका लागि १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली भएको भन्सारले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ को सोही तीन महिनाको अवधिमा १ अर्ब २३ करोड ७८ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। उक्त रकम निर्धारित लक्ष्यको ८३.७७ प्रतिशत थियो।
चालु आर्थिक वर्षका लागि निर्धारित वार्षिक लक्ष्य ६ अर्ब २६ करोड २८ लाख ८७ हजार रुपैयाँ रहेको छ। तीन महिनाको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २३.४७ प्रतिशत हो।
तीन महिनामध्ये असोजमा लक्ष्यभन्दा ९.३७ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ। असोज महिनाका लागि ५६ करोड ६३ लाख ६६ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ६१ करोड ६४ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। साउनमा ४३ करोड ८४ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ३७ करोड ३९ लाख ८७ हजार रुपैयाँ सङ्कलन भएको थियो। त्यसैगरी, भदौमा ५० करोड १० लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ४७ करोड ८९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
भन्सारका सूचना अधिकारी मयंक कुमार कर्णले तीन महिनाको अवधिमा भन्सारमा लक्ष्यको करिब राजस्व सङ्कलन भएको जानकारी दिनुभयो।
कृष्णनगर नाकाबाट मुख्यगरी फलाम, सिसाका बोतल, अन्य कोइला, माल्ट, तयारी कपडा, आल्मुनियमका सामग्री, धातुका खानी तथा स्ल्याग, धातुका अन्य सामग्री, तयारी सुर्ती तथा एलपीजी ग्यासलगायत वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको छ। त्यस्तै, फलफूल तथा तरकारीलगायत वस्तु पनि आयात हुने गरेका छन्। यसैगरी सिमेन्ट, प्लाइउड, क्लिङ्कर, जडीबुटी तथा हस्तकलाका सामग्री भारततर्फ निर्यात हुने गरेका छन्।
भन्सार प्रमुख किशोर बर्तौलाले भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। सुरक्षा निकायको नाकामा कडाइले समेत भन्सार असुलीमा सकारात्मक प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।
तीन महिनामा ५७ करोड ५६ लाख २० हजार रुपैयाँ मूल्यका सामान निर्यात
कृष्णनगर भन्सारबाट तीन महिनाको अवधिमा ५७ करोड ५६ लाख २० हजार रुपैयाँ मूल्यका विभिन्न सामान निर्यात भएका छन्। उक्त अवधिमा प्रमुख १० वस्तुको निर्यात भएको भन्सारले जनाएको छ।
तीन महिनामा ३५ करोड ४४ लाख ८८ हजार रुपैयाँ मूल्यका ४ लाख ९३ हजार ९२४ केजी प्लाइउड, ११ करोड ३१ लाख ५१ हजार रुपैयाँ मूल्यका १६ हजार ४०३ टन खैरो सिमेन्ट निर्यात भएका छन्।
त्यसैगरी, ५ करोड २४ लाख रुपैयाँ मूल्यका २ लाख ३२ हजार २०० केजी खोटो रेजिन, २ करोड ७७ लाख २७ हजार रुपैयाँ मूल्यका ३ लाख ३२ हजार ५५० केजी छड तथा डन्डी (अर्धतयारी), १ करोड ७० लाख ६४ हजार रुपैयाँ मूल्यका २ हजार ९६३ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ।
यसैगरी, ९२ लाख १२ हजार रुपैयाँ मूल्यका २९ हजार ४८० लिटर तारपिनको तेल, १४ लाख ३५ हजार रुपैयाँ मूल्यका २ हजार ९६२ केजी वनस्पतिबाट बुनिएका पदार्थ तथा १३ लाख ९० हजार रुपैयाँ मूल्यका इसेन्सियल आयलसमेत निर्यात भएका छन्।
प्रकाशित: १७ कार्तिक २०८३ १५:२३ मंगलबार




-600x400.jpg)
-600x400.jpg)