२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

अक्षरको ज्योति जगाइदिनेप्रति

संस्मरण

बाहिरी आँखाले हामी संसार हेर्दछौं। मक्ख पर्छौं, छक्क पर्छौं, खुसी हुन्छौं, दुःखी हुन्छौं। बाहिरी आँखाले हेर्ने संसार जति सानो छ भित्री आँखाले देख्ने संसार यति विशाल छ कि जसको सीमा नै छैन। त्यो आँखा हो अक्षरको आँखा, ज्ञानको आँखा। अक्षरको यही ज्योतिर्मय आँखाले हामी जीवन बुझ्छौं, जगत बुझ्छौं। अक्षरको आँखा नै जीवनको सौन्दर्य हो। अक्षरको अभ्यास र उपासनाबाट नै यति छोटो जीवन अनन्त कालसम्म महकिन्छ।

जीवनको पाठशालामा गुरुहरू त धेरै हुन्छन्। तर, सुरुमा कलिला बाल हात समातेर अक्षर सिकाउने गुरु हामीले कहिल्यै बिर्सन सक्तैनौं। त्यसपछि आउलान् अरू विविध क्षेत्रका गुरुहरू।

गुरु रामप्रसाद मेरा पहिला गुरु हुन्। जसले मेरा हात समातेर क–ख चिनाए। काठको पाटीमा माटो छिन्केर बाँसको छेस्काले लेख्न सिकाए।

सुरुमा म माथ्लो स्कूल (हालको शीतला मावि) जान थालेको थिएँ। जहाँ लोकप्रिय गुरु रामप्रसादका हातले मेरो कलिलो हात स्पर्श गरेका थिए। त्यसपछि मेरो घर नजिकै तल्लो स्कूल (कालिका प्रावि) सञ्चालन हुन थाल्यो र आमाले मलाई त्यहीं भर्ना गरिदिनुभयो।

खाल्लेका हर्कनारायण श्रेष्ठ त्यो स्कूलका संस्थापक शिक्षक थिए। उनको व्यक्तित्वको गहिरो प्रभाव मेरो मनमा यद्यपि छ। उनले मेरै घरमा विद्यार्थी भर्ना खाता बोकेर आई औपचारिक रूपमा मेरो नाम लेखाइदिएका थिए। अग्लो कदका, गोरो अनुहारका, ठूलो निधार भएका, सर्ट र पयन्ट लगाउने हर्क नारायण सर पढाउन सिपालु थिए। छोटो समयमा नै असल शिक्षकको रूपमा परिचित भए।

त्यो बेलामा म पढ्न त्यति रुचि राख्दैनथें। मेरा साथीहरू पनि त्यस्तै थिए– हिमाल, पर्वत र लक्ष्मण। हामी पढ्न छोडेर तल खाम्खुवा जेठी रैनीकोमा रिठ्ठा टिप्न जान्थ्यौं। त्यहाँ  रिठ्ठाको ठूलो रूख थियो। हामी गोजीभरि, झोलाभरि रिठ्ठा टिपेर ल्याउँथ्यौं र साथीहरूसँग राति अबेरसम्म खोप्पी खेल्थ्यौं।

त्यसैगरी हामी स्कूल छोडेर दिउँसो मान्छे नभएको मौका पारी घरघर गएर उपद्रो गर्थ्याैं। काँक्रो चोर्थ्याैं, अम्बक निबुवा टिप्थ्यौं। लौका र फर्सी टिपेर फुटाइदिन्थ्यौं। एकचोटि टिपिनपछि बिजुले बढाउको अम्बक चोर्दा उनी स्कूलमा आएर सरलाई गाली गर्न थालेपछि हर्क सरले हामीलाई भाटै भाटाले हान्नुभो। मेरा मुडुला टाउकामा टुटुल्का उठे। त्यसपछि भने म चोर्नै कायल भएँ। मेरो चेत खुल्यो। नपढ्ने र उपद्रयाहा साथीहरूको सङ्गतबाट टाढिन खोजें। त्यसपछि हिमाल र पर्वत माथ्लो स्कूलमा गए मैले तीन कक्षासम्म त्यहीं पढें। त्यसपछिका दिनहरूमा म स्कूलमा मिहिनेती विद्यार्थीको रूपमा दरिएँ। अरू अतिरिक्त क्रियाकलापहरूमा पनि भाग लिन थालें।

अहिले म जहाँ जे छु त्यसमा सर्वप्रथम मेरो औपचारिक अध्ययनका प्रथम गुरु हर्कनारायण सरलाई नै श्रेय दिन्छु। यदि अम्बक चोरेको निहुँमा उहाँबाट मेरो शरीरले भाटाको वर्षा नभेटेको भए म त्यो अवस्थामा आउने थिइनँ। खराब सङ्गतमा लागेर बाटो बिराइसक्ने थिएँ।

ऊ बेला तीन कक्षासम्मलाई प्रावि मानिन्थ्यो। म तीन कक्षासम्म तल्लो स्कूलमा पढ्दा चार जना गुरुले मलाई पढाउनुभयो। हर्कनारायण सरले त्यस्तै दुई वर्षजति पढाएर स्कूल छोड्नुभो। पछि बुझ्दा उहाँले अन्तै जागिर पास गरेर जानुभएछ। त्यसपछि बसेरीका शारदा ढकाल आउनुभो। उहाँ पनि साह्रै असल हुनुहुन्थ्यो। सिर्जनशील हुनुहुन्थ्यो। पढाउने शैली राम्रो थियो। पाठ कण्ठ पार्दा पुरस्कारस्वरूप एउटा टाँक मसी दिनुहुन्थ्यो। हरेक शुक्रवार नाचगान गर्न सिकाउनुहुन्थ्यो। विभिन्न खेल खेल्न लगाउनुहुन्थ्यो। पछि दुईवटा दरबन्दी थपिएपछि खाल्लेकै भरत श्रेष्ठ आउनुभयाे। उहाँसँग पनि मैले केही समय पढें। उहाँले धेरै वर्षसम्म त्यो स्कूलमा पढाउनुभयो। त्यही स्कूल हो जहाँ मेरा पढाइका सन्दर्भमा बाल्यकालीन दिनहरू बिते। मेरो शिक्षाको जग उभियो। अरूलाई अक्षरको ज्योति उघारिदिने हर्क सर आज कहाँ हुनुहुन्छ? शारदा सरसँग झण्डै तीस वर्षपछि भेट भयो। उहाँ गाउँमै निवृत्त जीवन बिताइरहनुभएको रहेछ। भरत सर गाईघाट झर्नुभएछ।

तल्लो स्कूलछेउबाट ठूलो कुलो मीठो सङ्गीत भर्दै आज पनि बगिरहेको छ। स्कूलमाथिका वरपीपलका रूख आज पनि ज्यूँ का त्यूँ छन्। उहाँहरू जहाँ हुनुहुन्छ उहाँहरूको निवृत्त जीवन त्यही कुलाको पानीजस्तै सङ्लो बनोस्। तिनै वरपीपलजस्तै छहारीमय र शीतल बनोस्।

तीन कक्षासम्मको तल्लो स्कूलको पढाइ सकेपछि म कक्षा चारदेखि माथ्लो स्कूलमा भर्ना भएँ। कक्षा चारदेखि सातसम्म पढ्दा त्यहाँ धेरै शिक्षक आए गए। तीमध्ये त्यहाँका संस्थापक गुरु रामप्रसाद न्यौपानेलाई कसैले भुल्न सक्तैन। त्यसपछि दिक्तेलका नरनाथ दाहाल, डिल्लीप्रसाद आचार्य र सेराकी मुगा दिदीको छाप मेरो हृदयमा छ।

नरनाथ अङ्ग्रेजी पढाउनुहुन्थ्यो। माने घोकाउनुहुन्थ्यो। कण्ठ पार्नेले नपार्नेलाई कानमा समातेर गाला रातो हुने गरी पढ्काउनुपर्थ्याे। नभए आर्फैले झापट खाइन्थ्यो।

तल बितलपको मानबहादुर विश्वकर्मालाई ‘माने’ कण्ठ गर्न कसैले भेट्दैनथ्यो। हाम्रो कक्षामा उनको चड्कन नभेटेका सायदै थिए। एकैचोटि हो क्यारे उसले भन्न नसक्दा मैले उफ्रेर उसको गाला पड्काएको छु।

डिल्ली आचार्य हिसाब पढाउनुहुन्थ्यो। हिसाबमा उहाँको विशेष दक्खल थियो। पढाइका अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई उहाँ सक्रिय गराउनुहुन्थ्यो।

 सेराकी मुगा दिदीले चाहिँ त्यहाँ थोरै समय मात्र पढाउनुभयो। उहाँ राम्री हुनुहुन्थ्यो। जीउडाल पनि राम्रो थियो। पढाउँदा म उहाँको अनुहार हेरिरहन्थें।

औपचारिक अध्ययनको क्रममा शिशु कक्षादेखि एमएसम्म पढ्दा जीवनमा कति गुरुहरू आए गए। तर, सुरु तहको आधारभूत शिक्षा दिने गुरुहरूबाट नै भविष्यको जग बन्दो रहेछ। एउटा काँचो माटोलाई कुमालेले आकार दिए जस्तै ती कलिला बालमन र मष्तिष्कहरूलाई एउटा शिक्षकले जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सक्तो रहेछ। त्यो बेला सिकाएका राम्रा र नराम्रा कुराहरूले जीवनभरि नै प्रभाव पार्दा रहेछन्। शिक्षा र ज्ञान आर्जन गर्ने क्रममा सबै शिक्षकले उही र उस्तै भूमिका निर्वाह गर्दैनन्।

विद्यालय, विद्यार्थी र अभिभावकप्रति सबै उत्तरदायी हुँदैनन्। कोही झारो टार्ने मात्र हुन्छन्। कोही कर्तव्यवान् गुरुहरू विद्यालय र विद्यार्थीको भविष्यप्रति गम्भीर हुन्छन्। चिन्तनशील हुन्छन्। विद्यार्थीलाई सही बाटोमा हिँडाएर आफ्नो व्यक्तित्वको अमिट छाप छोड्छन्।

मेरो विद्यार्थी जीवनका प्रारम्भिक दिनहरूबाट आजसम्म पनि आफ्नो असल व्यक्तित्व, चरित्र र सकारात्मक सोचको गहिरो छाप छोड्ने आदरणीय व्यक्ति गुरु रामप्रसाद नै हो।

गुरुहरू त जीवनमा कति आए कति। कसैले नराम्रो त गरेनन् राम्रै गरे। तर पनि गुरु रामप्रसादको सादा जीवन उच्च विचार, विद्यार्थी र विद्यालयप्रतिको लगाव, सधैं खटिरहने बानी उदाहरणीय थियो। अहिलेको शीतला माध्यमिक विद्यालयको स्थापनामा उहाँको ठूलो योगदान छ।

भोजपुरको गोगनेबाट मामली गाउँमा आएर विभिन्न ठाउँहुँदि सार्दैसार्दै चित्रे कटेरोबाट उहाँले त्यो स्कूल सुरु गर्नुभएको हो। आफ्नो निस्वार्थ सेवाभावबाट उहाँले सम्पूर्ण विद्यार्थी र गाउँलेहरूको मन जित्दै जानुभयो।

सुरुका दिनहरूमा गाउँलेहरूले आफ्नोआफ्नो पालो बनाएर चामल, दाउरा, दाल, तरकारी उहाँलाई लेइदिने गर्थे। धेरै समय उहाँले त्यसबाट नै जीवन निर्वाह गर्नुभयो। पछि स्कूलमा दरबन्दी आएपछि उहाँ तलबी हुनुभयो।

उहाँ सानैदेखि नै केटाकेटीहरूलाई अक्षर राम्रा पार्न लगाउनुहुन्थ्यो। कठोर अनुशासनमा बस्न सिकाउनुहुन्थ्यो। अटेरी गर्ने, फट्याइँ गर्ने समयमा गृहकार्य र पाठ नबुझाउनेलाई उहाँको सजाय गर्ने तरीका छुट्टै थियो। त्यस्तालाई तान्दै स्कूलमास्तिर वरको फेदनिरको भीरबाट उँधोमुन्टो लाइदिनुहुन्थ्यो। गुरुको त्यो सजायबाट सबै कायल हुन्थे। त्यो भीरमा केटाकेटी खाने स्याल छ भनेर गुरु दुहाइ दिनुहुन्थ्यो।

त्यतिखेर डरले थुरथुर भए पनि केटाकेटी खाने स्याल लुकेको भीरबाट उँधोमुन्टो लाउँदाको क्षण अझै मीठो बनेर आउँछ। पढाइका सन्दर्भमा गुरुले बेलाबेलामा मीठामीठा प्रेरणादायी कथाहरू भन्नुहुन्थ्यो। विभिन्न शास्त्रका ज्ञानगुनका  थुप्रै कुरा गर्दै असल र चरित्रवान् भएर कसरी ठूलो हुने भन्ने कुरा सिकाउनुहुन्थ्यो। पढाइका अतिरिक्त बेलाबेलामा विद्यालयका वरपर बगैंचा बनाउने, सरसफाइ गर्ने, विभिन्न किसिमका खेल खेलाउने लगायतका क्रियाकलापहरू गराउनुहुन्थ्यो। उहाँले अह्राएका कुरालाई हामी सबैले शीरोपर गर्थ्याैं।

गुरु रामप्रसाद ०५४ साल माघमा बित्नुभयो। आज उहाँले पढाएका विद्यार्थीहरू विभिन्न क्षेत्रका विभिन्न ओहोदामा पुगिसकेका छन्। कोही पण्डित, कोही अधिकृत, इन्स्पेक्टर, उपसचिव, न्यायाधीश, सिडिओ,सांसद, मन्त्री आदि।

उहाँले ०१८ सालदेखि खाल्ले गाउँमा आएर शिक्षाको ज्योति जगाइदिनुभयो। करिब ३५ वर्षको अवधिभर खाल्लेमा रहँदा उहाँको कुनै खोट देखिएन। एउटा आदर्श व्यक्तित्वको रूपमा सारा गाउँलेहरूले उहाँप्रति आदर र सम्मान देखाइरहे। आज पनि त्यो आदरभाव ज्यूँ का त्यूँ छ। उहाँको सम्मानमा शीतला माविमा आजभन्दा १० वर्ष अगाडि नै ‘गुरु रामप्रसाद न्यौपाने’ स्मृति प्रतिष्ठान गठन भइसकेको छ।

उहाँको सम्झनास्वरूप ‘गुरु रामप्रसाद र शीतला विद्यालय’ नामक एउटा स्मृतिग्रन्थ प्रकाशन गर्नुका साथै विद्यालय परिसरमा गुरुको शालिक पनि स्थापना गरिएको छ र प्रतिष्ठानको नामबाटै स्कूलको क्षेत्र बिस्तारको लागि करिब १० रोपनी जग्गा खरिद गरिएको छ। यस पुनित कार्यमा मैले पनि केही योगदान गर्ने सौभाग्य प्राप्त गरें। यसबाट थोरै किस्ता भए पनि गुरु ऋण चुक्ता गरें भन्ने मलाई लाग्छ।

हुन त मैले पनि आफूले पढेको त्यही शीतला विद्यालयमा एक वर्ष र फलाँटे (सेरा गाउँ) को सगरमाथा स्कूलमा सात वर्ष पढाएँ। काठमाडौं पुगेपछि एघार वर्ष विभिन्न कलेजमा पढाएँ। मैले साँच्चै असल गुरुको भूमिका निर्वाह गरें गरिनँ? मलाई लाग्छ, मैले उहाँजस्तो आदर्श गुरुको भूमिका पक्कै निर्वाह गर्न सकिनँ होला।

यसरी आज म जहाँ पुगें र जहाँ छु गुरु रामप्रसादले देखाएकै आदर्श बाटोमा हिंडिरहेको छु भन्ने मलाई लाग्छ। अरूलाई जस्तै मभित्र पनि त्यो अक्षरको ज्योति त्यो ज्ञानको महाज्योति उहाँले नै बालिदिनुभएको हो। आज पनि जब म आफूले पढेको त्यो स्कूल सम्झन्छु अथवा त्यहाँ पुग्छु त्यो बेला मेरा आदरणीय गुरु रामप्रसादको शालीन र भद्र व्यक्तित्व त्यहाँ उभिरहेको पाउँछु। त्यो बेला मलाई उहाँले टेकेको त्यो पवित्र माटो शीरमा उठाएर राख्न मन लाग्छ र म त्यसै गर्छु।  

प्रकाशित: ६ श्रावण २०८१ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App