२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

मुस्कुराउन पनि त दुई ओठ छुट्टिनुपर्छ!

मुक्तक

१) मुक्तक

बेलुकी पनि खान पुग्दैन कति गर्नुहुन्छ आमा,

तैपनि गिट्टी कुट्न सधैँ घाटमा झर्नुहुन्छ आमा।

त्यही घाटमा एउटा लास पैसा ओडेर आउँदा,

भोकी छोरी रुँदै भनिन् कहिले मर्नुहुन्छ आमा।

२) मुक्तक

घमण्डको चुली मायाले ढल्छ किन सोच्नु हुन्न,

सम्मानले मात्रै सम्बन्ध चल्छ किन सोच्नु हुन्न।

देखिन्न प्रेम अहम्ताले आँखा छोपियो भने,

गाल्न सके फलाम नि गल्छ किन सोच्नु हुन्न!

३) मुक्तक

देश बनाउँछु भन्ने टाउका गनेर के अर्थ,

सुशासनबिना स्वाभिमानी बनेर के अर्थ।

सहिदका रगतको कदर गर्नुपर्छ भन्दै,

आमाको दुध बिर्सनेलाइ भनेर के अर्थ।

४) मुक्तक

बरु हार स्वीकार छ कहिल्यै जित नहोस्, 

इमानदारीले कसैको स्वार्थको हित नहोस्।  

दुनियाँको हिसाब त मैले हैन समयले गर्छ,  

तर स्वयंको प्रश्न कहिल्यै अनुत्तरित नहोस्।

५) मुक्तक

आफैँले आफैँलाई छल्नुहुन्छ के दबाइ दिउ,

रोग छैन केही यसै ढल्नुहुन्छ के दबाइ दिउ।

मानसिकता नै सुधार्नुपर्छ सर्वप्रथम हजुरले,

अरूको प्रगतिमा जल्नुहुन्छ के दबाइ दिउ।

६) मुक्तक

भन्न खोज्दा लाजले मर्छु,भन्दै हिँड्न मन छ,

म उसैको भाग्यमा पर्छु, भन्दै हिँड्न मन छ।

स्विकार छ बरु मलाई पागल बनाइदे भगवान्,

उसलाई कति माया गर्छु भन्दै हिँड्न मन छ।

७) मुक्तक

चामलकै लागि भए पनि धान कुटिनुपर्छ,

बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ।

म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न

मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ।

८) मुक्तक

पढ्यौँ शिक्षाको ज्योतिले मात्रै देश सपार्न सक्छ,

पढेकै युवा विदेशिए अब कसले स्विकार्न सक्छ।  

सीपमुलक र समयानुकूल बनाउ बिन्ती शिक्षा,

नत्र शैक्षिक विकृतिले नै यो देश बिगार्न सक्छ।

९) मुक्तक

पाइलापाइलामा आश्चर्यजनक कथा भेटिन्छन्,

मान्छेमा भन्दा, पर्दामा बरु मानवता भेटिन्छन्।

जमाना बदलिएर, कहाँ आयो, कुरा गर्नुहुन्छ,

कसरी भन्नुहुन्छ अझै कृष्णसँग सुदामा भेटिन्छन्।

१०) मुक्तक

मैले पाउनै सकेकी छैन दिएको कुरा गरेउ,

महसुस गरिन, मेरा लागि बदलिएको कुरा गरेउ।

तिमीलाई देख्दा मुस्कान पनि आ छैन ओठमा,

हिम्मत गरेर कसरी आज बिहेको कुरा गरेउ।

प्रकाशित: ३ श्रावण २०८१ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App