८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

भारतले नेपाललाई दियो निर्वाचन सहयोगको तेस्रो खेप

५० ट्रकसहित २७० बढी सवारी साधन

भारतले नेपालको आगामी निर्वाचनलाई सफल र व्यवस्थित बनाउन थप सहयोग प्रदान गरेको छ। बिहीबार काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित औपचारिक समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

यो खेपमा नेपाली सेनाका लागि ५० वटा ट्रकसहित कुल २७० भन्दा बढी विभिन्न प्रकारका सवारी साधन तथा अन्य आवश्यक सामग्री समावेश छन्। यो सहयोग नेपालले निर्वाचन तयारीका लागि व्यक्त गरेको आवश्यकताअनुसार उपलब्ध गराइएको हो। नेपाली सेनाका लागि प्रदान गरिएका ट्रकहरू प्रधान सेनापति अशोक राज सिग्देलले ग्रहण गरेका थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले समारोहलाई सम्बोधन गर्दै समयमा प्राप्त यो उच्च महत्वको सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति हार्दिक आभार व्यक्त गरे। उनले दुई देशबिचको यो सहकार्य आपसी विश्वास, गहिरो मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताबाट निर्देशित भएको बताए। सहयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउन ठूलो योगदान पुग्ने उनको विश्वास छ।

यसअघि पहिलो खेप माघ ६ गते र दोस्रो खेप माघ १५ गते हस्तान्तरण भइसकेको छ। ती दुई खेपमा गरी ३१० भन्दा बढी सवारी साधन तथा सामग्री प्रदान गरिएको थियो। भारतीय दूतावासले आगामी दिनमा थप ब्याचहरूमा बाँकी सहयोग उपलब्ध गराइने जानकारी दिएको छ।

प्रकाशित: १ फाल्गुन २०८२ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App