ज्योति साहित्य प्रतिष्ठानले आफ्नो २०७ औं श्रृङखला र २११औं भानुजयन्ती विशेष मनाएका छन्। ललितपुरको इमाडोल, बोझे पोखरीमा गरिएको कार्यक्रममा प्रमुख अतिथि प्राडा निर्मोही व्यासको उपस्थितिमा एक मिनेट मौनधारण गरी आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा सुमन अर्पण गरेर भानुजयन्ती मनाइएकाे थियाे।
कार्यक्रममा प्रमुख अतिथि निर्मोहीले प्रतिष्ठानको अध्यक्ष मणिराज सिंहको साहित्यप्रतिको मोह मोहिनीलाग्दो भएकाे बताए। उनले सिहले अचानक राखेको कार्यक्रमलाई औपचारिक रूपमा परिणत गरेर साहित्यप्रेमीप्रति गुण लगाएको र यो देखेर कताकता आफूमा मीठो ईर्ष्या पनि जागेको बताए।
उनले भानुभक्तमाथि अब केही लेख्न बाँकी नरहेको ठान्दा पनि विद्वानहरूले भानुको साहित्यमै आधारित भएर गरिरहेको पिएचडीले अझै धेरै थोक जान्न बाँकी नै रहेकाले भानुलाई महासागर भनेर सम्बोधन गरे।
देशमा त भानुजयन्तीको आफ्नो विशेष महत्त्व त छँदैछ तर यो खास दिनले विदेशमा सबै नेपालीलाई एक ठाउँमा भेला गराउने गर्छ भनेर निर्मोहीले जानकारी गराए।
उनले आज यहाँ उपस्थित हामी पनि साहित्यका ग्रह नभएर रत्न हौं भनेर खुशी व्यक्त गर्दै कविता वाचन गरे। साहित्यकार ईश्वर पोखरेलले पनि भानुभक्तको महत्त्वमाथि प्रकाश पार्दै आफ्नो कविता सुनाएका थिए।
कार्यक्रममा साहित्यकार तथा ज्योतिष महाकाव्यकार रामनाथ अधिकारी सँगीले आध्यात्मिक कविता वाचन गरेर सबैलाई अध्यात्मको दुनियाँसँग परिचय गराए।
प्रगतिशील लेखक संघ ललितपुरका अध्यक्ष नानीमैयाँ अधिकारीले भानुकृत रामायणमा विशेष जातको पकड रहेको आफ्नो मन्तव्य दिंदै कविता वाचन गरिन्।
वाग्मती साहित्य केन्द्रका अध्यक्ष वाग्मती भाइले भानुप्रति समर्पित कविता वाचन गरे। त्यस्तै साहित्यकार कृष्णबहादुर विष्टले आफूले कविता वाचन नगरे पनि भानु सम्बन्धित धेरै कुराको जानकारी पाउँदा निकै खुसी लागेको बताए।
साहित्यकार तथा ज्योतिष चन्द्रमणि प्रसाईले भानुभक्तले नेपाली समाजलाई रामसँग परिचित गराएर नेपाली जातिमाथि निकै ठूलो गुण लाएको बताए।
कार्यक्रममा उदघोषक सुधा मिश्रले आफू मिथिलाबासी भएको नाताले आफूलाई रामसँग रहेको केही गुनासा र प्रश्नको उत्तर कवितामार्फत त्यहाँ उपस्थितिसँग राखे। उनले मैथिली भाषामा कविता वाचन गरिन्।
कार्यक्रमका ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार मणिराज सिंहले आफूले अचानक राखेको कार्यक्रममा १ घण्टाभित्र यतिका वरिष्ठ साहित्यकारहरू उपस्थित भएर साहित्य र आदिकविप्रतिको सम्मान र माया दर्साएको भन्दै सबैप्रति आभार प्रकट गरे।
यसरी राखेको कार्यक्रमले पुराना साथीहरूको लामो समयपछि भेटघाट भएकोमा आफूलाई कार्यक्रम सार्थक भएको भएको बताए।
उनले आगामी दिनहरुमा यसरी नै सबैको माया र साथको आशा राख्दै ‘चुरोटका ठुटाहरू’ कविता वाचन गरी २०७औं शृङ्खला को समापन गरे।
प्रकाशित: ३१ असार २०८१ ०९:३९ सोमबार