२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

भाइ प्रधानमन्त्री भएको समाचार वाचन गर्ने रहर

चर्चित रेडियो प्रस्तोता हरिशरण लामिछाने र उपप्रधानमन्त्री रवि लामिछाने सहोदर दाजुभाइ हुन्। संयोगले यी दुवै दाजुभाइ शुक्रबार ‘सिंहदरबार’ बाट एकै दिन बाहिरिएका छन्। दाजु हरिशरण ३५ वर्षको सेवा अवधि पूरा गरी शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालबाट बाहिरिए भने भाइ रवि लामिछाने सरकारले विश्वासको मत नपाउँदा आफ्नो कार्यकाल पूरा नहुँदै उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिए।

तीन दशक लामो अवधिमा मुलुकका थुप्रै उथलपुथल देखेका लामिछानेले आफ्ना भाइ उपप्रधानमन्त्री भएको समाचार समेत वाचन गर्न पाए। तर उनको एउटा रहर भने अधुरो नै रह्यो– ‘मुलुकको प्रधानमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ।’

‘बहुदलीय व्यवस्थाको घोषणादेखि लोकतन्त्र, गणतन्त्र सबै समाचार वाचन गरेँ,’ हरिशरण भन्छन्, ‘भाइ प्रधानमन्त्री भएको समाचार वाचन गर्ने रहर बाँकी नै रह्यो।’ धेरैले आफूलाई भाइको विरोधी भनेर आलोचना गर्ने गरेको बताउँदै गर्दा उनले भाइ त्यही फोहोरी खेलमा पर्ला भन्ने चिन्ता मात्र गरेको बताए।

‘भाइको प्रगति कुन दाजुले नचाहला,’ उनले भने, ‘मलाई मेरो भाइ परम्परागत फोहोरी खेलमा नपरोस् भन्ने चिन्ताले पोलेको मात्र हो।’

२०४६ सालबाट रेडियो सेवामा प्रवेश गरेका लामिछाने ५८ वर्ष उमेरका कारण अवकाश पाएका हुन्। बहुदलीय व्यवस्थाको घोषणादेखि लोकतन्त्र र गणतन्त्र प्राप्तिका समाचार वाचन गरेका लामिछानेले व्यवस्था परिवर्तन भए पनि नेताहरूको प्रवृत्ति भने उस्तै रहेको बताए। बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा सहभागिता जनाएका लामिछानेले नेताहरूले निराश बनाएको सुनाए।

‘देशमा परिवर्तन भएको समाचार उत्साहका साथ सुनाइन्थ्यो,’ उनले भने, ‘तर नेताहरूले त्यो उत्साहलाई निराशामा बदलिदिए।’

तीन दशकअघिदेखि रेडियोमा समाचार वाचन गर्दै आएका लामिछानेले त्यो बेला र अहिलेको क्षणमा निकै परिवर्तन आएको सुनाए। प्रविधिमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले सँगसँगै विकृति पनि बढेको अनुभव गरेका छन्। ‘उति बेला वाचकमा शिष्टता, शालीनता र सभ्यता झल्कन्थ्यो,’ उनी भन्छन्, ‘अहिले चिच्याहट सुनिन थालेको छ।’

लामो समय समाचार वाचनका क्रममा थुप्रै अविस्मरणीय क्षण आएको उनले सुनाए। राजदरबार हत्याकाण्ड, मदन भण्डारीको दुर्घटना, महाभूकम्पजस्ता क्षणको समाचारको साक्षी भएको उनले सुनाए। माओवादी ‘जनयुद्ध’ देखि सत्तारोहणसम्मको समाचार वाचन गरेका लामिछानेले शुक्रबार माओवादी नेता पुष्पकमल दाहाल बाहिरिँदै गरेको समाचारसमेत भन्न भ्याए। ‘मैले राजनीतिका धेरै उतारचढाव सुन्ने सुनाउने अवसर पाएँ,’ उनी भन्छन्, ‘रेडियोले मलाई धेरै कुरा सिकायो।’

यिनैमध्ये पनि केही घटना भने निकै यादगार रहेको उनी बताउँछन्। ‘सबैभन्दा यादगार क्षण भूकम्पको बेलामा रह्यो,’ उनले भने, ‘सूचनाका अन्य माध्यमहरू ठप्प भएको बेला हामीले आशाको तरङ्ग जोगाएर राख्न सफल भयौं।’ दिनरात खटेर मुलुकभरका क्षति र उद्धारका घटना प्रसारण गर्न सकेकोमा जीवन सार्थक भएको महसुस उनलाई भयो।

‘सायद त्यही महाभूकम्पले रेडियोलाई पनि पुर्नजीवन दियो,’ उनले भने, ‘सबैले बिर्सिन लागको रेडियोले फेरि ताजगी पायो।’ रेडियोबाट बिदा भएको खबर उनले अन्तिम समाचार वाचनको भिडियोसहित सामाजिक सञ्जालबाट दिएका छन्।

‘यो रेडियो नेपाल हो, हरिशरण लामिछानेबाट समाचार पूरा भयो,’ समाचार वाचक लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान ७ बजेको अन्तिम समाचार बुलेटिन। सबैमा धन्यवाद, आभार, नमस्कार !’

३५ वर्षको सेवावधि आजबाट पूरा गरी बिदा लिएको सविनय जानकारी गराउँदै उनले जान–अन्जानमा कुनै गल्ती भए श्रोतासँग माफी मागेका छन्। उनको आवाजका प्रशंसक सर्वसाधारणदेखि रेडियो टिभीमा समाचार वाचन गर्ने समेत रहेका छन्।

‘दाजुको आवाज सुनेर हुर्केको र प्रेरित भएको पुस्ता हौं। हजुरको आवाज सधैं कानमा गुन्जिरहन्छ,’ सञ्चारकर्मी पवन आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेडियोबाट नभए पनि अन्य माध्यमबाट त्यो कर्णप्रिय आवाज सुन्न पाइरहूँ, शुभकामना छ दाजु आगामी दिनको !’

रेडियोमा कुनै बेला ओजिलो आवाज भएका समाचार वाचकवाचिकाको बाहुल्य हुन्थ्यो। तिनलाई वास्तविक जीवनमा नभेटे पनि स्वरकै आधारमा तिनका प्रशंसक बनेर रहन्थे। त्यस्तै एक अर्का पाठकले हरिशरणको आवाज मौलिक रहेको टिप्पणी गरेका छन्। 

‘यो आवाज रेडियो नेपालको सिग्नेचर आवाज हो’, सामाजिक सञ्जालमा उत्तम भट्टराई लेख्छन्, ‘यो आवाज हाम्रो दैनिक जीवन झैं थियो। यो आवाजसँगै हामी हुर्कियौं। रिटायरलाइफ सुखद रहोस्, शुभकामना दाजु !’

उनलाई धेरैले फेरि सुन्न चाहेको पनि सुनाए। ‘हामी यो आवाजको निरन्तरता चाहन्छौं,’ सामाजिक सञ्जालमा नवराज रिजाल लेख्छन्, ‘आशा छ, फेरि यो प्यारो आवाज सुन्न पाइने छ।’

समाचार वाचक लामिछानेले रेडियो नेपालको जागिरबाट बिदा भए पनि सञ्चार माध्यममा कुनै न कुनै रूपमा रहने योजना रहेको बताए। ‘म कुनै न कुनै रूपमा देश र जनताका लागि आवाज उठाउने छु’, उनले भने, ‘त्यसका लागि मैले तयारी पनि गरिरहेको छु।’

प्रकाशित: २९ असार २०८१ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App