२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:२३ अपराह्न
राजनीति

‘हामीबाट गल्ती भयो, सच्चिन चाहन्छौं, मौका दिनुस्’

‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै दाहाल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरेका छन्।

गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला जनताले मात्रै गर्ने उनको भनाइ छ। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको जिकिर गरे।

आफूहरूबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको उनले बताए। ‘हामीले भनिराख्या छौं, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौं, आत्मालोचना गर्छौं भनेका छौं, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरूले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलोमैलो भयौं, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ।’

जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरुलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नगर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे।

‘झण्डै ७० वर्ष देखी जनताले लडेर बनाएको संविधान हो, यसलाई बचाउने जिम्मा हाम्रो हो,’ उनले भने ‘पहिला संविधानको समीक्षा गरौँ, दश वर्षमा संविधानले के दियो के दिएन, कार्यान्वयनमा कमजोरी कहाँ भयो ? लोकतन्त्रलाई अझै सुदृढ गर्ने गरी संविधान संशोधन गरौँ।’

संविधान निर्माण गर्दा त्यति बेलै केहीले संविधान नबनोस् भन्ने चाहेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यो संविधान नचाहने ‘प्रतिक्रियावादी’ शक्ति नै भित्री रुपमा व्यवस्था उल्ट्याउने षडयन्त्रमा लागेको संकेत गरे।

गणतन्त्रबारे जनतामा सचेतना जगाउन र तल्लो स्तरका जनताको समस्या बुझ्न माओवादीले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ सञ्चालन गरेको सुनाए।

‘हामी राजावादीलाई काउन्टर अट्याक गर्न आएका होइनौँ, जनताका कुरालाई सुन्न आएका हौं,’ अध्यक्ष दाहालले भने ‘यो अभियानका क्रममा हामीले सकेसम्म दुःख पाएका जनताका घरमा बस्ने कोसिस गरेका छौं, जनताको घरमा बसेर उनीहरुले जे खान्छन्, त्यही खाएर उनीहरुलाई सान्त्वना दिन्छौँ।’

राजावादीको आन्दोलनका कारण बीचमा रोकिएको माओवादीको अभियान बाँकेबाट पुनः सुरु भएको उनले जानकारी दिए।

‘अहिले नै निरङ्कुशतन्त्र आउने स्थिति छैन’

यसैबिच प्रेस सेन्टर नेपाल बाँकेले बिहीबार नै आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टिने र निरङ्कुशतन्त्र आउने स्थिति नरहेको बताए।

नेपालगन्जमा बिहीबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहाल । तस्बिर: अर्जुन ओली/नागरिक 

तर लोकतन्त्र र गणतन्त्र मास्न विभिन्न ‘प्रतिक्रियावादी’ षडयन्त्र भइरहेको उनले प्रष्ट्याए। ‘जनता सबै सचेत हुनुपर्ने अवस्था छ, सच्चा गणतन्त्रवादी र लोकतन्त्रवादी सचेत हुनुपर्ने अवस्था छ,’ उनले भने ‘संविधान बनाउने बेला देखी नै एकथरी तत्त्वहरू छन्, जसले समावेशिता, समानुपातिकता, सङ्घीयता र गणतन्त्र मन पराएका छैनन्, उनीहरुले कुनै न कुनै रुपले प्रहार गर्न खोजेका छन्, आत्तिनुपर्ने स्थिति त होइन, तर सर्तक भइएन र जनतालाई सचेत बनाइएन भने नराम्रो स्थिति पनि हुन सक्छ।’

प्रकाशित: २१ चैत्र २०८१ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App