२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

खुसीको मूल्य

यस्ताे पनि!

फाइल तस्वीर

तपाईं अरूलाई खुसी देख्न चाहनुहुन्छ? उसो भए त्यसका लागि तपाईंले केही न केही मूल्य चुकाउनु नै हुन्छ। प्रायः अरूलाई खुसी देख्न चाहनु भनेको उनीहरूका लागि केही मूल्य चुकाउनु हो। चाहे घरमा होस्, चाहे कार्यालय, चाहे बाटोमा नै किन नहोस्, अरूका खुसीका लागि जब तपाईंले ध्यान दिन थाल्नुहुन्छ, त्यहाँ तपाईंले केही न केही मूल्य तिर्नु भएकै हुन्छ।  

खुसीका मामिलामा पुरुषभन्दा महिलाहरू उदार हुन्छन्। अरूका खुशीका लागि महिलाले केही न केही गरिरहेकै हुन्छन्। अमेरिकामा गरिएको एउटा सर्भेले भन्छ–५० प्रतिशत महिलाले अरूका खुसीका लागि केही न केही गर्ने गर्छन्।

उदाहरणका लागि, बाटोमा कसैले भिख मागिरहेको छ भने प्रायः महिलाहरूले भिखारीलाई केही न केही सहयोग गरिरहेका हुन्छन्। तुलनात्मक रूपमा पुरुषहरूले त्यस्तो भिख दिँदैनन्। उल्टो झपारेर भगाउन सक्छन्। के उसो भए पुरुषहरू साह्रै कडा मनका हुन्छन् त? सर्भेले भन्छ, पुरुषहरू सबै कडा मिजासका हुँदैनन्। उनीहरूको पनि कमलो हृदय हुन्छ। तर, ५० प्रतिशत महिला सहयोग गर्न तयार हुँदा जम्मा ३५ प्रतिशत पुरुष मात्र सहयोगका लागि उदारता देखाउने गर्छन्।

कतिलाई आफू ‘पिपल प्लेजर’ छु कि छैन भन्ने पनि थाहा हुँदैन। क्लिनिकल साइकोलोजिस्ट डा. डानियल ग्लेजरले आफू अरूलाई खुसी पार्ने तत्त्व हो कि होइन भन्ने बुझ्नका लागि केही प्रश्न तयार पारेका छन्। तीमध्ये केही प्रश्न यस्ता छन्ः

–  कामको भारीका बीचमा पनि मन नलागी साथीभाइले बनाएका योजनालाई स्वीकार गर्दै छुट्टी मनाउन जानुहुन्छ?

–  भित्रभित्रै आफूलाई चित्त नबुझेको भए पनि साथीहरूको होहल्लाका बीच आफ्नो चित्त नबुझेको वा चित्त दुखेको कुरा दबाउनुहुन्छ?

– अरूसँग मिल्न वा अरूको सजिलोका लागि आफ्नो व्यक्तित्वभन्दा अलग्गै तपाईं उनीहरूसँग सहज भइदिनुहुन्छ?

–  विवाद परेको खण्डमा विवादित हुनबाट जोगिनुहुन्छ?

–  अरूले के भन्लान् भन्ने डरले तपाईं बढी नै चिन्तित हुनुहुन्छ? अरूको चित्त नदुखोस् भनेर बढी सतर्क रहनु हुन्छ?

–  तपाईंलाई आत्मविश्वासको कमी छ भन्ने लागिरहन्छ? आफ्नो नियन्त्रणभन्दा बाहिरका काम बिग्रिए भने सधैँ अरूसँग क्षमा मागिरहनुहुन्छ?

–  आफूलाई चित्त दुखेको, अप्ठेरो परेको कुरामा पनि तपाईं चुप बस्नुहुन्छ?

–  तपाईंको स्वास्थ्यलाई खराब गर्ने भए पनि अरूले अह्राइहाले भनेर बढी काम लिने बानी छ?

यस्ता बानी छन् भने तपाईं ‘पिपल प्लेजर’ हुनुहुन्छ। यसले तपाईंको स्वास्थ्यलाई हानि पुरयाउने मात्र होइन, तपाईंलाई धेरै कुरामा पछि पार्छ। अरूलाई सधैँ खुसी राख्दा उसले तपाईंलाई पनि खुसी बनाइराख्छ भन्ने कुनै निश्चित छैन।  

प्रकाशित: २५ असार २०८१ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App