२१ पुस २०८२ सोमबार
image/svg+xml
कला

शब्दहरू

कविता

बोल्नुअघि

शब्दहरू निस्प्राण हुन्छन् 

बोलेपछि

शब्दहरू शक्तिशाली बन्छन् ।

शब्दहरू खुकुरी बनेर

हृदय चिर्छन्

जब

क्रोध मिसिन्छ।

शब्दहरू औषधी बनेर

घाउ पुर्छन्  

जब

करुणा मिसिन्छ।

शब्दहरू चिठी बनेर

मन जोड्छन् 

जब

प्रेम मिसिन्छ।

शब्दहरू भरोसा बनेर

हौसला दिन्छन्

जब

साथ मिसिन्छ।

शब्दहरू विनाश बनेर

ढोका ढकढकाउछन्

जब

ईर्ष्या मिसिन्छ।

शब्दहरू आशीर्वाद बन्छन्

आमाले बोल्दा

शब्दहरू हिम्मत बन्छन्

बाबाले बोल्दा

शब्दहरू प्रेमगीत बन्छन्

प्रेमीले बोल्दा

शब्दहरू भरोसा बन्छन्

साथीले बोल्दा

शब्दहरू ज्ञान बन्छन्

गुरुले बोल्दा

शब्दहरू प्रार्थना बन्छन्

भक्तिले बोल्दा

शब्दहरू शक्तिशाली हुन्छन् !

बनेको पनि बिगार्छन् 

शब्दहरूले

बिग्रेको पनि सपार्छन् 

शब्दहरूले।

निराशामा पुर्‍याउँछन्

शब्दहरूले

आशा पनि जगाउँछन् 

शब्दहरूले।

सम्बन्धहरू ध्वस्त पार्छन्

शब्दहरूले

सम्बन्धहरू स्वस्थ पार्छन्

शब्दहरूले।

मुस्कान पनि ल्याउँछन्

शब्दहरूले  

आँसु पनि झार्छन्

शब्दहरूले।

बोल्न नजाने

निद्रा बिथोल्छन्

शब्दहरूले

डिप्रेसनमा लैजान्छन्

शब्दहरूले

आत्महत्यामा पुर्‍याउँछन्

शब्दहरूले।

शब्दहरू केवल शब्द होइनन्,

शब्दहरू हतियार हुन्।

प्रकाशित: ८ असार २०८१ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App