८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

आमाको जीवन्त कथा

पुस्तक

कतिपय कुरा हामीले देख्न, भोग्न र सुन्न नपरोस् भन्दा भन्दै पनि देख्न, भोग्न र सुन्नै पर्छ। हाम्रो समाज रूढिवादी, हैकमवाद र चाकरीवादमा रुमलिइरहेको छ। व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै छ, अन्धविश्वासको धङधङी रहिरहेको छ। हामी आधुनिकतातिर दौडँदै गर्दा रूढिवादतर्फ अल्झन्छौं। अन्धविश्वास र आधुनिकताको चेपमा चेपिएर न यताका न उताका भएका छौं। हामी त यस्तैयस्तै छौं तर हाम्रा सन्ततिलाई कुन र कस्तो बाटो हिँडाइरहेका छौं, त्यो हेक्का हामीलाई नै छैन।

छोराछारीले केही गर्छन् भनेर पढायो, त्यही पढाइ पछि अभिभावकहरूलाई काम नलाग्ने बन्छ। आधुनिकताका नाममा बुढेसकालमा पाखे बन्छन्। सबै सन्तानमा यो लागु नहोला तर धेरै घरको कहानी यस्तै छ।

ढिलोचाँडो सतहमा पक्कै आइहाल्छन्। यी र यस्तै सत्य घटनामा आधारित उपन्यास ‘बोरा’ अहिले चर्चामा छ। अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले लेखेको बोरा उपन्यास हाम्रो समाजको एउटा प्रतिनिधि घटनाको दारुणिक कथा हो। हुन त जित्नेको नै इतिहास बन्ने हो, हार्नेको प्रतिनिधित्व कसैले गरेको देखिँदैन।

बोरामार्फत समाजमा महत्त्वपूर्ण भूमिकामा रहेर पनि सधैं हारिरहेका व्यक्तिहरूका जीवनकथा प्रस्तुत भएका छन्। हाम्रो समाजमा विभिन्न प्रकारका मान्छे बस्छन्। सबैको ध्येय र धारणा एकै किसिमको कहाँ हुन्छ र? स्वार्थी मान्छेहरूको झुन्डले राम्रा नराम्रा केही पनि देख्दैन, देख्छ त बस् आफ्नो स्वार्थ। हो, त्यस्ता स्वार्थी मान्छेहरूका कारणबाट प्रताडित भएका महिलाहरूको एउटा प्रतिनिधि घटना मात्र हो ‘बोरा’को कहानी।

मान्छेले आफ्नो शत्रु खोज्न टाढा जानै पर्दैन, आफ्नै घरवरिपरि खोजे पुग्ने रहेछ। वर्तमान समयमा हामीले देखेका यथार्थ हो यो। आधुनिकतातर्फ लम्कँदै गर्दा, हाम्रो समाजका हरेक घटनाले झनै पछाडि धकेलिरहेको छ। नयाँ नयाँ प्रविधिसँगै जीवन जिउनुपर्ने समयमा हामी पुरानै समयका उल्झनहरूलाई प्रश्रय दिइरहेका छौं। कहिलेकाहिँ त लाग्छ, हामी कहाँ छौं? किन जन्मेका हौं यो धरामा? सबै बिर्सेर बिलखबन्धमा परिरहेका छौं। अब यी र यस्ता कहानी पढ्न नपरोस् भन्छौं, फेरि भोग्नु नै पर्छ।

आजभन्दा ६०–७० वर्षअघि पनि एउटी नारीको क्रान्तिकारिताप्रति भने गर्व गर्न सकिन्छ। जन्मँदै आफ्ना पिताले मार्न आटेकी एउटी अबोध बालिकालाई आलो सुत्केरी आमाले बोकेर कोसौं टाढा जानुपर्ने बाध्यता सम्झँदै शरीरमा काँडा उम्रन्छ। उपन्यास पढिरहँदा समाजका विकृत पक्षका पाटाहरू उदाङ्गो भएका छन्।

समाजमा गण्यमान्य कहलाएको मान्छेले कसरी अरूलाई बेबकुफ बनाउन सक्छ? उसका विश्वासपात्रबारे पनि उपन्यासमार्फत छर्लङ्ग पारिएको छ। मान्छेले आफ्नो स्वार्थका लागि आफ्नै श्रीमतीलाई दिएका दुःख पढिरहँदा जो कोहीलाई पनि त्यो पात्रदेखि वितृष्णा पैदा हुन्छ नै। यस्तै परिघटना उपन्यासका सुरुवाती कथामा पढ्न सकिन्छ। जीवनभर दुःख गरेर सुखभोग गर्ने समयमा पनि आफ्नो सन्तानबाट सुखप्राप्ति हुन नसक्नुको पीडा उपन्यासको मूल विषयवस्तुका रूपमा हामीले पढ्न सक्छौं।

केही महिलाहरूको भूमिका सकारात्मक छ, केहीको नकारात्मक। सौतेनी आमाको भूमिकामार्फत आमाको माया असीमित रहेको देखाइएको छ। जसले संसार देखायो उसैलाई बुढेसकालमा बोरामा राखेर फाल्नुपर्ने अवस्था आउनुमा एउटी नारीकै हात देखाइएको छ।

 यहाँ प्रश्न उठ्न सक्छ, हामीले कस्तो शिक्षा लिएका छौं? के शिक्षित हुँदैमा समाज बदलिन्छ र? नत्र एउटा डाक्टर भइसकेका छोरा र बुहारीले किन आफ्नी आमालाई बोरामा लगेर फाल्छन्? उपन्यासका हरेक हरफले पाठकका आँखा रसाउन बाध्य बनाउँछन्।

उपन्यास पढिरहँदा लाग्छ, उपन्यास होइन, समाजको चित्र फिल्ममार्फत हेरिरहेको छु। लाग्छ ती पात्रहरू हाम्रै घरवरिपरि आज पनि घुमिरहेका छन्। एउटा शिक्षकले आफ्नी श्रीमतीलाई दिएको सकसले ती शिक्षकले विद्याथीहरूलाई कस्तो शिक्षा प्रदान गरे होलान् भन्ने कुरा मनमा उत्पन्न हुन्छ।

उपन्यासमा एउटी आमाको जीवन्त कथासँगै आमाको जीवनसँग जोडिएका समाजका विकृत पक्षहरू प्रस्तुत भएका छन्। समाजका हरेक पात्र नराम्रा मात्र हुँदैनन्, राम्रा र विवेकी पात्रहरू पनि समाजमा हुन्छन् भन्ने कुरा उपन्यासमार्फत प्रस्तुत गरिएको छ। सामाजिक सद्भावलाई जीवन्त राख्न ती पात्रको भूमिकालाई प्राथमिकता दिनु उपन्यासको सबल पक्ष हो।

समाजमा सबै जात, धर्मसँग सद्भाव कायम रहनुपर्छ भन्ने चेतना प्रस्फुरित भएको छ। राई र ब्राह्मणको पारिवारिक मित्रताले उपन्यासलाई जीवन्त बनाएको छ। कथा आमाको हो, हाम्रो समाजभित्र लुकेका आमाका व्यथा र व्यथितिका चाङले बोरा भरिएको छ।

संसारसँग लड्न सक्ने क्षमता राख्ने आमा आफ्ना सन्तानप्रति भने निरीह बन्नुको विकल्प रहेनछ, यो संसारको नियम नै हो। सन्तानले जति नै पीडा दिए पनि सन्तानप्रति सधैं आमाको आर्शीवाद रहिरहन्छ। एउटा बोरामा छोराले फ्याकिएकी आमाको पनि यही राय रहेछ। छोरो एकदिन अवश्य आउँछ भन्ने आशा जिउँदै थियो।

‘अत्याचारी बाउसँग लडेँ। पापिष्ठ पतिसँग लडेँ। दुष्ट समाजसँग लडेँ। असमान कानुनसँग लडेँ। तर, जति दुष्ट भए पनि छोरासँग एउटी आमा लड्न सक्दिरहिनछिन्। सचिन्छ, सप्रिन्छ र लिन आउँछ भन्ने आसमा बरु सास जाने रहेछ, बाटो हेर्न रोकिने रहेनछ। म त्यही पलमा छु ऐले।’

जीवनभरि आफूलाई दुःख दिने श्रीमान्को मृत्युपछि उनको मृत्युसंस्कार नगर्ने निर्णयमा पुगेकी महिलालाई समाजले बहिष्कार मात्र गर्दैन, गाउँबाटै चारपाटा मुढेर गाउँ निकाला गर्छ। संसारमा सबै नराम्रा मात्र छैनन्, राम्रा मान्छेहरूको पनि बसोबास रहेको महसुस हुन्छ। अर्काे गाउँका एकजना मनकारी व्यापारीले उनीहरूलाई शरण दिन्छन्, छोरालाई डाक्टरी पढाउँछन्। उनैका छोराले आमालाई न्याय दिलाउछन्।

हाम्रा समाजका यस्ता मनकारी व्यक्तित्वहरूको सम्मानखातिर पनि बोरा पठनयोग्य उपन्यास हो। यस्ता मनकारी केही पात्र छन्, उनीहरूले बिग्रँदै गएको समाजका कुरीतिविरुद्ध धावा बोलिरहेका छन्।

आमाकै नाति तथा उपन्यास लेखेर हरेक सन्तानलाई सचेत गराउने उपन्यासकार भण्डारीको लेखनशिल्पले पीडामा रहेका सम्पूर्ण आमालाई न्याय भएको महसुस हुन्छ। व्यवस्था बदलिँदा पनि अवस्था उस्तै रहेको हाम्रो समाजमा रहेका यस्ता कुसन्तानहरूलाई सद्मार्गमा हिँडाउन यस उपन्यासले मद्दत गर्नेछ। एउटी आमाले भोगेको सत्य तथ्यमा टेकेर तयार भएको उपन्यास मानवीय संवेदनाको उच्च कृतिरूप हो भन्न सकिन्छ।

उपन्यास पढिरहँदा, एउटी महिलाले मात्र यी समस्या भोग्नुपर्ने हो र? उनले समाजभित्रै किन प्रतिकार गरिनन्? दुःख दिनेहरूसँग किन लड्न सकिनन्? जस्ता प्रश्न उठे पनि उपन्यास आद्योपान्त पढिसकेपछि भने यी सबै सवालको जबाफ सहजै पाउन सकिन्छ। 

प्रकाशित: ८ असार २०८१ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App