२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला

स्याउजस्तै मिठो मार्फाको आलु

पर्यटन

झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्नेबित्तिकै जो कोहीले पवित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्छन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पूरा हुन सक्दैन। यहाँ अनगिन्ती विविधता छन्, जसले मानिसलाई सधैं आनन्दित गर्न सक्छ।

मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मात्र उद्देश्य राखेर मुस्ताङको यात्रा गर्नु भनेको यहाँका बारेमा अपुरो हुनु हो। लोकसेवा लगायतका नेपालको सरकारी तथा अन्य संघ संस्थामा रोजगारीको अवसरका निम्ति लिखित परीक्षा लिने निकायहरूले बनाउने प्रश्नहरूमा मुस्ताङबारे नै एउटा प्रश्नपत्र तयार हुन्छ।

छिमेकी मित्र राष्ट्र चीनसँग सिमाना जोडिएको मुस्ताङ गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। मरुभूमिको जिल्ला, नेपालमा सबैभन्दा कम पानी पर्ने जिल्ला, हिमाल पारीको जिल्ला र विशिष्ट खालको भौगोलिक बनावट भएको जिल्ला आदि नामबाट परिचित यो जिल्ला धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरको उत्तरमा अवस्थित छ। यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अवस्था हेर्दा धेरैअघि यो क्षेत्र नेपाल र तिब्बतबीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ।

मुस्ताङको उत्तरी सिमाना तिब्बतसँग जोडिएको लोमान्थान हुँदै छोसेर कोरोलासम्म उच्च पहाडी र हिमाली शृंखला मिलेर बनेको छ। तर सीमा पारी चीनको स्वशाषित क्षेत्र तिब्बतको भूभाग नेपालको तराईजस्तो समथर रहेको छ।

मुस्ताङको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छन्। यसको उत्तरदक्षिण लम्बाइ करिब ८० किलोमिटर र चौडाइ बढीमा ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिमशृंखलाको उत्तरमा पर्ने भएको र माथिल्लो मुस्ताङलगायतका स्थानहरूमा वनजंगल नभएको हुँदा कम पानी पर्छ। तर तल्लो मुस्ताङ, जोमसोम, कोवाङ, लेते र घासा लगायतका स्थानहरू २७ सय मिटरभन्दा कम उचाइमा अवस्थित रहेका र केही हदसम्म जंगल पनि रहेको हुँदा माथिलो मुस्ताङको तुलनामा यहाँको भौगोलिक बनावट अलि फरक छ।

नेपालको दोस्रो ठुलो तथा पर्यटकीय सहर पोखराबाट सडक यातायातको सर्वसुलभ उपलब्धता रहेका कारण पोखरादेखि बस तथा जिपमा सवार भई करिब साढे छ घण्टामा कास्कीको पर्यटकीय तथा रमणीय स्थल सराङकोट, लुम्ले, पर्वतमा रहेको बन्जी जम्प र बागलुङ जिल्लाको प्रसिद्ध बागलुङकालिका मन्दिर, प्रसिद्ध धार्मिक स्थल पञ्चकोट र म्याग्दीमा रहेको गलेश्वर महादेव, तातोपानीलगायतका स्थानहरूको रमणीय आनन्द लिँदै कालीगण्डकी किनारै किनार विविध प्राकृतिक छटाहरूको अवलोकन गर्दै कच्ची र पक्की सडकको करिब एक सय १४ किलोमिटर यात्रा पार गर्दा मुस्ताङको सिमाना घासामा पुग्न सकिन्छ। त्यसअघि म्याग्दीको दानामा रहेको रुप्से झरनाको आनन्द लिन भने छुटाउनु हुँदैन।

रुप्से झरनाबाट केही समयको यात्रापश्चात् म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे भिरनजिक कालीगण्डकी नदीमा अवस्थित गहिरो गल्छीको समेत भरपुर आनन्द लिन सकिन्छ। कालीगण्डकीमा बनेको गहिरो गल्छी अवलोकन गर्नका लागि बनाइएको झोलुङ्गे पुलबाट तल हेर्दा कताकता मनमा डर पैदा भए तापनि प्राकृतिक बनोटको त्यो अद्भुत स्थल देख्न पाउँदा मन उमङ्गले फुरुङ्ङ हुन्छ।

मुस्ताङको दक्षिणी प्रवेशद्वार घासा कट्नेबित्तिकै करिब पाँच किमि यात्रा गरेपछि समुन्द्र सतहबाट करिब २१ सय १३ मिटरको उचाइमा रहेको प्रसिद्ध पर्यटकीय स्थल लेते पुग्न सकिन्छ।

लेते मुस्ताङलाई चिनाउने एउटा विशिष्ट पर्यटकीय आधार बोकेको स्थान हो। यहाँबाट देखिने धवलागिरि र मानापाथी हिमालको दृश्य जो कोहीका लागि आनन्दको पर्याय बन्न सक्छ। अथवा लेते समुन्द्र सतहबाट आठ हजार एक सय ६७ मिटर उचाइको धवलागिरि र ६ हजार तीन सय ८० मिटर उचाइको मानापाथी हिमालको काखमा रहेको छ।

मुस्ताङ घुम्न आउने जोकोही पनि एक पटक यहाँको दृश्यसँग क्यामेरा वा मोबाइलको विभिन्न पोजमा कैद नभई अगाडि बढ्न सक्दैनन्। त्यसमा पनि बिहानको घामको पहिलो झुल्को धवलागिरि र मानापाथी हिमालमा पर्दाको दृश्य लेतेबाट हेर्दा सूर्यले केही समय आफ्नो गति रोकेर बसिदिए हुन्थ्यो भन्ने अनुभूति हुन्छ, बादल छेउमा नआइदिए हुन्थ्यो जस्तो अनुभूति पनि हुन्छ। त्यसैले त मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले बेलुकीको बास लेतेमै बस्न तँछाडमछाड गर्ने गर्छन्। यही कारण मुख्य सिजनमा यहाँका होटलहरूले पर्यटकको माग धान्न सक्दैनन्।

लेतेबाट करिब १० किमि यात्रा गरेपछि पर्यटकीय र ओखर खेतीका लागि प्रख्यात स्थल कोबाङ पुग्न सकिन्छ। केही वर्षअघिसम्म यहाँ बसोबास गर्ने मानिसहरूको प्रमुख आयस्रोतका रूपमा स्याउ खेती रहेको थियो।

 जलवायु परिवर्तनका कारण अहिले कोवाङमा पहिलेजस्तो पर्याप्त स्याउ फल्न छाडेको छ। मानिसहरू अहिले ओखर खेतीतर्फ आकर्षित भएका छन्। जसकारण यहाँका बासिन्दाले आफ्नो तथा परिवारको जीविकोपार्जनका अलावा ओखर बिक्रीबाट प्रशस्त आम्दानीसमेत गर्ने गरेका छन्।

जोमसोम नपुग्दै मुख्य सडक मार्गको छेउमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल हो, मार्फा गाउँ। जुन समुन्द्र सतहबाट दुई हजार ६ सय ८० मिटर उचाइमा अवस्थित छ। मार्फा भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात स्थान हो भन्ने पनि बुझिन्छ।

थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने यो ठाउँ पर्यटकीय गन्तव्य पनि हो। यसलाई नेपालको राजधानी काठमाडौं सहरको असनसँग पनि तुलना गरिन्छ किनभने मार्फा गाउँका भित्री गल्लीहरू असनकै जस्ता साँघुरा देखिन्छन्।

मार्फाको भित्री गाउँको बनोट यहाँको मौलिकतासँग अत्यन्त समीप छ। मुस्ताङका विभिन्न स्थानमा घुम्न आउने जोकोही पर्यटकहरू पनि यहाँको मुख्य सडकमा गाडी रोकेर यहाँको सुन्दर बस्तीको अवलोकन गर्न पैदल यात्रा गर्छन्।

मार्फाको भित्री गाउँमा गाडी जान सक्दैन। त्यसकारण यहाँको सौन्दर्य अवलोकन गर्न पैदल नै हिँड्नुपर्ने हुन्छ। बाह्य पर्यटकहरू माझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्रीहरू जोमसोम आइपुग्दा यो गाउँमा नघुमी फर्कंदैनन्।

मार्फा गाउँ धेरै हिसाबले प्रख्यात छ। यहाँ बनेका घरहरू एकै किसिमको मौलिकतामा आधारित छन्। वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको अर्को विशेषता हो। छानो आकारका घरहरू यहाँ देख्न पाइँदैन। यहाँ चौडा छत भएका घरहरू मात्र देख्न पाइन्छ। घरका छतहरू सहरमा जस्तो सिमेन्ट ढलान गरेर बनाइएको हुँदैन।

छतमा काठहरू ओछ्याई माथिबाट हिलो माटोले छोपेर बनाइएको छ। यहाँका घरहरूको अझ अर्को विशेषता घरको छानामा दाउराले सजाएर राखिएको छ। जुन मार्फा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको चासो र आश्चर्यको विषय बन्ने गरेको छ।

माफामाथि गगनचुम्बी पहाड लमतन्न परेर बसेको छ। समथर भूभागमा रहेको यहाँको सुन्दर बस्तीलाई स्याउको घना बगैंचाले सजाएको छ। गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ।

मार्फा अहिले तरकारी उत्पादनको पनि केन्द्र बनेको छ। यहाँ आलु, साग, काउली, टमाटरलगायतका तरकारी मनग्गे उत्पादन हुने गरेको छ। मार्फामा रहेको नेपाल सरकार अन्तर्गतको शीतोष्ण बागवानी केन्द्रमा विभिन्न तरकारीहरूको उत्पादनको अलावा गाजर, मुला, बन्दागोपी, काउलीलगायतका तरकारीहरूको बिउले गण्डकी प्रदेशको मागलाई धानेको छ।

जोमसोम, कोवाङ, घासा, कागबेनी र मुक्तिनाथ तथा उपल्लो मुस्ताङमा समेत यहाँ उत्पादन हुने तरकारी पुग्ने गरेको छ। सिजनमा मार्फामा उत्पादन भएको तरकारी जोमसोमका अलावा म्याग्दीमा समेत पठाउने गरेको छ।

अहिले मार्फामा उत्पादन हुने आलुले यहाँको स्याउले जस्तै ब्रान्ड स्थापित गर्न सफल भएको छ। यहाँ घुम्न आउने जोकोही पनि मार्फाको आलु खरिद गर्न मरिहत्ते गर्ने गर्छन्।

मुस्ताङ घुम्न आउने पर्यटकहरूको पहिलो रोजाइ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको धार्मिक धरोहरका रूपमा रहेको मुक्तिनाथसँग जोडिएको छ। मुस्ताङ घुम्न आउने पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ, कागबेनी र लोमान्थान जाने बाटोमै मार्फा पर्छ।

कालीगण्डकी करिडोरको जोमसोम जाने मुख्य सडक मार्फा गाउँभन्दा केही तलबाट जाने हुँदा मार्फा पर्यटकीय हिसाबले केही ओझेलमा परेको हो कि भन्ने भान हुन्छ। मार्फामा उत्पादित स्याउले ब्रान्ड स्थापित गरेको छ। यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्रान्डको ब्रान्डी र वाइन स्वदेशमा मात्र होइन, विदेशमा पनि प्रख्यात छ। तर जलवायु परिवर्तनको असर यहाँको स्याउ उत्पादनमा पनि परेको छ।

पहिले जस्तो स्याउ उत्पादन हुन छोडेको छ। मार्फा सडक सञ्जालले जोडिएको र मुस्ताङ घुम्न आउने पर्यटकहरूको संख्या दिनानुदिन बढ्दै गइरहेका कारण सडकको किनारमा रहेका प्रशस्त स्याउ फल्ने जमिन मासेर अहिले नयाँ सहरिया शैलीका होटेलहरू धमाधम निर्माण भइरहेका छन्, जसले गर्दा यहाँको मौलिकता हराउँदै जाने हो कि भन्ने चिन्ता मार्फाली माझ बढ्दो छ।

खासगरी मुस्ताङको मार्फामा २०२३ सालभन्दा अगाडि स्याउ खेती गर्ने प्रचलन थिएन। मार्फालगायतका स्थानमा स्याउको सम्भाव्यता भएकाले नै होला, २०२२ सालमा तत्कालीन सरकारको पालामा मार्फाको जमिन अधिकरण गरी राखिएको थियो। त्यसैताका तत्कालीन राजा महेन्द्र फ्रान्स भ्रमणमा गएका बेला नेपालको पूर्व घर भएका एक जना सुब्बा थरका मानिसले मजदुरका रूपमा त्यहाँको वाइन फ्याक्ट्रीमा काम गरेको देखी निजलाई मुस्ताङमा स्याउ उत्पादन गर्ने काममा सहयोग गर्न आह्वान गरेपछि ती व्यक्ति तत्कालै फ्रान्सबाट नेपाल आई मुस्ताङको मार्फामा स्याउको बिरुवा उत्पादनलगायतको काम गर्न थालेको र पछि २०२३ सालमा कृषि विशेषज्ञ बुद्धिरत्न शेरचनलाई स्याउ खेतीको उत्पादन तथा प्रवर्धनका लागि तत्कालीन सरकारले मार्फामा पठाएपश्चात मार्फामा ‘स्याउ खेती फर्म’ स्थापना गरी स्याउ खेती गर्न थालिएको भन्ने छ। त्यसपछि क्रमशः जिल्लाका अन्य स्थानमा पनि यसको प्रचार भयो। यस अर्थमा मार्फा नै मुस्ताङको स्याउ खेतीको प्रमुख आधारविन्दु हो भन्दा मिथ्या नहोला।

सामान्यतः मुस्ताङ घुम्न जाने पर्यटकहरूको प्रमुख गन्तव्यभन्दा अन्य स्थानबारे जानकारी नलिई मुख्य गन्तव्य स्थल जाने गरेका कारण पनि मार्फा ओझेलमा परेको हो कि भन्ने अर्थ रहन सक्छ। कहिलेकाहीं मुक्तिनाथ तथा जोमसोममा पर्यटकले अत्यधिक भरिभराउ हुँदा बास बस्नसमेत मुस्किल हुने हुँदा यसको वैकल्पिक वासस्थान मार्फा हुन सक्छ।

यसैगरी जोमसोममा कहिलेकाहीं मौसम प्रतिकूल हुँदा हवाईजहाजको यात्रा गर्ने यात्रुहरूका लागि घुमघामको अवसर मार्फाले जुटाइदिन सक्छ। आन्तरिक पर्यटक सामान्यतः सुनेका गन्तव्यहरूमा मात्र जाने गर्छन्। यसकारण मुस्ताङ घुम्न जाने पर्यटकहरूले कम्तीमा पनि त्यहाँ रहेका गन्तव्य स्थानहरूबारे पूर्ण जानकारी लिई गएको खण्डमा कम्तीमा पनि मुस्ताङको मुटुका रूपमा रहेका मार्फाजस्ता स्थानहरू ओझेलमा पर्ने थिएनन्। 

प्रकाशित: १ असार २०८१ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App