२ असार २०८१ आइतबार
image/svg+xml
कला

फिल्म 'गाउँ आएको बाटो' मा दयाहाङको नयाँ लुक

जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म 'गाउँ आएको बाटो' को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई बाल कलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ।

उभौली पर्वको अवसरमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन्।  

निर्देशक सुब्बा दयाले यो फिल्ममा दयाको परिपक्व अभिनय देखिने दाबी गर्छन्। 'यो फिल्म दयाले अत्यन्त अब्बल काम गरेको फिल्म हो। अन्य काममा पनि राम्रै काम गर्नुभएको छ। तर, यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिपक्व अभिनय छ',निर्देशक सुब्बाले भने।

दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए। तर, त्यति बेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन्। 'बुवा छोराको सम्बन्धमा फिल्म बन्दैछ भन्ने सुनेको थिएँ। तर, त्यति बेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिएन,अभिनेता राई बताउँछन्,'संयोग बस यति बेला यो फिल्म बन्यो, र मैले यसमा काम गर्न पाएँ।' 

यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी वजन घटाएका थिए। दया विश्व बजार पुगेको यस किसिमको फिल्मलाई नेपाली दर्शकले हेरिदिनुपर्ने बताउँछन्। 'विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउने फिल्मकर्मीलाई ऊर्जा मिल्छ,' दयाले भने।

फिल्ममा दयासँगै जोडी बाँधेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई आफूले सिक्न पाएको बताइन्। बाल(कलाकारको अभिनयमा देखिएका प्रसूनले भने 'गाउँ आएको बाटो' मा काम गर्दा निकै रमाइलो भएको बताए। अभिनेता दयाहाङ छायाङ्कन ताका प्रसूनले आफूलाई चुनौती दिने किसिमको अभिनय गरेको पनि बताए।

अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन्। सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैँ नेपाली दर्शकले पनि मनपराइदिनेमा आशावादी छन्, निर्माता राई। 'यो फिल्म विश्वका प्रमुख फेस्टिभल घुमेर आफ्नै गाउँ फर्किएको छ। जसरी विश्वका दर्शकले यो फिल्मलाई राम्रो छ भनेर विश्वास गरिदिनुभयो, मन पराइदिनुभयो। त्यसरी नै घरेलु दर्शकले पनि मन पराइदिनुहुनेछ भन्ने आशावादी छौं,' निर्माता राईले बताए।

सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन्। फिल्ममा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ।

प्रकाशित: ११ जेष्ठ २०८१ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App