१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खोटाङ-हलेसी महोत्सवमा कवि किराती सम्मानित

कवितामा सुनसरीका किरण शिवा प्रथम

साहित्यकार जसराज किरातीलाई सम्मान गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई। तस्बिर: नागरिक

खोटाङमा चार दिनयता ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१’ जारी छ। महोत्सवको कविता विधातर्फ बिहीबार सम्पन्न खुला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण शिवा प्रथम भए। विभिन्न जिल्लाका १५ स्पर्धीलाई उछिन्दै शिवा प्रथम भएर ४० हजार नगदसहित ट्रफीको हकदार भएका छन्।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङद्वारा आयोजित प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा सम्पन्न प्रतियोगितामा शिवाले ‘बिर्खे दमाईंको आवाज’ शीर्षकको कविता वाचन गरेका थिए। ‘बाध्यता कि रहर’ शीर्षकको कविता वाचन गर्ने भोजपुरका सङ्ग्राम किराती दोस्रो हुँदै २५ हजार नगद र प्रमाणपत्र पायो। उदयपुरका जीवन चामलिङ राईले ‘भरिया दाइ’ शीर्षकको कवितामार्फत तेस्रो स्थान पाए। सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो हुँदा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविता पाँचौं भएको छ।

तेस्रो, चौथो र पाँचौं हुने कविलाई क्रमशः १७ हजार, ११ हजार र सात हजार नगद पुरस्कारका प्रमाणपत्र प्रदान गरिएको छ। विजयी कविहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रूपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरप्रमुख विमला राई र वरिष्ठ कवि तथा साहित्यकार जसराज किरातीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

हलेसीको होटल जाम्बालामा सम्पन्न प्रतियोगितामा विजयी कविबाहेक धनकुटाका अनिल अदृश्यको ‘इन्द्रेणीको अनुहार’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’ शीर्षकका कविताहरू पनि स्पर्धामा थिए।

खोटाङका ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’ र ‘प्यासीको मेरो देश’, रमिला राईको ‘मिति गएपछि’, मौसम आचार्यको ‘सांस्कृतिकको समाधि’, सोनाम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को ‘नेपालीपन’ गरी १६ कविता अन्तिम छनोटमा परेका थिए। १४ कविले वाचन गर्दा पाँच कविता उत्कृष्टमा परेका थिए।

साहित्यकार रामविक्रम थापा संयोजक रहेकाे निर्णायक मण्डलमा खाेटाङका वेदीकुमार राई र भाेजपुरकी कविता राई रहेका थिए।

वैशाख ३१ देखि जेठ १० गतेसम्म ११ दिन सञ्चालन हुने महोत्सवको उद्घाटन सोमबार खेलकुद विधातर्फ एथ्लेटिक्समा खुला महिला/पुरुष हाफ म्याराथन स्पर्धा गराइएको थियो। एथ्लेटिक्सतर्फ आठ विधामा प्रतिस्पर्धा गराइएकोमा महिलातर्फ नेपाल प्रहरीकी राममाया बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उपाधि चुमे। विजेता राई र बुढालाई जनही नगद ७५ हजार रूपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

महोत्सव उद्घाटनका क्रममा जिल्लामा लामो समयदेखिका सर्जक वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती नगदसहित सम्मानित भएका छन्। पाँच दशकदेखि निरन्तर कला साहित्यमा लाग्दै आएका किरातीको अमूल्य योगदानको कदर गर्दै ११ हजार एक सय ११ रूपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो। साहित्यका माध्यमबाट समाज रूपान्तरणमा अतुलनीय योगदान गरेको भन्दै कदरस्वरूप नगदसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो।

प्रकाशित: ४ जेष्ठ २०८१ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App