बिहान झिसमिसेमा नै खत्री बा छोराछोरीलाई उठाउनुभयो। छोराछोरी आँखा मिच्दै उठेर नित्यकर्म सक्दासम्म उज्यालो भयो।
’ल आफ्नो आफ्नो पुस्तक समातेर पढ्न बस।’ उहाँले भन्नुभयो।
खत्रीबा बिहानको मेलामा निस्कनुभयो।
छिमेकी उर्मिलाले भनिन्, ‘खत्री बा आफू नपढे पनि छोराछोरीको पढाइमा कति सचेत हुनुहुन्छ।’
‘हो त बिहानको शान्त वातावरणमा पढेको धेरै राम्रो हुन्छ नि।’ राकेशले पनि श्रीमतीको कुरामा सहमत जनाए।
उनीहरू बिहानको खाना खाएर एक घण्टा परको शहरमा जागिर खान हतारिंदै निस्कदैं थिए। एक बिहानको मेलो सकेर खत्री बा आइपुग्नुभयो।
राकेशले भने, ‘खत्री बाका छोराछोरी साह्रै ज्ञानी छ्न्। बिहानै उठाएर पढ्न बसाल्नुहुन्छ। बिहान पढेको धेरै राम्रो हुन्छ।’
‘खोई पढाइको कुरा त म के बुझूँ। बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी। बिजुलीको पैसा कम चढ्छ।’ खत्री बाले आफूले बुझेको कुरा भन्नुभयो।
प्रकाशित: ३ वैशाख २०८१ १२:५५ सोमबार