१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हरेक दिन नयाँ वर्ष

समय

वैशाख १ मा प्रत्येक वर्ष पात्रो फेरिन्छ। सांस्कृतिक विविधतासँगै हाम्रोजस्तो समाजमा पटक पटक पात्रो फेरिन्छ। कतै वैशाखी भनेर त कतै कुनै नाममा यस दिनमा नयाँ वर्ष सुरु हुन्छ।  

नाम जे दिए पनि नयाँ वर्ष भन्नु नयाँ सुरुआत नै हो। नयाँ वर्षको थालनीसँगै हामीले एकअर्कालाई सुखद वर्षको शुभकामना दिन्छौं। नयाँ वर्ष भन्नु नै उत्साहको समय हो। हिजोसम्मका अप्ठ्यारापछि फेरि सहज दिनको परिकल्पना पनि हो।

मानिसको जीवनमा रातपछि आउँदो बिहानीजस्तै हो– नयाँ वर्ष। एक वर्ष सकिएर अर्को वर्षको थालनी पनि यस्तै हो। त्यसैले बुद्धिमान् मानिसले हरेक दिन नै नयाँ वर्षका जस्तो उत्साहमा मनाउँछन्। तीन सय ६४ दिन दुःखद र बल्ल एक दिन मात्र सुखद हुन सक्दैन। जीवनलाई बुझ्ने हो भने प्रत्येक बिहान जीवनको नयाँ वर्ष हो।

अधिकांशले नयाँ वर्षका लागि अघिल्लो वर्षको समीक्षाका आधारमा कार्ययोजना बनाउँछन्। नयाँ वर्षको सार्थकता त्यतिबेला हुन्छ जतिबेला हामीले हिजोभन्दा आज व्यवहार सुधार गर्छौं। के सरकारी कार्यालयमा कर्मचारीको कार्यशैली फेरिएला? के वैदेशिक रोजगारीमा जाने युवाको लाइन छोटो हुँदै जाला? के नयाँ वर्षबाट मानिसहरू अनुशासित बन्दै जालान्? आफूले गरेको गल्तीको प्रायश्चित गरी नयाँवर्षबाट त्यसलाई सुधार गर्ने अठोट राख्लान्? घरभित्रको झगडा कम गर्न आफ्नो बानी सुधार्लान्? के सामाजिक सञ्जालमा पक्ष विपक्षमा लेखिने घृणा, इष्र्या, गालीगलौजको भाषा अलि सभ्य र सुसंस्कृत बन्दै जाला?

यी यस्ता थुप्रै प्रश्न सबैको मनमा पक्कै आएका होलान्। नयाँ वर्षले नवीनतम उमंग दिएजस्तै यी व्यवहार परिवर्तन हुनै पर्छ। त्यसैले नयाँ वर्षबाट नयाँ कामको सुरुवात गर्ने जोसजाँगर प्रायः मानिसमा हुन्छ। नयाँ कामको सुरुवात गर्न नयाँ वर्ष कुर्नुपर्दैन। नवीन थालनीका निम्ति काम जहिल्यै सुरु गरे हुन्छ। त्यसका निम्ति नयाँ वर्ष कुर्नैपर्दैन। तैपनि यो दिनबाट नयाँ प्रतिबद्धता धेरैले गर्छन्।

‘कामको सुरुवात नयाँ वर्षबाट नभएर दिनबाट सुरु गर्नुपर्छ’, काठमाडौंको ठमेलस्थित लाइफ्स गुड टुर्स एन्ड ट्रेक्सका प्रबन्ध निर्देशक उत्तम धमला भन्छन्, ‘विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणासहित हरेक दिनको कार्यविधि बनाएर अघि बढ्न सकिन्छ।’

उनले भने, ‘साल परिवर्तन हुन्छ। मानिसको सोचमा नयाँ उमंगका साथै जीवनमा परिवर्तन ल्याउन गाह्रो हुन्छ। जे कुराको परिवर्तन गर्न चाहेको हो, त्यो हरेक दिनको बिहानीबाट सुरुवात गर्न आवश्यक छ। एउटा परीक्षार्थी परीक्षामा सहभागी हुनलाई ऊ विद्यालय भर्ना भएदेखि नै परीक्षाको लागि तयार हुनुपर्छ। परीक्षाको अघिल्लो दिन पढेर होइन, सुरुवाती चरणबाटै आफूलाई अब्बल राख्न जरुरी छ। त्यसैले प्रत्येक दिन नयाँ वर्षको सोच राखेर अघि बढ्न आवश्यक छ।’

बितेको समयसँग बुद्धिमानले चिन्ता गर्दैनन्। त्यसबाट सिकेर नयाँ समयलाई उर्बर बनाउन लाग्छन्। त्यसैले आफ्नो उन्नति चाहने व्यक्तिले त्यसरी नै निर्णय गर्दै अगाडि बढ्नु उचित हुन्छ। नयाँ वर्षसँगै आफ्ना सोच र कार्यव्यवहारमा परिवर्तन गर्दै जान तत्पर हुनुपर्छ। त्यसका निम्ति नयाँ वर्ष नै कुर्नु पर्दैन। हरेक दिन यस्तो अभ्यास गर्दै गएपछि नयाँ वर्ष आउँदा नआउँदै हामी धेरै सुध्रिसकेका हुन्छौं।

निर्देशक धमलाका अनुसार नकारात्मक सोचलाई भोलिबाट परिवर्तन गर्छु भनेर मात्र पुग्दैन। आजैबाट सुध्रिनुपर्छ। ‘भोलि भनेको उधारो हो भने आज भनेको नगद हो’, उनले भने, ‘आजको समस्या आजै समाधान गर्नु सफलता हो। भोलिलाई राख्दा समस्याले विकराल रूप लिइसक्छ। भोलिवाद बर्बादी हो।’

हरेक दिनलाई नयाँ वर्ष मनाउन सकिन्छ। ‘घरायसी काममा श्रीमतीलाई सहयोग गर्न नयाँ वर्ष पर्खिनुपर्दैन,’ धमला भन्छन्, ‘आफैलाई खुसी लाग्नुपर्छ, अरूलाई सहयोग गर्दा। मैले घरमा भाँडा माझ्नु नराम्रो होइन। त्यो साथ, सहयोग र महिलालाई गर्ने इज्जत र सम्मान हो। हरेक दिन परिवारमा दिइने खुसी नै नयाँ वर्ष हो।’

नयाँ वर्षको खुसीयाली त्यतिबेला मात्र सार्थक हुन्छ जब हिजो गरेका गल्ती आज दोहोरिन छाड्छन्। अरूको मन दुखाएर क्षमा माग्नुभन्दा आफूले आफैलाई यस्तो काम नगर्न अभ्यास गर्ने अभ्यास नै नयाँ वर्षमा गरिने व्यावहारिक पक्ष हो।

नयाँ वर्षको सुरुवातसँगै नराम्रा बानीव्यहोरा त्याग्ने हो। आफूलाई जीवनमा काम लाग्ने मानिस चिन्ने हो। सकारात्मक सोचको विकास गर्ने हो। त्यसले जीवन र जगत्लाई बुझ्न मद्दत गर्छ।

हरेक बिहानी नै राम्रो बनाएपछि थप राम्रो हुन नयाँ वर्ष कुर्नै पर्दैन। राम्रो गर्ने विश्वास बोकेर प्रत्येक दिन नयाँ वर्ष मनाउन सकिन्छ। आम मानिसमा नयाँ वर्ष भन्नासाथ खुसी र उमंग सञ्चार हुन थाल्छ। उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ।

नयाँ वर्ष मनाउने सबैको आआफ्नै तरिका भए पनि अबको दिनमा नयाँ वर्ष प्रत्येक बिहानीबाटै सुरु गरौं। जसका कारण हरेक दिन नयाँ वर्षजस्तै नयाँ उत्साह, उमंग, जोस, जाँगर, शक्ति र सहयोग भावना हुनुपर्छ। मानव वा कुनै पनि संघसस्थाले गरेका वर्षभरिका कामको समीक्षा हो नयाँ वर्ष। नयाँ वर्षलाई मध्यनजर गर्दा वैशाख एक विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गर्नुपर्छ।

विक्रम संवत् मान्ने स्थानहरूमा वैशाख १ गतेका दिनमा प्रचलित परम्पराअनुसार विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिनेदिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, विभिन्न कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मिठामिठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ।

एक वर्ष पूरा भएर नयाँ वर्ष २०८१ को थालनी भएको समयलाई मध्यनजर गरेर आफ्नो कार्यविधिको योजना बुनेका ओखलढुंगास्थित उच्च अदालतका रजिस्ट्रार विष्णु पाण्डे पनि हुन्। उनले पनि नयाँ वर्षको सुरुवाती चरणबाट आफ्नो कार्यभारलाई बढाएको बताए।

‘पुरानो वर्षको समीक्षालाई नियालेर नयाँवर्षमा नयाँ कार्ययोजना बनाएको छु,’ उनले भने, ‘यो नयाँ वर्षलाई मैले व्यक्तिगत र सार्वजनिक गरी दुई किसिमले लिएको छु। व्यक्तिगत जीवनमा लेखन, अध्ययनलाई बढाएर यो वर्ष मनाउने कार्यतालिका छ। त्यस्तै सार्वजनिक जीवनमा प्रशासनिक कार्यलाई उच्चता दिने हो।’

‘२१औं शताब्दीको कर्मचारीतन्त्र १८औं शताब्दीको मूल्यमान्यताबाट अघि बढ्न सक्दैन्’, उनले भने, ‘अबको कर्मचारीतन्त्र भनेको सेवाग्राहीमुखी हुनुपर्छ। सेवाग्राहीहरू सेवा पाऊँ भनेर राज्यको दैलोमा आउने होइन, राज्य जनताको दैलोमा सेवाप्रवाह गर्न जानुपर्छ। यो मान्यताबाट अब नयाँ सार्वजनिक प्रशासन अगाडि बढ्नुपर्छ। २०८१ सालको सार्वजनिक प्रशासन यस्तो हुनु जरुरी छ भन्ने मान्यता हो।’

पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनेसँगै हरेक दिन प्रशासनिक कामलाई सरल बनाएर जानुपर्ने उनले बताए।

हाम्रो छिमेकी देश भारतमा स्थानैपिच्छे नयाँ वर्ष मनाउने तरिका फरक फरक रहेको पाइन्छ। पश्चिम बंगालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाचगान र हाँसखेल गरिन्छ। अर्को छिमेकी देश चीनमा नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको सुरुवातसँगै सुरु हुन्छ।

त्यो दिन आकाशमा नयाँ चन्द्रमा हुन्छ, जुन १४ दिनपछि लालटिन पर्वसँगै अन्त्य हुन्छ। त्यस्तै इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्छन्। त्यस दिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन्। यसरी आफ्नो देशअनुसारको रीतिरिवाज मनाउने गरेका छन्।

अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गर्ने चलनको विकास भयो, त्यहींबाट नयाँ वर्ष मनाउने गरिएको मान्यता छ। नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन्।

नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ। यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुराना कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृतिलाई पछ्याएका छन्।

नयाँ वर्षको सुरुवातसँगै उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ। बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तुपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ। त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन्।

नेपालमा नयाँ वर्ष सुरु भएको अवसरमा आफन्त, साथीभाइ र इष्टमित्रहरूलाई एकअर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ। विश्वका कतिपय देशहरूमा जनवरी १ तारिखदेखि नव वर्ष आआफ्नै किसिमले मनाउने परम्परा रहेको छ। कतिपय देशमा भने जनवरी १ मा नभई देशको पात्रोअनुसार नयाँ वर्ष मनाइन्छ।

हाम्रो मुलुक भने विविधताका कारण भाग्यमानी छ। यहाँ वर्षभरिमा अनेकन् नयाँ वर्ष आइरहन्छन्। यसकारण पनि आफूमा परिवर्तनका निम्ति नयाँ वर्षको दिन कुर्नै पर्दैन। प्रत्येक दिन विशेष दिन हो। नयाँ वर्ष २०८१ को शुभकामना! 

प्रकाशित: १ वैशाख २०८१ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App