१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तीन सर्जकका निबन्ध विधाका तीन कृति लोकार्पण

वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःकाे ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकाे ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरू’ निबन्धसङ्ग्रह र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित ३ साहित्यिक कृति एकसाथ लोकर्पण गरिएको छ।

 भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गरेका हुन्। कृति लोकार्पण गर्दै पूर्वकुलपति काइँलाले तीनै सर्जकको कृतिले नेपाली वाङमय क्षेत्रमा महत्त्वपूर्ण योगदान राख्ने बताए।

‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः ले लेखन र जीवनको अर्थबाेधबारे प्रकाश पारेका थिए।

त्यस्तै ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरू’ निबन्धसङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले अब आफू निरन्तर लेखनमा सक्रिय हुने र चाँडै आफ्नो जेल जीवनको संस्मरण तयार गर्ने बताए।

‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः को जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको बताए।

कार्यक्रममा तेजेश्वरबाबु ग्वंगः काे ‘संस्कृतिका आयाम’ (निबन्धसङ्ग्रह) को प्राडा कुमार कोइराला, गंगाप्रसाद उप्रेतीकाे ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरू’ निबन्धसङ्ग्रहको डा. गीता त्रिपाठी र जितेन्द्र रसिककाे ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) को समीक्षक तथा साहित्यकार गोपीकृष्ण ढुंगाना र प्राडा कुमार कोइरालाले चर्चा गरेका थिए।

शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशनका क्षेत्रमा यी तीन कृति प्रकाशन गरी पुनः शमी साहित्य प्रतिष्ठानका माध्यमबाट सक्रिय भएर नेपाली वाङमयमा योगदान दिन सक्रिय हुँदै अगाडि बढ्ने बताए।

प्रतिष्ठानले नियमित प्रदान गर्दै आएको ‘शमी साहित्य साधना सम्मान’ लगायतका सम्मान तथा पुरस्कार पनि चाँडै घोषणा हुने पनि शर्माले बताए।

‘संस्कृतिविद ग्वंगः को संस्कृतिका आयाम-२०५२ (पहिलो संस्करण) संस्कृतिया पलं (नेपाल संवत १११०), अवकाशपछिको आकाश-२०६७, चराको गुँडझैँ जन्मस्थल (मेरो भक्तपुर-कवितासङ्ग्रह २०७३), औकातभरिको सौगात (निबन्धसङ्ग्रह, २०७३) , रङ्ग अभिज्ञान (निबन्धसङ्ग्रह,२०७४ं) प्रकाशित छन्। उनले ९ दशकको उमेरमा पनि संस्कृति र साहित्यको क्षेत्रमा अनवरत रूपमा योगदान पुरयाएका छन्।

त्यस्तै ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरू’ गंगाप्रसाद उप्रेतीको १७ औं कृति हो। उनको स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४) दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६) ( व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ २००७) बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, इ।२००८)  (तिब्बतमा दस दिन (नियात्रा, २०६४), नामको खोल (निबन्ध, २०६४), भाषा र संस्कृति (लेखसङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी फूलहरू (संस्मरण, २०६९) समालोचना विविध (समालोचनासङ्ग्रह,२०७१), चक्रव्यूह (कवितासङ्ग्रह, २०७३), घुम्दै फिर्दै अमेरिकामा (नियात्रा, २०७७), स्मृतिमा तरङ्गित विम्बहरू (संस्मरण,२०७७), स्मृति-बिम्ब (संस्मरणसङ्ग्रह, २०७९) र एन इम्पेनेट्रबल फाेर्टिफिकेशन पाेइट्री कलेक्शन ट्रान्सलेटिड इन्टु इंगलिस,२०२३) कृति प्रकाशित छन्। उनी दुई कार्यकाल नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति पदमा रहेर नेपाली भाषा र वाङमयको क्षेत्रमा योगदान दिएका छन्।

युगको तेज लेखक जितेन्द्र रसिकको साेह्राैं कृति हो। उनका हृदयस्पर्शी छालहरू (गजलसङ्ग्रह, २०६३), तारापुञ्ज (फाँचलसङ्ग्रह, २०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह, २०७२), काफिया (गजलसङ्ग्रह,२०७३), लज्जावती (उपन्यास, २०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथासङ्ग्रह, २०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली, २०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी, २०७६), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक, गुलेली (बालकथासङ्ग्रह, २०७७), हनुमानको करामत (बालचित्रकथा २०७८),‘गजल ऐ महफिल’ (संयुक्त गजलसङ्ग्रह, २०७९), सत्यको खोज (वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी,२०८०) प्रकाशित छन् भने करिब एक दर्जन गीत गजल रेकर्ड भइसकेका छन्।

तीनैवटा कृतिको मूल्य क्रमश ४९५/-, ३९५/- ५५०/- रूपैयाँ रहेको छ। संस्कृतिका आयामको आवरण तश्विर रामगोपाल तमखु, र लेआउट रश्मि खागी र भोला महर्जनको रहेको छ भने  भिन्नभिन्न ताल र सुरका झङ्कारहरू र युगको तेजको आवरण तथा लेआउट पनि भोला महर्जनकै रहेको छ। कृतिहरू शमि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका हुन्।

प्रकाशित: १ वैशाख २०८१ १०:१८ शनिबार

अक्षर