फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा झुन्ड्याउनु छ
फेरि एकचोटि
सँगी–साथीहरूको सूची बनाउनु छ
फेरि एकचोटि भयानक बमहरू बोकेर
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको
शुभकामना–पत्र।
२०२६ सालमै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृतिका निम्ति ‘साझा पुरस्कार’ पाएका कवि भूपि शेरचनको ‘नयाँ वर्ष’ शीर्षकको यो कविता आज पनि उत्तिकै सान्दर्भिक लाग्छ। आज पनि रुस–युक्रेन, इजरायल–प्यालेस्टाइनबीच युद्ध चलिरहेको छ। २०८० साललाई बिदा गर्दै नयाँ वर्ष २०८१ को स्वागत गरिरहेको यो क्षण पनि उस्तै छ। यतिबेला केवल कामना गर्नु छ- आउँदो वर्ष विगतजस्तो नहोस्।
प्रायः हामी शून्य साललाई उति साह्रो शुभ लक्षणकारी मान्दैनौं। त्यसैले २०८१ साल लाग्दा नलाग्दै हामी फेरि आशावादी हुन पुगेका छौं। अनेकन् असफलताको सामना गर्नुपरे पनि नयाँ वर्ष त्यस्तो नहोस् भन्ने भावना हामी सबैमा यतिबेला उठिरहेको छ। हाम्रा अनेकन् अपेक्षा छन्।
पहिलो, सरकार राम्ररी चलोस्। बितेको वर्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा रहे। गत वर्ष फागुनयता तीनपटक सरकार परिवर्तन भएका छन् तर नेतृत्व भने उनकै छ। यस हिसाबले सरकार प्रमुख स्थिर रहे पनि समग्र मन्त्रिपरिषद् अस्थिर रह्यो। सरकार फेरिनुको अर्थ त्यो कामकाजी होस् भन्ने आम अपेक्षा छ।
दोस्रो, न्यायालय मुलुकको लोकतन्त्र जोगाउन सक्षम होस्। धेरैलाई न्यायालयलाई स्वतन्त्र हुन दिइएन भन्ने लागेको छ। न्यायालयमा राजनीतिको छाया नपरोस् र यसले अन्य सबै अंगलाई सच्याउन सक्ने गरी आदेश दिने अवस्थामा पुगोस् भन्ने अपेक्षा छ।
तेस्रो, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुसार चलेको पनि एक दशक पुग्न लागिसकेको छ। तर संसदीय अभ्यास उति साह्रो आशालाग्दो हुन सकेको छैन।
संसद्मा हुने छलफलले राष्ट्रिय अपेक्षालाई बोक्न सकेको छैन। आम नागरिकमा यसले प्रमुख नेताको कठपुतली हुन छाडेर निर्भीक भई काम गर्न सकोस् भन्ने छ।
चौथो, नागरिक समाजको जीवन्तता कायम रहोस्। नेपाल अहिले पनि दक्षिण एसियाको सबैभन्दा स्वतन्त्र मुलुक हो। कतै पनि हामीकहाँ जस्तो जीवन्त नागरिक समाज छैन। लोकतान्त्रिक शासन व्यवस्था भएकै मुलुकमा प्रेसले लेख्न सक्दैन र नागरिक समाजले बोल्न नसक्ने अवस्था छ। यस हिसाबले पनि हाम्रो मुलुकको सक्रिय नागरिक समाज आउने वर्षमा अझ सक्रिय हुन सकोस्।
अबको नौ वर्षपछि यो मुलुक नब्बेको दशकमा प्रवेश गर्छ। १९९० सालको भूकम्पको वर्षमा जन्मेका व्यक्ति त्यतिबेला शतायुका हुनेछन्। यसको अर्थ एउटा शताब्दी सकिन अब २० वर्ष मात्र बाँकी छ। यो भनेको यस वर्ष जन्मेका व्यक्तिहरूको शताब्दी हुनेछ।
संसार सूचना प्रविधिको चरम विकासका कारण उन्नत अवस्थामा पुग्दैछ। यसअघि कहिल्यै परिकल्पना नगरिएका विषयमा संसार प्रवेश गर्दैछ। कृत्रिम बौद्धिकता (एआई) ले यो अंग्रेजी वर्ष २०२४ लाई छपक्कै छोपेको छ। यसै वर्ष हुने यस क्षेत्रका विकासले अकल्पनीय विकासतर्फ लैजाने अनुमान यतिबेला भइरहेको छ।
अंग्रेजीभन्दा ५७ वर्ष जेठो हो, यो नेपाली संवत्। यसकारण यो वर्षको अन्त्यसम्ममा सूचना प्रविधिको क्षेत्रमा संसारले हासिल गर्ने उपलब्धिबाट नेपाल पनि अछुतो हुनेछैन। नेपालको हावापानी, यहाँका मेहनती मानिस र स्रोतसाधनका हिसाबले सूचना प्रविधि क्षेत्रमा सक्रिय भई व्यापक परिवर्तन गर्न सकिन्छ।
नेपालले विद्युत् विकास गरी बिक्री गर्ने लक्ष्य राखेको छ। यो वर्ष ठुला आयोजनाहरू ल्याउने तयारीमा सरकार छ। सूचना प्रविधिको क्षेत्रमा सक्रिय हुने हो भने विद्युत् खपत व्यापक गर्न सकिन्छ। त्यसका लागि बाहिर बजार खोज्नैपर्दैन। नेपाल आफैंले ठुल्ठुला डाटा सेन्टरहरू बनाएर संसारलाई तिनका निम्ति सुरक्षित ठाउँ दिन सक्छ। त्यसका निम्ति चाहिने ऊर्जालाई अनवरत रूपले प्रयोगमा ल्याउन सकिन्छ।
नेपालीले संसारमा गएर आफ्नो श्रम बेचिरहेका छन्। दक्ष, अर्धदक्षदेखि अदक्षसम्मले काम पाइरहेका छन्। देशभित्रै करेसाबारी बाँझा भइरहेका छन्। तरकारी र फलफूल विदेशबाटै ल्याएर खानुपरेको छ। ‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।
पाहुनाको स्वागत गर्न सधैं तत्पर नेपाल सबैखाले विचारका निम्ति उपयुक्त भूमि हो। दक्षिण एसियाकै स्वतन्त्र भूमि भएकाले नेपाललाई संसारभरिका निम्ति बैठक र छलफलको केन्द्र बनाउन सकिन्छ। यसो भयो भने ठुल्ठुला बैठक कक्षको प्रयोग गर्न सकिन्छ। आपसी मेलमिलाप नभएका देशहरूलाई समेत यहाँबाट वार्ता गराउन सकिन्छ। यस्तो स्वतन्त्र ठाउँमा आएर छलफल गर्ने गरी देशलाई विकास गर्न हामी तत्पर हुन सक्छौं।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको भूभौगोलिक अवस्था हो। भारत र चीनजस्ता दुई ठुला मानव सागरका बीचमा रहेको नेपालका निम्ति वस्तु र सेवा बेच्ने असीमित अवसर छ। वास्तवमा नेपालीले यहाँबाट काम खोज्न कतै जानुपर्दैन, यही बसीबसी यी दुई मुलुकलाई हामी वस्तु र सेवा दिन सक्छौं। त्यसका निम्ति हाम्रो राजनीतिक नेतृत्वलाई नेतृत्वकारी प्रेरणा यो वर्षले दिन सक्छ। हामीलाई कुनै एकतिर लाग्नैपर्दैन। दुवैका बीचमा बसेर खुरुखुरु पैसा कमाउनतिर लाग्ने हो कि?
नयाँ वर्षको सुरुमै देशले लगानी सम्मेलन आयोजना गर्दैछ। नेपालको मिलनसार व्यक्तित्व, प्रीतिकर हावापानी र अनुपम उपस्थितिलाई उपयोग गर्न संसारलाई आकर्षित गर्ने क्षमता विकास गर्नुपर्ने भइसकेको छ। यसले मात्र हामीले खोजेजस्तो काम यहाँ स्थापना गर्न सकिन्छ। संसारले प्रत्येक क्षण समृद्धि यात्रामा आफूलाई लगाइरहेका बेला नेपाल मात्र किन पछि पर्ने?
हाम्रो राजनीतिले सही बाटा लिने हो भने, देशलाई असल नेतृत्व दिन सक्ने हो भने समृद्धि धेरै टाढा छैन। बालुवा मात्र भएका मुलुकले आफूलाई कहाँबाट कहाँ पुर्याइसके। हामीलाई प्रगति गर्न स्रोतसाधनको कमी छैन। संसारको सद्भाव हामीसँग छ। संसारले नेपाललाई सुन्दरता, मिलनसार बासिन्दा र प्रकृतिको अनुपम संगमका रूपमा चिन्छन्।
बेला आएको छ, फेरिफेरि भूपिकै कविता पढेर देश यस्तै हो भन्ने सोच्नु नपरोस्। आगामी दिनबाट उत्साह, उमंग र आशाको सन्देश प्रवाह गर्ने समय आओस्।
प्रकाशित: १ वैशाख २०८१ ०५:५९ शनिबार