३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!

नयाँ वर्ष विशेष सात मुक्तक

१) मुक्तक

निःशुल्क पढ्न र उपचार पाई मर्न पाएदेखि,

आङमा भोटो र पेटभरि अन्‍न भर्न पाएदेखि।

अझ सार्थक हुन्थ्यो हजुर नयाँ वर्ष नेपालमा,

मिचिएका सिमाहरू सबै फिर्ता गर्न पाएदेखि।

२) मुक्तक

सडकमा साधनहरूको जाम हटोस्,

अफिसमा सेवाग्राहीको लाम हटोस्।

भड्किला भए चाडबाड संस्कारहरू,

तडकभडक छलछामका काम हटोस्।

३) मुक्तक

अन्धविश्वास, कुविचारको चीरहरण होस्,

गरीबी,अशिक्षा, कुरीतिको अपहरण होस्।

विकास र प्रगतिको मूल जताततै फुटाऊँ,

सबै गाउँ बस्तीहरूको शहरीकरण होस्।

४) मुक्तक

महँगी ओरालो लागी दिए हुन्थ्यो,

युवाले विदेश त्यागी दिए हुन्थ्यो।

विधि, प्रविधिले सगरमाथा चुमोस्,

सत्तामोह सबै भागी दिए हुन्थ्यो।

५) मुक्तक

शहीद अब कोही बन्नु नपरोस्,

कसैलाई खराब भन्नु नपरोस्।

राष्ट्र र राष्ट्रियता सोधे कसैले,

नेपाल भन्नलाई कन्नु नपरोस्।

६) मुक्तक

मनमा अनेक विचार आउँछ विमर्श आउँछ,

आशा लाग्छ विस्मत होइन अब हर्ष आउँछ।

हात्ती र हात्तीछाप उस्तै भन्ने विज्ञापन जस्तो,

मात्र एउटा नयाँ पात्रो लिई नयाँ वर्ष आउँछ।

७) मुक्तक

सोच उहीँ नहोस् मति, गति फेरियोस्

नियत बदलियोस्, नियति फेरियोस्।

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,

पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।

प्रकाशित: ३० चैत्र २०८० १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App