८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

बराह क्षेत्रको दीर्घकालीन विकास आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी बराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

चतरामा मंगलबारदेखि सुरु भएको महाकुम्भ मेला उद्घाटन गर्दै तीनै तहका सरकारले बराह क्षेत्रको विकास गर्न वार्षिक नीति तथा कार्यक्रममा समेटेर आकर्षक धार्मिक तथा पर्यटकीय स्थलको रूपमा द्रुत गतिमा विकास गर्नुपर्ने राष्ट्रपतिले बताए।

‘बराह क्षेत्रलाई दु्रत विकास गरेर आकर्षक धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गरेमा मुलुकको समृद्धिमा योगदान पुग्ने छ,’ उनले भने, ‘कुम्भ मेलाले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य रूपमा विकास गर्न सघाउँ पुर्‍याउने छ।’

उनले दिगो विकास र मुलुकको समृद्धिका लागि सबैको एउटै मन्त्र हुनुपर्नेमा जोड दिए। उनले कुम्भ मेलाले सबै जातजाति, धर्म, सम्प्रदाय र भाषाभाषीबीच  सद्भाव कायम हुने पनि विश्वास गरे।

‘धर्मको अर्थ नै विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना हो,’ पौडेलले भने, ‘कुम्भ मेलामा स्थानसँगै विभिन्न देशका भक्तजन भेला भएर गरिने विदत् सम्मेलन, सामूहिक ब्रतबन्ध र साहित्यिक गतिविधिले सामाजिक उन्नतिमा समेत भूमिका खेल्ने छ।’

मेलाले जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कलहको समेत समाधानमा योगदान पुग्ने पौडेलले विश्वास व्यक्त गरे।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भ मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाएको बताए। उनले धार्मिक मेलामार्फत जनताको आर्थिक र सांस्कृतिक गतिविधिमार्फत नेपाललाई नयाँ बाटोमा डो¥याउने बताए।

सो अवसरमा कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ नेपालको गौरवसँग जोडिने बताए। उनले कुम्भलाई धर्मसँग नभएर नेपाली जनता र देशसँग जोडेर हेर्नुपर्ने बताए।

महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ। भक्तजनका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले निःशुल्क रूपमा व्यवस्था गर्ने भएका छन्। कुम्भमा आउने भक्तजन बिरामी पर्दा उपचारको व्यवस्था गरिएको छ।

कुम्भमा नेपालसहित विश्वका अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने दाबी गरिएको छ। अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भ मेला लाग्ने गरेको छ।

धार्मिक मान्यताअनुसार समुन्द्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यबीच भएको लुछाचुँडीको क्रममा जहाँजहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्छ। चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ।

पहिलोपटक २०५९ सालको चैत शुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो।

यस्तै, चतराधाममा २०६४ मा दोस्रो कुम्भ, २०७० तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२-१२ वर्षमा महाकुम्भ मेला र ६-६ वर्षमा अर्ध कुम्भ मेला लाग्ने गर्छ।  

 

 

प्रकाशित: २८ चैत्र २०८० ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App