२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

साहित्यकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ।

आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी  ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन्। “क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैंले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ।”

नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँठाउँमा आख्यान पढिरहेझैं लाग्ने भनाइ राखिन्। सङ्ग्रहमा ७ खण्डमा ३७ निबन्ध सङ्गृहीत छन्।

निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिंदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन्। “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ।” निबन्धकार अधिकारीले भनिन्, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन।”

निबन्धसङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनको भनाइ थियो। आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमूक’ पात्रलाई निबन्धसङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन्। पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन्। यसअघि उनका १ दर्जन जति समालोचनाका कृति प्रकाशित छन्।

कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा. ईश्वरमणि अधिकारी, हिममाया पौडेल लगायतले टिप्पणी गरेका थिए। सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन्। सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ।

विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०८० १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App