माहुरीले फूलहरूलाई चुमिरहेझैं यतिबेला मानिसहरूले वसन्त ऋतुको उमङ्गलाई पच्छ्याइरहेका छन्। हरियाली तथा फूल मन नपर्ने मानिस सायद बिरलै होलान्। यो समय चारैतिर हरियाली छ। हिउँदमा सुकेका बिरुवा फूलैफूलले सजिएका छन्। सुन्दर प्राकृतिक दृश्य देखिनु नै यस ऋतुको सुन्दर पक्ष हो। वसन्त ऋतुहरूको राजा हो।
दुःखपछि आएको सुखझैं शिशिरको उराठपछि मन नै फुरुङ्ग पार्ने वसन्त प्रकृतिको सुन्दर उपहार हो। खुलेको आकाशसँगै फूलहरूको बगैंचामा मानिस रमाइरहेका हुन्छन्। वसन्त आएसँगै यतिबेला मानिसहरूको सोचविचार पनि फेरिइरहेका हुन्छन्।
वसन्तको सुरुवातमा प्रत्येक ठाउँ रमाइला देखिन थालेका छन्। रमाइलोले मानिसलाई आनन्दित तुल्याउन थालेको छ। चारैतिर देखिएको हरियालीले मनलाई रोमाञ्चक बनाउँछ। यतिबेला गाउँका बगैंचा मात्रै हरिया छैनन्, सहरहरू पनि उस्तै छन्। बाटो छेउ, पार्क, जंगल जताततै हरियालीसँगै नयाँ रंगीबिरंगी फूल फुलिरहेका छन्।
घुम्नका लागि बनाइएको पार्कमा मन र तन दुवै आरामका लागि बस्न सकिन्छ। पार्कमा बसिरहेका मानिस अरूको प्रतीक्षामा होइन, वसन्तको आनन्दमा तल्लीन भइरहेजस्तो लाग्छ। बिहानीको झुल्के घाम र गोधुली साँझको मज्जा लिँदै पार्कमा वसन्त नियाल्दै मानिसहरू झुमिरहेका हुन्छन्।
न्युरोडस्थित भूगोल पार्कमा वसन्त ऋतुको काखमा बसेर रम्जानको रोजा तोड्दै गरेकी तब्बु खातुन भेटिइन्। ऋतुराजको रमझमसँगै रेस्टुरेन्टबाट खानेकुरा ल्याई बसेर खाँदै थिइन्। भारतकी उनी नेपालस्थित सुन्दरीजलमा बस्दै आए पनि काम भने न्युरोडतिर हुन्छ। दिनभरको कामको थकान र रोजा तोड्दै यस ऋतुको माझमा सधैंझैं भूगोल पार्कमै उनले बिताउने गरेको बताइन्।
‘यहाँ बस्न साह्रै आनन्द लाग्छ,’ उनले भनिन्, ‘सँगै रहेको फुटपाथमा मान्छेहरू हिँड्ने गरे पनि मलाई त्यसले केही फरक पार्दैन। सूर्योदयअघि र सूर्यास्तपछि खाना खाने गरेकी छु। दैनिक मेरो काम यतै भएकाले यहाँ आएर आधी घण्टाजति बस्ने गर्छु।’
उनले थपिन्, ‘यहाँ बस्नुको मजा छुट्टै छ। रुखैरुख छन्। चराहरूको खुब चिरबिर आवाज आउँछ। थकाइ मेट्न र आराम गर्न यहाँ बस्छु। राम्रो लाग्छ।’
हरियाली र शीतलताले उनलाई घरसम्म पुग्न थप ऊर्जा दिने गरेको उनले बताइन्।
वसन्तको आनन्दमा रमाउने उनीजस्तै दोलखाका शिवकुमार बस्नेत पनि हुन्। न्युरोड घुम्न आएका उनले भक्तपुर, सूर्यविनायकस्थित हनुमान मन्दिर सधै धाउने गरेको बताए।
‘काठमाडौंमा पूरै भिडभाड मात्रै छ, पार्क नै छैन,’ उनले भने, ‘बरु ललितपुरमा छ। आफू भक्तपुर बस्ने भएर होला, त्यहाँ धेरै घुम्ने गरेको छु। बिहान सधैं हनुमान मन्दिर जान्छु। त्यहाँ जाँदाको आनन्द अर्कै छ। काम र पढाइबाट दिक्क भएका बेला त्यहाँ पुग्दा ताजा भइन्छ। त्यसैले सधैं जाने गरेको छु। अहिले झन् कस्तो आनन्दको वातावरण छ। त्यसमा रम्न सके स्वर्गीय आनन्दको महसुस हुन्छ।’
उनले भने, ‘मन्दिरको उकालो चढ्दैगर्दा चराहरूको खुब आवाज आउँछ। न जाडो न गर्मी, वसन्त ऋतु र दसैंतिहारमा आउने शरद् ऋतु खुब रमाइलो लाग्छ। दसैंतिहारको समय पनि साह्रै मन पर्छ। अहिले जहाँतहीं फूल फुलेको हुन्छ। वर्षको अन्तिम महिना र नयाँ वर्षको आगमनलाई सम्झँदा रमाइलो लाग्छ।’
यस ऋतुमा स्वच्छ हावा, हरियाली प्रकृतिले गर्दा आफैमा ऊर्जा महसुस हुने उनले बताए। ‘काठमाडौंमा बस्नलायक पार्क खासै देख्दिनँ,’ उनले भने। गाडीमा चढेर कतै जाँदा भने मन फुरुङ्ग हुने गरेको उनले बताए।
‘सडक छेउछाउमा बोटबिरुवा धेरै लगाएकाले हरियाली र सिजनको बेलामा फूलहरू फुलिरहेको देखिन्छ। प्रायः सधैं गाडीमा चढ्नेबित्तिकै निदाउने मान्छे म अहिले बाहिरको हरियाली दृश्य हेर्दै हिँड्ने गरेको छु,’ बस्नेतले भने।
उपत्यकाका फराकिला चिल्ला सडक राम्रा देखिन्छन्। तिनका छेउछाउमा ठिङ्ग उभिएका हरिया रुखहरूले सहरलाई फूलबारीजस्तो अनुभूति दिएका छन्। रोपिएका फूलहरू ढकमक्क फुलेको देख्न सकिन्छ। कुनै बेला काठमाडौंमा फूल रोप्दा कसैले चोरिहाल्छन् भन्ने थियो। अचेल सडकभरि फूल देख्दा पनि कसैले टिपेर लाँदैनन्, बरु त्यसको सौन्दर्यमा वशीभूत हुन्छन्।
यस समयमा मानिसहरूलाई वसन्त ऋतुले विभिन्न ठाउँमा बोलाइरहेका छन्। वसन्त ऋतुमा प्रवेश गर्दाको आनन्द छुट्टै छ। अझै भनौं बिहानीको बर्सातपछि उजाडिएका ठाउँहरू उपत्यका छेउछाउ तथा वरपरका डाँडाकाँडा हेरिरहौं जस्ता लाग्छन्।
यतिबेला फूलचोकी, चन्द्रागिरि, नागार्जुन, दलचोकी, लाँकुरी भन्ज्याङलगायत डाँडामा घुम्नुको मज्जा बेग्लै छ। उपत्यकाभित्रकै काठमाडौं, भक्तपुरभन्दा यतिबेला ललितपुर झन् धेरै हरियाली र फूलहरूले झकिझकाउ भएको छ।
यो समयमा सफा आकाश, नयाँ पालुवा, सुन्दर फूल अनि नयाँ वर्षको आगमनसँगै बालबच्चाहरू आफ्नो परीक्षा सकेर ललितपुरका विभिन्न ठाउँ घुमघाममा लागेका छन्।
वसन्त ऋतुमा न जाडो, न गर्मी। पुराना पातहरू झरेर नयाँ पालुवा लाग्ने ऋतु सबैको प्रिय छ। बालबच्चाको छुट्टि भएसँगै परिवार लिएर बिदा मनाउन आउनेहरूले दक्षिण ललितपुरका विभिन्न ठाउँ हराभरा बनाएका छन्। ललितपुरका पिआई पार्क, गोदावरी पार्क, भारदेउ, गोटिखेल र दलचौकीजस्ता ठाउँमा मानिस घुमिरहेका देखिन्छन्।
ललितपुरका प्रायः ठाउँमा साँझपख पार्कमा मानिस बस्ने ठाउँ हुँदैन। घण्टौं बस्दा पनि उनीहरूलाई स्वच्छ ललितपुरको रसस्वादन गर्न पुगेको हुँदैन। त्यसरी साँझपखको स्वच्छ हावा लिँदै घुमफिर गरेका उनीहरूले घर फर्कंदा भने बजारबाट सरसामान बोकेर जाने गरेका छन्। सुन्दर उपत्यकाभित्र घुम्न आउनेको चाप बढेसँगै व्यवसायीहरूको व्यापार पनि फस्टाएको देख्न सकिन्छ।
प्रायः मानिससँग कुराकानी गर्दा उनीहरूले उपत्यकाको राजा भनेर ललिपुरलाई चिनाउने गरेको पाइन्छ। ललितपुरकै धापाखेलमा सांस्कृतिक महत्त्व बोकेको एक सुन्दर प्राकृतिक पोखरी छ। त्यहाँ घुम्न जानेको उस्तै चाप छ। त्यस्तै चापागाउँको जंगलभित्रको बज्रबाराही मन्दिर सधैं गइरहौंजस्तो लाग्छ। त्यस्तै उच्च स्थानमा रहेको सन्तानेश्वर मन्दिर आफैमा छुट्टै मौलिकता बोकेको छ।
काठमाडौं सामान लिन आएकी पोखराकी लक्ष्मी बसौला ललितपुरस्थित लबिम मलपछाडि रहेको एक पोखरी पार्कमा आनन्दले बसिरहेकी थिइन्। उनी कुनै बेला मोबाइल चलाउँथिन् त कुनै बेला मोबाइल ब्यागमा राखेर चारैतिर आँखा घुमाइरहन्थिन्। नागरिकका संवाददाता नजिकै गएर कुरा गर्दा उनी भन्छिन्, ‘केही सामान लिन काठमाडौं आएकी थिएँ। पोखरा फर्कने आज साँझको गाडीको टिकट हिजो नै लिएकी थिएँ। आज काम चाँडै सकियो। त्यही भएर यहाँ आएर बसेको।’
उनले भनिन्, ‘यहाँ बसेको एक घण्टा हुन लाग्यो। तर, पनि समय बितेको पत्तै छैन। कस्तो आनन्द! भिडभाड छैन, शान्त ठाउँ। जति बस्ता पनि मनमा आनन्द लागिरहने ।’ पोखरा फर्कने तरखरमा रहेकी उनले दिनभरको बसाइ त्यही पार्कमा बिताउने निधो गरिन्।
‘काठमाडौंमा आफन्त छन्, तर अब यतिबेला कसकोमा जाने र?’ उनले भनिन्, ‘भरे घर फर्कन ढिला हुन्छ। यही पार्कमा दिनभरि बस्यो अनि खाजा खाएर गाडी समात्न जान्छु। यहाँ दिनभरि बस्दा पनि धित नै नमर्ने ठाउँ रहेछ। पाटनमा सामान किन्दै आउँदा यहाँ पहिलोचोटि आएँ।’ वसन्त र शरद ऋतु उनका प्रिय ऋतु भएको बताइन्।
काठमाडौं उपत्यकाको शोभा बढाउने भनेका वरिपरिका हरिया डाँडाहरू नै हुन्। यसले काठमाडौंलाई सुन्दर बगैंचाजस्तो बनाएको छ। गर्मी महिना लागिसके पनि काठमाडौंलाई चिसो बनाइरहने यी वरिपरिका हरिया डाँडा र यहाँभित्रका बोटविरुवा नै हुन्। उपत्यकामा सडक विस्तार हुँदा मासिएका धेरै रुखले यो उजाडजस्तो भएको थियो। केही वर्षयता सडक किनारामा रोपेका बिरुवा अग्लिँदै गएका छन्। तिनले सहरी सौन्दर्य बढाएका छन्।
ललितपुरका धेरैजसो गल्लीमा ढुंगा, इँटा र फूलहरू फुलिरहेका गमलाले सुन्दर देखिएका छन्। यो सौन्दर्यले पर्यटक पाहुनालाई सुखी पारेको देखिन्छ। ती पाहुना ललितपुरका पाटन दरबार, भैंसीपाटी, नख्खीपोट, झम्सीखेललगायत विभिन्न ठाउँमा घुमिरहेका देख्न सकिन्छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण दक्षिण ललितपुरको पदयात्रामा ग्रामीण जनजीवन, विभिन्न जातजातिको जीवनशैली, हरिया महाभारत शृंखला, उकाली ओराली, खोलानालाबाट आनन्दित हुन सकिन्छ। फागुनपछाडिका दुई महिना चैत र वैशाखमा वसन्तको आगमनसँगै ढकमक्क चेरी अर्थात् जापानी फूल साकुरा यतिखेर उपत्यकाको शोभा बनेर ढकमक्क फुलेको देख्न सकिन्छ।
राजधानी काठमाडौंमा चेरी, पैयूँ, आरु र अन्य प्रजातिका बोटबिरुवामा पालुवा पलाउनुका साथै फुलेका फूलहरूले सहरलाई मनमोहक बनाएको छ। देशका विभिन्न भूभागमा मनै लोभ्याउने गरी फूलहरू फुल्न थालिसकेका छन्। राजधानीलाई सुन्दर बनाउन बाटो, सरकारी कार्यालय र पार्कहरूमा राज्यले फूलका बोटबिरुवा देशविदेशबाट ल्याएर लगाउने गरेको देख्न सकिन्छ।
उपत्यकाका सडक र खोलाका किनारमा ढकमक्क फुलेका फूलहरूले सवारी चालक र पैदल यात्रुलाई लोभ्याइरहेको छ। बाटोमा हिँडिरहेका पैदल यात्रुले स्वच्छ हावालाई मनन गर्दै हरियाली बोटबिरुवाबाट फुल्दै गरेका फूलको बास्नामा उनीहरू पुलकित भइरहेका छन्। सिरसिर हावा, खुला आकाश, वसन्त ऋतुले ल्याएको हरियाली बहारमा पैदलयात्री गाडी चढ्नभन्दा बढी हिँड्न रुचाइरहेका छन्।
उपत्यकाभित्रका बासिन्दा साँझपखको घरायसी कार्य सकेर मनमोहक दृश्यका साथै सूर्यास्तसँग रमाइरहेका हुन्छन्। वसन्त ऋतुमा होली, रङ पञ्चमी, वसन्त पञ्चमी, नवरात्रि, राम नवमी, शिवरात्रि, हनुमान जयन्ती र गुरु पूर्णिमाजस्ता उत्सवहरू मनाइन्छ।
यतिका धेरै चाडपर्व यो मौसमको महत्ता बुझेर राखिएका होलान्। तपाईले यो मौसमलाई राम्ररी हेरिरहनुभएकै होला। छैन भने एकैछिन टक्क उभिएर आफ्नै वरिपरि हेर्नुहोस् त, कति सुन्दर छ यो उपत्यका। उपत्यकालाई यतिबेला वसन्तबाग भनिदिए कुनै फरक पर्दैन।
प्रकाशित: २४ चैत्र २०८० ०८:१५ शनिबार