७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

ओरालो लागेको देशको कथा

पुस्तक

पछिल्लो समय लघुकथाको रचना, गोष्ठी, वाचन र अन्तरक्रिया बढ्नुका साथै लघुकथासँग सम्बन्धित विविध नामका सामाजिक सञ्जालहरूको सक्रियता समेतले गर्दा लघुकथाका सर्जक र पाठक दुवैलाई उत्तिकै प्रेरित र प्रोत्साहित गरेको पाइन्छ। लघुकथाप्रति लेखकीय तथा पाठकीय आकर्षण निकै बढेको छ। लोभलाग्दा मात्रै होइनन्, ईर्ष्यालाग्दा नै भएका छन् पछिल्लो समयमा भइरहेका लघुकथा लेखन, प्रकाशन र विविध गतिविधिहरू।

भनिन्छ साहित्य समाजको ऐना हो। यो ऐनामा समाजको सुन्दर र कुरूप दुवै किसिमको अनुहार देखिन्छ, देखिनुपर्छ। सुन्दर अनुहारको प्रशंसा र कुरूप अनुहारमा सौन्दर्य भर्नका लागि अभिप्रेरित गर्दै सुन्दर समाजको परिकल्पना साहित्यले गरेको हुन्छ। त्यसैले साहित्य पठनबाट पठनको आनन्द मात्रै होइन, सुन्दर समाज निर्माणका लागि प्रेरणा पनि प्राप्त हुन्छ।

साहित्यमार्फत समाजको असली अनुहार देखाउन खप्पिस साहित्यकार हुन् ध्रुव मधिकर्मी। कविता, कथा र लघुकथामार्फत् समाजको अनुहार उदाङ्गो पार्दै आएका उनै ध्रुव मधिकर्मीको पछिल्लो कृति हो ‘ओरालोको सिलसिला’ लघुकथासङ्ग्रह। यो सङ्ग्रहमा विविध विषय र समसामयिक सन्दर्भमा लेखिएका ४० लघुकथा सङ्गृहीत छन्।

सङ्ग्रहका सबै लघुकथा सामाजिक र राजनीतिक बेथितिमाथि केन्द्रित छन्। मान्छेको नैतिक आचरणमा आएको स्खलनले सामाजिक बेथिति बढेजस्तै नेताहरूको नैतिक आचरणमा आएको स्खलनले राजनीति नै दूषित बन्दै गएको र जनतामा नेता र राजनीति दुवैप्रति वितृष्णा बढ्दै गएको यथार्थलाई ध्रुव मधिकर्मीका लघुकथाले इङ्गित गरेका छन्।

मान्छेमा व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै जाँदा सामाजिक मूल्य, मान्यता र आदर्शमा समेत ह्रास आएको छ। अनि सामाजिक बेथितिमा वृद्धि भएको छ। यस्तो बेथितिले आदर्श र सभ्य समाज निर्माणको परिकल्पनालाई नै ध्वस्त पारिदिएको छ। त्यसैले यस्तो बेथितिको अन्त्य जरुरी छ र यसका लागि सर्वप्रथम समाज हाँक्ने र देश हाँक्ने अगुवाहरूको नैतिक आचरण सुध्रिनुपर्छ भन्ने सन्देश ध्रुव मधिकर्मीका लघुकथाले दिन्छन्।

ध्रुव मधिकर्मी लघुकथामा अनेक बिम्ब, प्रतीक र उपमा प्रयोग गर्न खप्पिस छन्। तिनै बिम्ब, प्रतीक र उपमाका माध्यमबाट एकथोक भनेजस्तो गरेर अर्कै थोक भनिरहेका हुन्छन्। एकातिर ताकेजस्तो गरेर तीरचाहिँ अर्कैतिर हान्न माहिर छन् ध्रुव मधिकर्मी।

ध्रुव मधिकर्मी बिम्ब, प्रतीक, र उपमामार्फत समाजका खलपात्रको मर्ममै प्रहार गर्न सफल छन्। उनका लघुकथालाई सिधा अर्थमा बुझ्दा केही होइन झैं लाग्छ, तर घुमाउरो अर्थमा बुझ्दा ओहो अथवा आहा भन्ने खालका छन्। साधारण कथाले पनि असाधारण कुरा भनिरहेको हुन्छ।

लघुकथाको मर्म बुझ्नलाई पाठकले पनि अलिकति दिमागचाहिँ प्रयोग गर्नैपर्ने हुन्छ। कथ्यशिल्पका दृष्टिले नवीन र निजीपन बोकेका ध्रुव मधिकर्मीका लघुकथा विचार र कल्पनाशीलताका दृष्टिकोणले पनि निकै बेजोडका छन्। त्यसैले बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँडजस्ता छन् उनका लघुकथा।

ध्रुव मधिकर्मीका सामाजिक र राजनीतिक व्यङ्ग्यचेतका दृष्टिकोणले निकै तिक्खर लघुकथाहरूले पाठकको मनमा च्वास्स पार्ने वा मस्तिष्कमा झट्का हान्ने सामथ्र्य राख्छन्। यद्यपि कठोर राजनीतिक व्यङ्ग्य प्रहार गर्ने भईकन पनि अलिकति पनि उग्र र अराजक नभई सभ्य र शालीन प्रस्तुति हुनु ध्रुव मधिकर्मीका लघुकथाका विशेषता हुन्।

समाजमा विद्यमान सामाजिक र राजनीतिक बेथितिप्रतिको असन्तुष्टि, आक्रोश र विद्रोहलाई बिम्ब, प्रतीक र उपमाको सहायता लिई निकै शान्त, सौम्य र सभ्य ढङ्गले सुन्दर शब्दचित्रमा प्रस्तुत गरिएको पाइन्छ।

विद्रोहको अर्थ उग्र, उद्दण्ड र अराजक हुनुपर्छ भन्ने होइन भन्ने मान्यता मधिकर्मीको लघुकथाले बोकेको पाइन्छ। बरु शालीन र भद्र विद्रोहबाट पनि अन्धो, अभद्र र अराजक शासकको आँखा खोल्न सकिन्छ अथवा उसको सत्ता ढाल्न सकिन्छ भन्ने सन्देश मधिकर्मीका लघुकथाले दिन्छन्। समाजमा विद्यमान बेथिति र विकृतिमाथि प्रहार गर्नु र खबरदारी गर्नु मधिकर्मीका लघुकथाको उद्देश्य रहेको देखिन्छ।

‘ओरालोको सिलसिला’ लघुकथासङ्ग्रहका लघुकथाभित्र वर्तमान समय र समाज छ। अनि त्यही समय र समाजको आवाज छ। वर्तमान समाजभित्र बाँचेका मानिसका केही आशा र केही निराशा छन्। ती आशा र निराशामा केही पात्र र प्रवृत्तिको भूमिकालाई दर्शाउन र अथ्र्याउन खोजिएको पाइन्छ।

विशेष गरी राजनीतिक पात्र र प्रवृत्तिबाट समाज निर्देशित छ र पीडित पनि छ भन्ने सन्देश ‘ओरालोको सिलसिला’ लघुकथासङ्ग्रहका धेरै लघुकथाबाट पाउन सकिन्छ। समाजका विविध पात्र र सामाजिक प्रवत्तिको सेरोफेरोमै धेरैजसो लघुकथा लेखिएका छन्। ‘भुत्ते हतियार’, ‘घर झगडा’, ‘बाटैबाटो’, ‘सुनको फूल’, ‘ओरालोको सिलसिला’, ‘राजनीति’, ‘गोष्ठीहरूको देश’, ‘अर्थोक’, ‘धोएको गधा’, ‘एक्लो नेता’, चङ्गा’, ‘ढुङ्गा’, ‘एजेन्ट’ आदि राजनीतिक चेतले भरिएका र राजनीतिक पात्र र प्रवृत्तिप्रति प्रहार गरिएका लघुकथा हुन्।

शक्तिको पूजा गर्ने प्रवृत्ति (भुत्ते हतियार), व्यवस्थालाई पनि आफ्नो इच्छा र अवस्थाअनुसार बदल्न खोज्ने स्वार्थी मनोवृत्ति (घर झगडा), स्वार्थअनुकूल पार्टी परिवर्तन गर्ने प्रवृत्ति (बाटैबाटो), नेताले पाउने र देशले गुमाउने अवस्था (सुनको फूल), मिलीजुली घुस र कमिसन खाने प्रवृत्ति (ओरालोको सिलसिला), जनतालाई निरीह तुल्याउने राजनीतिक अभीष्ट (राजनीति) आदि लघुकथाले हाम्रै समाज अनि राजनीतिक पात्र र प्रवृत्तिहरूलाई उजगार गरेका छन्।

कामभन्दा कुरा धेरै गर्ने शासकीय प्रवृत्तिको भण्डाफोर भएको छ ‘गोष्ठीहरूको देश’मा। समाजमा असत्य, दुर्भाग्य, बेइमान, अनादर्श, अनैतिकता, असुरक्षा, उदासीनता, झुट, संवेदनहीनता, प्रपञ्च आदिको प्रभुत्व बढ्दै गएको सङ्केत ‘सामान्य कारण’मा छ। बढी महत्त्वाकांक्षी र पदका लागि पार्टी फुटाउने प्रवृत्तिप्रति कटाक्ष छ ‘एक्लो नेता’मा। ‘चङ्गा’मा सत्ता र शासनका लागि लुछाचुँडी गर्ने नेताप्रति कटाक्ष गरिएको छ। स्वार्थका लागि परिचालित हुने मान्छेको प्रवृत्तिमाथि प्रहार गरिएको छ ‘ढुङ्गा’मा।

आन्दोलनको अग्रपङ्क्तिमा जनताका छोराछोरी पर्ने र मर्ने अनि लाभ जति नेता र तिनका छोराछोरीले लिने प्रवृत्तिप्रति व्यङ्ग्य छ ‘आन्दोलनको अध्ययन’मा। नेताहरूले जादु गरेझैं जनतालाई झुक्याएर राजनीति गरिरहेछन् भन्ने सन्देश छ ‘जीविका’मा। वस्तुदेखि विचारसम्म आयात गर्ने स्थितिमा पुगेको एउटा जीर्ण र जर्जर देशको कथा छ ‘आयात’मा। जनताले लगाएको गुन र ऋण बिर्सने नेताप्रति कटाक्ष छ ‘लौरो’मा। अरूलाई भर्‍याङ बनाएर आफू माथि पुग्ने प्रवृत्ति उजागर गरेको छ ‘भर्‍याङ’ले।

लघुकथा सिद्धान्ततः चोटिला हुन्छन्। च्वास्स पार्ने र मस्तिष्कलाई सन्न बनाउने क्षमता लघुकथामा हुनुपर्छ भन्ने मान्यता छ। यसको अर्थ लघुकथा चुट्किला जस्तै हो भन्ने होइन। 

प्रकाशित: १७ चैत्र २०८० १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App