२४ असार २०८१ सोमबार
image/svg+xml
कला

माइतीघर

लघुकथा

आधार शिविरको रौनकता चलिरहेको थियो। एकजना पत्रकार र पर्यटक भलाकुसारी गर्दै थिए।

पत्रकार- जर्ज यो पटक सगरमाथामा किन आउनुभयो?

जर्ज- म त माइतीघर आएको हो!

पत्रकार- ओहो, नेपाली संस्कृति र नेपाली भाषाको राम्रो ज्ञान रहेछ।

जर्ज-धन्यवाद।

पत्रकार- कसरी र कहाँ हो त माइती तपाईको?

जर्ज- मेरो माइतीघर सगरमाथा हो।

कसरीको जवाफमा जर्ज टोलाए र उनी आफ्नो अन्तरिक्ष यात्राको सम्झनामा लीन भए। 

“नासाको अन्तरिक्षयान चन्द्रमाको नजिकनजिक पुगेको हो कि झैं लाग्थ्यो। अकस्मात यानमा गडबडी आइलाग्यो। साथीहरू अगाडि नै स्वासप्रस्वासको समस्यामा परिसकेका रहेछन्। म भने भर्खर थाहा पाउँदै थिएँ। मेरो सम्पर्कयन्त्र तथा अन्य उपकरणले काम गर्न छाडेको थियो।

प्रक्षेपण हुनुअघि नै यी सबैको हिसाबकिताब गरिएको थियो। पृथ्वी छाड्दाको अवस्था, चन्द्रमाको नजिक पुगेको अवस्थाको आकलन गरेर साझा गरिएको थियो। सोबमोजिम त ठिकठाक हुनुपर्ने तर अकस्मात आपद् आइलागेको थियो। सबैसबै प्रयास विफल हुँदै थियो। चन्द्रमाको नजिक पुगेपछि यानमा अनौठो स्पिनिंग आएको थियो। एकातर्फ चन्द्रमाको जमिन देखिएको थियो, एक किसिमको राक्षसी जमीन जस्ता। अर्कोतर्फ पृथ्वी मुस्किलले देखिन्थ्यो, पृथ्वीबाट देखेको चन्द्रमाभन्दा केही मात्र ठूलो।

साथीहरूले मुस्किलले मर्मत गर्नुभयो र पृथ्वीमा सम्पर्क कायम हुन सक्यो र यानको कक्षको पनि एकीकृत मर्मत हुन सक्यो, ठूलो दुर्घटनाबाट बाँच्न सकियो। काम सकेर क्रमशः पृथ्वीतर्फ यान फर्कंदै थियो। धूमिलधूमिल रूपमा पृथ्वी देखिंदै थिया। क्रमशः पृथ्वीको विस्तृत विवरण देखियो। हामीमा ठुलो उत्साह थपियो। हामी एक किसिमले भावविह्वल भयौं।

हाम्री सानी वैज्ञानिक मेरो आलिंगन छोड्न नमानेर मेरो छातीमा टाँसिएर बसिन्। पृथ्वी नजिकनजिक आउँदै छ भन्ने सूचनाले हाम्रो तन्तुतन्तु उत्साहित थियो। हामीले आकाशको त्यो दुरीबाट नीलो पृथ्वीको हरियो भाग देख्यौं र हामीले पहिलो हेराइमा नै बुझ्यौं, त्यो त नेपालको उत्तरतर्फ रहेको सगरमाथा पो रहेछ भन्ने थाहा पायौं र हामी धेरै भावुक बन्यौं।”

पृथ्वीमा उत्रेपछि कहिले सगरमाथा पुग्न पाइन्छ भन्ने मनमा उत्कट चाहना रही नै रह्यो। आज यतिका वर्षपछि पनि नेपालको सगरमाथा आउन पाउँदा अन्तरिक्ष यानको त्यो भावना मेटिएको छैन। मलाई सगरमाथा टेक्दा अहिले आफ्नै माइतीघर आइपुगेको भाव आइरहेको छ।

पत्रकार आधार शिविरमै माइतीघरको शब्दार्थ खोतल्दै थिए।

प्रकाशित: २६ फाल्गुन २०८० १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App