४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

एउटा भग्नावशेष जिन्दगी

जिजीविषा

भनिन्छ–जीवनमा संकट आउन थालेपछि ताँती नै लाग्छ। एकाकी जीवन बिताउन बाध्य एक महिलाको जिन्दगी एउटा वियोगान्त नाटकजस्तो लाग्छ।

१७ वर्षको उमेरमा बाबुआमाकै सहमतिमा बिहे भएको थियो। विवाहको तीन वर्षमै पतिले गर्भावस्थामै दोस्रो बिहे गर्‍यो। पतिका कारण माइतीमै गएर सन्तान जन्माउनुपर्‍यो। सन्तान जन्मिएपछि पनि पति उनलाई लिन माइत आएनन्। दुई वर्षको छोरो हुँदाहुँदै फेरि प्रेमको नाटक गर्दै आएका एक पुरुषले भारतको मुम्बईको कोठीमा पुर्‍याए।  

२० वर्ष भारतमा बिताएर स्वदेश फर्केकी उनका अगाडि अहिले कोही छैनन्। एउटा विकराल एकाकीपनले उनलाई गम्लङ्ङ ढाकेको छ।  

माइतीकै सहयोगमा छोरा जन्माइन्। ६ महिना माइतमा रहँदा पति लिन आउने आशाले बाटोभरि आँखा बिछ्याइरहिन्। पति लिन आएनन्।

छोरो दुई वर्षको हुँदै थियो। उनको जीवनमा नुवाकोटकै रामबहादुर नामका एक पुरुष आए। ‘कति दिन माइतमा बस्छौ?’

ती पुरुषले गुलियो कुरा गरे, ‘समाजको दृष्टिमा तिमी घर बिग्रिएकी चेली हौ। मेरी श्रीमतीले पनि डाँडा काटिन्। तिमीलाई श्रीमान्ले छोडेको। हामी दुईको भेट भगवान्ले जुराएका हुन्। मेरो अन्तिम साससम्म तिमीलाई न्यानो साथ दिने छु।’  

राम्रो चिनजान पनि नभएको रामबहादुरले उनलाई फकाएका थिए। माइती घरको आर्थिक अवस्था कमजोर भएका कारण पनि उनले ती पुरुषले पटक पटक फकाएकै कारण दोस्रो विवाह गर्न राजी भइन्।

केही दिनमै रामले भगाएर हेटौडा पु¥याई एक अपरिचित घरमा बास बसाए। ‘रातको समय थियो,’ उनले दोस्रो विवाहको पहिलो रातलाई सम्झिइन्, ‘त्यो रात हामी नवविवाहित जोडी र घरका बुढाबुढीबिच एक मधुरो टुकी थियो। त्यतिबेला बिजुली थिएन। त्यो टुकीको सहाराले वरिपरि बसेका मान्छेको अनुहार मात्रै देखिन्थ्यो।’

खाना खाएर सुत्ने बेलामा उनलाई मिरिन्डा खुवाएका थिए। त्यो मिरिन्डाले गर्नु गर्‍यो। त्यो रात नै नेपालमा उनको अन्तिम रात हुन पुग्थ्यो। त्यसपछि मिरिन्डाकै बेहोसीमा उनलाई भारत पुर्‍याइयो।

उनी कति दिनपछि होसमा आइन् भन्ने थाहा छैन। उनी ब्युँझदा नयाँ ठाउँ र नयाँ मान्छेका बिचमा थिइन्। उनले भनिन्, ‘चारैतिर आँखा घुमाउँदा साथमा पति थिएनन्। बरु हेटौंडामा बास बसेको घरका पुरुष थिए।’

उनले सोधिन्, ‘कहाँ ल्याएको मलाई ? मेरा श्रीमान् खोइ ?’ तिनले जवाफ दिए, ‘यो भारतको मुम्बई हो। तिम्रै श्रीमान्ले दुई लाखमा बेचेर गयो। अब हामीले जे भन्छौं त्यो मान्नुपर्छ। तिमी अब यहीं बसेर काम गर्नुपर्छ। यो कोठी हो।’

तिनको जवाफले उनी छाँगाबाट खसेजस्ती भइन्। पति नभए पनि कसैले साथ दिन्छु भनेको विश्वासमा परेर कोठीमा बेचिन पुगेकी थिइन् उनी। घटना हो २०४८ सालको।

आफ्नै गाउँघरको समेत राम्रो ज्ञान थिएन। मायाको जालमा परेर भारतको ठुलो सहर पुग्नुपरेको थियो। फूलजस्तो जीवन नारकीय अवस्था भोग्न बाध्य भयो। भारतमा २० वर्ष (कोठीमा १५ र एक व्यक्तिको घरमा ५ वर्ष) बिताउँदा उनले परिवारसँग सम्पर्कमा पुग्ने अवसर पाइनन्।  

कोठीको बास दयनीय थियो। भाग्न सक्ने स्थिति थिएन। ‘कोठीबाट बाहिर निस्कनु भनेको बन्द कोठाभित्रको मान्छेले बाहिर निस्किएर ताल्चा खोल्नु सरह हो,’ उनले भनिन्, ‘बिरामी परेर मेडिकल जाँदा पनि अगाडि पछाडि गार्ड हुन्थे। सम्भव थिएन भाग्नलाई।’

कोठीमा त्यस्तै ३५/४० जना युवती थिए। ती सबै नेपाली हुन्थे। तिनलाई कोठीमा लगाउने साउनी भने सिन्धुपाल्चोककी थिइन्।

कोठी साहुनीले नेपालबाट कलिला केटी मगाएर कोठीमा कजाउँथिन्। नेपाली एजेन्टले जति धेरै महिला फकाएर कोठीमा ल्यायो, उति धेरै पैसा दिने गरिन्थ्यो। उनलाई बिहेको नाटक गरेर त्यहाँ पुर्‍याउने व्यक्ति पनि अन्ततः एजेन्ट नै रहेछ।  

ग्राहकको रोजाइमा युवतीले कोठीमा सेवा दिनुपथ्र्यो। यी नुवाकोटे युवती पनि ग्राहकको पहिलो रोजाइमा थिइन्। ग्राहकसँग कोठीमा जान नमाने कुटाइ खानु नियमित आकस्मिकताजस्तो थियो।

उनले मुम्बइको कोठीमा १५ वर्ष बिताउनुपरेको कालखण्डलाई स्मरण गर्दै भनिन्, ‘त्यत्रो वर्ष कसरी बिताएँ थाहा छैन। मनदेखि पीडा हुन्थ्यो। आँखाबाट अनायासै आँसु झथ्र्यो। त्यो बेलामा जिउडाल मिलेकी म अग्ली पनि थिएँ। बच्चाकी आमा भएर के गर्नु, आफैं बच्चा जस्ती थिएँ ।’

ग्राहकले कलिला केटी खोज्थे। सुरुसुरुमा उनलाई छान्ने ग्राहकसँग कोठामा जान नमान्दा धेरै कुटाइ पनि खाइन्। ‘रुन्थें, कराउँथे,’ उनले भनिन्, ‘त्यहाँ सुन्ने कसले र? पछि बाध्यतामा परें ।’  

उनको शरीर दैनिक कोठीमा बिक्न थाल्यो। यो लाममा थुप्रै महिला थिए। कोठी साहुनीले कुन केटीले कति कमाइ गरी भनेर हिसाब राख्ने गर्थी। त्यतिबेला कसैकसैको दैनिक पाँच हजार भारतीय रूपैयाँसम्म हुन्थ्यो भने कसैको भात खाने पैसासमेत उठाउन सक्दैनथे।

कोठीमा बस्दा आफूले दिनमै २५ जनासम्म ग्राहकलाई सन्तुष्टि दिनुपर्ने बाध्यता भएको उनले बताइन्। आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भनिन्, ‘धन्धामा लाग्न नमान्दा चुरोटका ठुटोले मेरो हातैभरि पोलिदिन्थे। ग्राहक आएर मेरो शरीरमा चिथोरेर र निचोरेर जान्थे। अरूको सन्तुष्टिका लागि जिउँदो लास भइन्थ्यो।’

जबर्जस्ती शारीरिक सम्पर्क गर्नुपर्दा धेरै पीडा हुन्थ्यो। पीडा, आक्रोश, चित्कार बन्दकोठालाई सुनाउने मात्र थियो। त्यो बेला आत्महत्यासमेत गर्न नसकेको उनी बताउँछिन्।

‘कोठीमा पुगेका नेपाली महिला स्वदेश फर्कनु भनेको अर्को जुनी लिनु हो,’ उनले भनिन्, ‘कोठीमा नेपाली पुरुष आउनसमेत निषेध थियो। नेपाली महिलालाई भगाएर स्वदेश फर्काउने सम्भावना धेरै हुन्छ भनेर नेपाली पुरुषलाई आउन बन्देज थियो। त्यहाँ ग्राहक भनेका भारतीय, बंगाली र अन्य देशका नागरिक थिए। त्यो समयमा प्रतिग्राहक भारतीय ७५ रूपैयाँ हामीले पाउथ्यौं।’

‘हामीले एक छाकमात्रै खान पाउथ्यौं। कोही ग्राहकले एकदुई रूपैयाँ भारतीय नोट दिन्थे। त्यो जम्मा गरेर पाँच रूपैयाँ बनाई रोटी किनेर सबै दिदीबहिनी मिलेर खान्थ्यौं। सबै सँगै बसेर खाँदा परिवारमा आमा, बुबा र दुई बहिनीहरूको सम्झनाले साह्रै सताउँथ्यो। अहिलेजस्तो त्यो बेलामा सम्पर्कका लागि कहाँ मोबाइल फोन थियो र? चिठीपत्रको जमाना हो त्यो। हामी थुनामा राखेको कैदीजस्तै थियौं,’ उनले भनिन्।

आमाबुबाको काखमा हुर्केका तीन छोरीमध्ये जेठी थिइन् उनी। आमाबुबा र दुई बहिनीको हातमा छोरालाई सुम्पिएर पतिको पछि लाग्दा अन्धकारमा परेको उनी बताउँछिन्। ‘छोराको अनुहार रातभरि सपनामा आउँथ्यो,’ उनले नागरिकसँग भनिन्, ‘जेठी छोरीको घरबार बिग्रिएकोमा आमा साह्रै चिन्ता लिनुहुन्थ्यो। दुई बहिनी तामाका मुनाजस्तै थिए। सधैं लाग्थ्यो– उनीहरू कत्रा भए होलान्?’

कोठीको धन्धामा १५ वर्ष पुग्दैगर्दा एक भारतीय ग्राहक सुरेश गान्धीसँग उनको भेट भयो। कोठीमा आएका ती भारतीयसँग उनले सबै नालीबेली खोलिन्। त्यसपछि गान्धीले राखेको एउटा प्रस्तावमा उनी सँगै जान तयार भइन्।

‘मेरो घरमा धेरै वस्तुभाउ र जग्गा जमिन छन्। गाईभैंसीको गोबर सोहोर्ने, दुध दुहुनेदेखि बेच्ने र मेरो छोराछोरीको हेरचाह गर्ने काम हो। बस्न खानका लागि केही चिन्ता लिनुपर्दैन। जाने भए म लैजान्छु,’ यो प्रस्तावमा उनी सहमत भइन्।  

कोठीमा आएका ती गान्धीले युवतीलाई भारतीय रूपैयाँ २० हजार तिरेर आफ्नो घर लगेका थिए। गान्धीले परिवारलाई भनेका थिए–एक होटलमा काम गरिरहेको अवस्थामा साहुले कुटिरहेको हुँदा घरमा काम गराउन ल्याएको हुँ।

‘सुरुमा मेरा लागि उहाँ भगवान् भएर कोठीमा आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँले आफ्नो परिवारलाई झुटो बोले पनि त्यत्रो पैसा तिरेर मेरो उद्धार गर्नुभएको थियो। उहाँले परिवारसँग बोलेको झुटो बोलीमा मेरो पनि सहमति थियो।’

गान्धी परिवारमा पत्नी, छोराछोरीसहित आमाबुबा थिए। गान्धीको घरको कामको वृत्तान्त उनले भनेअनुसारकै थियो। गान्धीको घरमा बिनातलब वस्तुभाउ, सरसफाइ र खेतीपातीको काममा लागिन् उनी।

‘गाउँमै हुर्केको भएर होला, काम धेरै गर्थें,’ उनले भनिन्, ‘मेरो खटाइबाट उनीहरू मक्ख थिए। मासिक तलब नदिए पनि गास, वास र कपाससँगै औषधीमुलो पनि गरिदिन्थे।’

उनको जीवनमा समयले नेटो काटिसकेको थियो। बुढी हुँदै गएकी उनको साथमा पैसा थिएन। परिवारको सम्झना आफ्नो ठाउँमा थियो। केही समयपछि गान्धीले घरमा कोही नभएका बेला उनीसँग सम्बन्ध राख्न थाले।

उनले भनिन्, ‘गान्धीले घरमा कोही नभएको बेला यौनदासीका रूपमा प्रयोग गथ्र्यो। तर, पनि एक मनले सोचें, यो घरमा गान्धी एकजना मात्र छ भने कोठीमा सयौं मानिस हुन्थे।’

गान्धीको घरमा पाँच वर्ष काम गरेपछि निरन्तरता दिन नसक्ने अवस्थामा पुगिन्। ‘पापी रामले कलिलो उमेरमा भारत पुर्‍यायो,’ उनले नागरिकसँग भनिन्, ‘बुढो हुँदा आफ्नै देश फर्कनुपर्ने अवस्था आयो। अब गान्धीको घरमा उसलाई यौनदासी भएर सेवा गर्न र अरू काम गर्न नसक्ने शरीर भइसकेको थियो। गान्धीका परिवार पशुपति घुम्ने योजनामा थियो। अब म पनि काम गर्न सक्दिनँ। आफ्नै देश फर्काइदेऊ भन्दा उनीहरूले सहजै स्विकारे। २० वर्षपछि आफ्नै देश फर्किन पाउँदै थिएँ।’

गान्धीको परिवार सबै पशुपति घुम्न आएको बखत १० हजार भारतीय रूपैयाँ दिएर काठमाडौंबाट मकवानपुरको गाडी चढाएर बिदाइ गरेको उनी सुनाउँछिन्।

‘अन्तिममा आफ्नै घर फर्कंदा कसैले मलाई चिनेनन्,’ उनी भावुक हुँदै भनिन्, ‘आफैंले आफ्नो परिचय दिँदै सबैलाई चिनाएँ। गाउँमा फलानो मरिसकेको मान्छे आयो रे भनेर खुबै हल्ला भयो। आमा बितेको वर्षदिन मात्रै भएछ। दुवै बहिनी बिहे गरेर टाढाटाढा गएका रहेछन्। छोरा काठमाडौंतिर, घरमा बुबा मात्रै।’

उनी भन्छिन्, ‘उहीबेला आमाभन्दा पहिले मर्नुपर्ने मान्छे हो म। कसरी बाँचें। तर, आफ्नै जन्मथलोमा मर्न लेखेको रहेछ।’

छोरी फर्केर आउने आशा मारिसकेका बाबुले जीवित छोरीलाई देखेर आँसु थाम्न सकेनन्। २०६८ सालमा नेपाल फर्केपछि माइती नेपालको सहयोगमा आफूलाई भारत लगेर बेच्ने रामबहादुरलाई मकवानपुरमा पक्राउ गराउन सफल भइन्। ‘त्यो नाम मात्रको श्रीमान् रामलाई समातेर जेल हालेको थुप्रै भयो,’ उनले भनिन्, ‘रामले बास बसाएको घरका बुढाबुढी नै जनआन्दोलनमा मारिएका थिए रे।’

नाम मात्रैको पति रामलाई २०७० जेठ ७ मा मुद्दाको अन्तिम फैसलामा २० वर्ष कैद र दुई लाख जरिवानाको फैसला सुनाइएको छ। उनलाई राज्यको जिल्ला पुनस्र्थापना कोषबाट क्षतिपूर्तिबापत तीन लाख भराइदिएको मकवानपुरस्थित माइती नेपालकी माया लामाले बताइन्।

उनले माइतीको छहारी लिँदै गर्दा परिवारकै समर्थनमा पुनःविवाह भए पनि घरबार राम्रो भएन। बुबालाई रोगले च्याप्दै गयो। म फर्किएको सुखानुभूतिसँगै मेरो बुढेसकालको लाठी कोही नभएकोमा बुबालाई चिन्ताले चितामा पुर्‍याउँदै थियो।

मलाई बिहे गराइदिएपछि केही समयमै बुबाको पनि स्वर्गवास भयो,’ उनले भनिन्। माइती छन् भन्ने झिनो आस अब अन्त्य भयो।

भारतबाट फर्किएयता उनले मकवानपुरको एक गाउँ नै हल्लाएकी थिइन्। हेटौंडा माइती नेपाललगायत अन्य संघसंस्थाको सहयोगमा त्यसरी फर्किएकी ती महिलाले १९/२० बाख्रा, कुखुरा र गाईभैंसी एक्लैले पालेको देखेर गाउँनै चकित हुने गरेको उनले सुनाइन्।

अन्तिम पतिसँगको सहयात्रा पनि छुटेको उनले बताइन्। ‘भुइँचालो गएको साल मेरो बिहे भा’थ्यो नानी। दुईचार वर्ष राम्रै चल्यो। त्यसपछि त श्रीमान्ले पनि बचन लगाउन थाले–भारतमा दुई दशक वेश्यावृत्तिमा लागेर आएकी तँ फलानो र ढिस्कानो भन्दै। बुढेसकालका सहारा एकअर्कामा समर्पित हुनुपर्ने ठाउँमा अहिले छुट्टिएर बसेको हामी आउने वैशाखमा वर्षदिन हुन्छ।’

उनले थपिन्, ‘बुढो उसकै छोरासँग बारीको एक कान्लोमाथि बस्या छन् भने एक काल्लो मुनि म। पहिला वस्तुभाउ झन् धेरै थिए। अहिले हातगोडै चल्दैन, काम गर्न पनि सक्दिनँ। परारसम्म छोरासँग कुरा हुन्थ्यो। मेरो टुकटुके मोबाइल हराएर कुरा नभएको पनि दुई वर्ष पुगिसक्यो। जन्मिँदा आफैं रुँदै जन्मिएँ, मर्दा वरिपरि बसेर रुने कोही भएनन् नानी।’

उनी युवतीबाट अहिले बुढीआमा भएकी छन्। जिन्दगी एउटा खण्डहर बस्तीजस्तो बनेको छ। उनको न जवानीमा कोही सहारा भए न त बुढेसकालमै। अहिले साथीभाइ भनेकै केही कुखुरा र दुईचार बाख्रा हुन्। उनको दिनचर्या यी अबोध पशुपन्छीसँग चलिरहेको छ।

प्रकाशित: २६ फाल्गुन २०८० ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App