१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ। भक्तपुरका संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, भाषा, खेल, खानाका परिकारलगायतको एकदिने प्रदर्शनी सम्पन्न भएको हो।

भक्तपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा रहेका विषयवस्तुहरूबारे प्रदर्शनी गरिएको थियो। देशमै पहिलो पटक देशभरका नगरपालिकाहरूमध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी लागु गरेको थियो। नगरपालिकाले क्रमशः कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम बनाएर यसअघि नै नगरका स्कुलहरूमा लागु गरिसकेको छ।

प्रदर्शनीमा भक्तपुरको भौगोलिक अवस्थिति, ख्वप (भक्तपुर) को इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसंख्या, विविध स्थानीय संस्कृति र प्रचलित संस्कारहरू, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा, स्थानीय व्यवसाय सिप र प्राविधिक पेशा, स्थानीय स्वास्थ्य प्रबद्र्धन विधि, स्थानीय खेल र स्थानीय पर्यटक गरी कुल १२ वटा खण्डहरूमा एक सयभन्दा बढी स्टल रहेका थिए। प्रत्येक खन्डमा एक दर्जन बढी स्टलहरू रहेका थिए। कार्यक्रमको नाम ख्वपको पहिचान प्रदर्शनी राखिएको छ।

प्रदर्शनीको अवलोकनमा सहभागी भक्तपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष एवं सेवा निवृत्त शिक्षक प्रेमगोपाल कर्माचार्यले पूरै भक्तपुरलाई एकै मिनेटमा चिन्न सक्ने प्रदर्शनी असाध्यै उपयोगी हुने विश्वास व्यक्त गरे। यो प्रदर्शनीले भक्तपुरका हरेक पक्षको महत्व झल्काएको उनको बुझाइ थियो। त्यसकारण यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने उनको जोड थियो।

प्रदर्शनीको अवलोकनमा पुगेका भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नैनसिंह धामीले प्रदर्शनी भक्तपुर चिनाउने मिनी भक्तपुर बन्न सफल रहेको प्रतिक्रिया दिए। प्रदर्शनीले एक मिनेटमै सम्पूर्ण भक्तपुरलाई नजिकबाट चिन्न र बुझ्न सहयोग गर्ने उनले सुनाए।

प्रदर्शनीमा भक्तपुरमा रहेका विभिन्न नृत्यहरू जस्तै गाइजात्राको घिन्ताङ घिसी, (लठी जुधाएर खेल्ने नाच) देवी प्याखं (नाच), माक प्याखं, कवां प्याखंलगायतका नृत्यहरू प्रत्यक्ष देखाइरहेको थियो। साथै विभिन्न खेलहरू प्रत्यक्ष रूपमा खेलाइरहेका थिए। साथसाथै नेवारी भोजहरू खाइराखेको दृश्य थियो। साथसाथै जात्रा पर्वहरू देखाइरहेको थियो।

स्थानीय पाठ्यक्रमलाई अझ नजिकबाट बुझाउन सहज होस् भनेर विद्यार्थीले प्रदर्शनी गरेको आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले बताए। यसले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन, जनजीवनबारे बुझ्ने मौका मात्रै नपाई त्यसप्रतिको माया जाग्ने विश्वास राजभण्डारीको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App