२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डिभोर्स

कथा

‘बाबा !’

‘हजुर !’

‘हजुर सुत्नु भो? के खानु भो त?’

‘सुतेको छैन नानु। भर्खर खाना खाएँ। अनि तिमीले नि त?’

‘मैले र ममीले पनि खायौं। हामी त अब सुत्न आँटेका। ममीसँग बोल्ने?’

‘नबोल्ने। त्यसको कुरा नगर। तिमीसँग मात्रै बोल्ने हो म। लु गुडनाइट!’

अनिशले छोरीसँग बोल्दाबोल्दै फोन काट्यो। मनीषासँगको फेसबुक सम्पर्क त डिलिट गरेको थियो उसले। तर उसको मोबाइलबाट बेलाबेला छोरीले फोन डायल गरिरहन्थी।

बेलुकाको खाना खाएपछि केही बेर फेसबुक, युट्युब र टिकटकमा हराउँदै निदाउने ऊ आज छोरीसँगको कुराकानीपछि त्यतातर्फ अल्मलिएन। मोबाइल सिरानदेखि अलि परतिर राख्यो। अनि सिलिङतिर हेरेर टोलाउन लाग्यो। मनमा अनेक कुरा खेलिरहे। राति अबेरसम्म निद्रा परेन।

जिन्दगी सिधा रेखामा कहाँ हिँड्दो रहेछ र। यो त बाङ्गोटिङ्गो, घुमाउरो वक्ररेखाजस्तै रहेछ। सोचेको एउटा, भइदिने अर्कै।

मनीषा र ऊ सँगै क्याम्पस पढेका। पढ्दापढ्दै मायाप्रीति बस्यो। बेलाबेलाको घुमफिर र घण्टौंसम्म फेसबुक मेसेन्जरको कुराकानीले उनीहरूलाई नछुट्ने बनायो। अन्ततः उनीहरू वैवाहिक डोरीमा बाँधिए।

विवाहको एक वर्षपछि छोरी जन्मी। घरको जिम्मेवारीसँगै सन्तानको जिम्मेवारी पनि थपियो। ऊ अब यताउता जागिरतिर भौंतारियो। स्नातक सकेको भए पनि कतै जागिर भेटिएन। एकदुईचोटि लोक सेवा पनि लड्यो। पार लाउन सकेन। सबैतिरको धैर्य टुटेपछि उसले विदेश जाने सोच बनायो र केही समयपछि दुबईतर्फ उड्यो।

दुबईमा सेल्सम्यानको जागिर। कमाइ राम्रै हुने छाँट आयो।

घरमा बुबाआमासँग बेलाबेला र बेलुका श्रीमतीसँग घण्टौं कुराकानी हुन्थ्यो। निद्रा नलागुन्जेल छोरी पनि फोनमा झ्याम्मिइरहन्थी।

‘पहाडको जिन्दगी। दुःख मात्रै कति गर्नु। छोरी स्कुल हाल्ने बेला भयो। यतातिर राम्रा स्कुल छैनन्। तपाईंको कमाइ पनि राम्रै छ। म पनि पढेकी छु। कतै सानोतिनो जागिर भेटिएला। यता त जागिर पाउन पनि गाह्रो छ। अब तराईतिर झर्नुपर्‍यो। त्यसो भए घडेरी खोज्न पनि सजिलो हुन्छ।

मेरो जागिरले घरखर्च र छोरीको पढाइ खर्च पुग्यो भने तपाईंको सबै पैसा बच्छ। अनि चाँडै हाम्रो घर पनि बन्छ। त्यसपछि पहाडबाट बुबाआमा पनि आफूसँगै झारौंला। त्यसो गरे हुन्न र बाबा !’ मनीषाले मायालु पाराले भनी।

‘ठिकै छ। त्यसै गरौं न त। तिमीले भनेको राम्रै हो। यस विषयमा बुबाआमासँग पनि सल्लाह गर्नुपर्छ। त्यसका लागि अगाडि नै गएर कोठा र छोरी पढ्ने स्कुलको बन्दोबस्त गर्नुपर्छ। कोही आफन्तको नजिक भए अलिक सजिलो होला। त्यसपछि बिस्तारै घडेरी खोज्न पनि सहज हुन्छ।’ अनिशले श्रीमतीको कुरामा सहमति जनाउँदै भविष्यका बारेमा थप योजना बुन्न थाल्यो।

‘हामी के भन्छौं त। भविष्य तिमर्कै हो। नातिनातिनालाई राम्रो ठाउँमा पढाउने भन्दा हामीले किन रोक्नु? त्यहाँमाथि बुहारीले पनि पढेकी छिन्। यसो जागिरसागिर पनि भेट्लिन्। तिमर्ले घर बनायौ भने हामी पनि यहाँ किन दुःख गर्छौं र? उतै झर्छौं नि।’ बाउआमाले पनि छोराबुहारीको लागि बाटो खोल्दिए।

सुनसरीको तरहरामा मनीषाको माइतीपट्टिका कोही आफन्त थिए। तिनैको सहयोग र सल्लाहमा मनीषा छोरी लिएर पहाडदेखि झरी। डेरा नजिकै छोरी पढ्ने स्कुलको बन्दोबस्त भयो।

तराई झरेपछि भनेजस्तो हुँदै गयो। छोरी बोर्डिङ स्कुलमा पढ्दै गई। केही समयपछि अलिअलि रिनपान गरेर तरहरामै दस धुर जग्गा पनि किने उनीहरूले। घडेरी मनीषाको नाममा पास भयो। घडेरी जोड्ने कुरामा खुसी भएर आफूले जोडजाड गरेको थोरबहुत रकम पहाडबाट बाबुआमाले पनि पठाइदिए।

       -                    -                           -                              -

‘बुढ ! दुःख–सुख तराईमा एउटा घडेरी पनि जोडियो। अब याँ आ’को पनि दुई वर्ष नाघ्यो। अब एकदुई महिनाका लागि घर आऊँ कि। त्यसपछि त कम्पनीले सेलरी पनि बढाउँछ जस्तो छ।’

‘होइन बुढा ! यत्रो त बस्नुभो। घडेरी किन्दाको केही ऋण पनि बाँकी छ। अब एक वर्ष बसेर तीन वर्ष पुगेपछि मात्रै आउनू। बिचमा आउनुभो भने उल्टै पैसा मात्रै खर्च हुन्छ। बरु उतै बसे सेलरी त जम्मा हुन्छ,’ मनीषाले यताबाट भनी।

‘पहिला त छिटो आउनू, छिटो आउनू, पैसा मात्रै सबै कुरा होइन। बरु एकै महिना बसेर जानू भनेर बल गरिरहन्थ्यौ त। अहिले के भो फेरि?’

‘त्यसो होइन बुढा। यत्रो त धैर्य गरेर बसियो। अब एक वर्ष दुःख गरेर बस्दा के हुन्छ त? ऋण तिरेर अलिअलि पैसा जम्मा भयो भने टिनको छानो हालेर भए पनि सानो घर बनाउनुपर्छ। उता बुबाआमा पनि घर कहिले बनाउँछौ, हामी यता एक्लै कति दुःख गर्नु? भनेर फोन गरिरहनुहुन्छ। के भो त त्यसपछि आफ्नै घरमा मस्ती गरौंला न है बुढा!’ मनीषा मस्की।

घर आउने उत्कट चाहना भए पनि श्रीमतीले दिएको सल्लाह उपयुक्त नै लाग्यो अनिशलाई। ‘आखिर एक वर्ष त हो। यत्तिको कमाइ पनि राम्रै छ। तराईमा घडेरी जोडियो। छोरी बोर्डिङमा पढ्दैछे। बिस्तारै बुढीले पनि कतै जागिर पाउली। अब एक वर्ष घर नगई दुःख गरियो भने त फेरि रिनपान गरेर टिनैको छानो भए पनि एउटा सानो भुइँतले घर ठड्याउन कसो नसकिएला। यसो गरे पहाडमा दुःख गरेर बसेका बाउआमालाई तराई झारी छोराको आर्जनमा सुख दिन सकिन्छ। छोरो भए पनि छोरी भए पनि अब एउटा अर्को सन्तान पनि चाहिन्छ। घरको बन्दोबस्त भयो भने लागेको ऋण तिर्न र थप केही पैसा जोहो गर्न एकचोटि त विदेश जानै पर्छ होला। त्यसपछि विदेश मात्रै कति बसिराख्नु, उतै परिवारसँग बसेर केही व्यापार व्यवसाय गर्नुपर्ला,’ अनिश भविष्यको मिठो सपनामा डुब्न थाल्यो।

‘तिमी पनि जागिर खोज न मनीषा। यसो बोर्डिङ पढाउन त पाउँछ्यौ नि। त्यसो भए मेरो पैसा पूरै बच्छ। तिम्रो सानोतिनो कमाइले घरखर्च र छोरीको पढाइ खर्च टर्छ। छोरी स्कुल जान्छे। कोठामा एक्लै के गछ्र्यौ?’ अनिश उताबाट भनिरहन्थ्यो।

‘बोर्डिङ स्कुलको मास्टरी जागिर त के खानु बुढा। तलब थोरै, काम बढी। एकछिन फुर्सद हुँदैन। बरु राम्रै जागिरका लागि लोक सेवाका किताब पढ्दैछु। अन्ततिर पनि प्रयास गर्दैछु। चुप लागेर त म पनि कहाँ बसेकी छु र ?’ अनिशलाई खुसी पार्न मनीषा यसो भन्थी।

        -                    -                           -                              -

‘छोरा, तँ अब तुरुन्त घर आइज। पैसा मात्रै ठुलो कुरो होइन। घर परिवारलाई पनि हेर्नुपर्छ। आफू साथमा भएजस्तो हुँदैन। तँ परदेशमा छस्। यताका कुरा सबै थाहा हुँदैन। बेला बितेपछि बिग्रेका कुरा सपार्न गाह्रो हुन्छ।

अचेल बुहारीको चाला त्यति ठिक छैन भन्ने सुनेको छु। म अस्ति नै जाँदा पनि बुहारीको व्यवहार पहिलाको जस्तो पाइनँ। तँ उता दुःख गर्छस्। बुहारीलाई पैसा पठाउँछस्। यता पैसा सञ्चिता भ’को छ जस्तो लागेको छैन। पैसा जमाउनेभन्दा उडाउने कुरा पो भइरहेको छ क? विचार गर् छोरा। हामीलाई त निकै चिन्ता लाग्न थालेको छ।’ एक दिन पहाडबाट बाले छोरासँग फोनमा चिन्ता व्यक्त गरे।

‘होजस्तो छ। पहिला लामो समयसम्म फेसबुक म्यासेन्जरमा कुरा गर्ने तर अहिले त्यस्तो कुराकानी हुँदैन। एकछिन कुरा गरेपछि मैले पढ्नुछ, छोरीको होमवर्क छ भनेर राखिदिन्छे। कहिलेकाहीं त कल नै उठाउँदिन। घर आउँछु भन्दा बेला भ’को छैन भन्छे। पहिला उसैले पटक पटक भिडियो कल गरिरहन्थी। अहिले मैले गर्दा पनि यस्तो काम छ, उस्तो छ भनेर त्यति धेरै बोल्न खोज्दिन। खालि कामको हतारो मात्र देखाउँछे। कहिलेकाहीं पैसा पठाउन ढिला भो भनेचाहिँ आफैंले गर्छे। छ महिना जति भो, यस्तो भ’को। कुरो पक्कै गडबड छ,’ अनिशले लख काट्यो।

केही समयपछि दुबईदेखि छुट्टी मिलाएर अनिश नेपाल आयो। काठमाडौं ओर्लेपछि बाउआमा भेट्न पहाडतिर नगई ऊ सिधै विराटनगर एयरपोर्ट झरेर तरहरातिर लाग्यो। पहिला त्यताहुँदि घुमेको र मनीषाले पहिला बताएको ठेगानाको लख काट्दै जाँदा उसलाई छोरीको स्कुल र उनीहरू बस्ने घर पत्ता लगाउन त्यति गाह्रो परेन।

मध्याह्न बेला। कोठामा चाबी लागेको छ। छोरी त स्कुल गएकी होली। ममीचाहिँ कहाँ गई त ? अलि परतिर छिमेकीकोमा गएर सोधखोज गर्दा मनीषा दिउँसोतिर प्रायः घर नबस्ने र प्रायः छोरीको छुट्टी हुने बेलामा मात्र कोठा आउने कुरा उसले थाहा पायो। सुटकेस त्यतै राखेर ऊ केही छिन टहलिन बजारतिर निस्क्यो।

जाँदाजाँदै अलि पर पुगेपछि उसले यस्तो दृश्य देख्यो कि एउटा होटलबाट एउटा लोग्नेमान्छे र महिला भित्रबाट निस्के। पुरुष त उसले चिनेन। महिलालाई चाहिँ प्रस्ट चिन्यो। त्यो उसकै श्रीमती मनीषा थिई।

यो दृश्य देख्नासाथ मुख्य बाटो छोडेर ऊ हतार हतार एउटा गल्लीतिर पस्यो। अनि यसो छलिएर उनीहरूको गतिविधि नियाल्न थाल्यो। दुइटै हँसिलो मुद्रामा थिए। केटाले मोटरसाइकल स्टार्ट गर्‍यो। मनीषा मस्किँदै उसको पछाडि टाँसिएर बसी। मोटरसाइकल ऊ अघि आएकै बाटोतर्फ लाग्यो। ऊ पछिपछि गयो।

एकछिनपछि कोठा पुग्दा घरमा ढोका उघ्रिराखेको। मनीषा भर्खर स्कुलबाट आएकी छोरीको कपडा खोल्दिँदै गरेकी। ऊ अलि वरबाटै मोडिएर अघिकै छिमेकीको घरबाट सुटकेस लिएर आयो।

सुटकेस गुडाउँदै जब ऊ घरको ढोकानिर पुग्यो र छोरीलाई बोलाउन थाल्या, छोरी भित्रबाट दौडेर आई र आत्तिँदै ‘ममी ! बाबा आउनुभो, बाबा आउनुभो’ भन्दै कराउन थाली। ‘के भन्छे यो’ भन्दै भित्रबाट कुद्दै मनीषा बाहिर निस्की। एक्कासी अनिशलाई देख्दा उसको वाक्य फुट्न पनि गाह्रो भयो। आकाशमा दिउँसै तारा लागेजस्तो, अचानक बिजुली चम्केजस्तो। उसले सुरुमा त पत्याउनै सकिन। यो सपना हो कि विपना?

‘होइन, तपाईं अचानक कसरी? केही थाहा पत्तो निदिईकन?’

अनिशका मनमा विभिन्न शङ्का–उपशङ्का मडारिँदै गए। मनीषाबाट पहिलेजस्तो व्यवहार पाउन सकेन उसले। यत्रो वर्षपछि विदेशबाट आउँदा पनि खुसी थिइन मनीषा। धेरैजसो उसको आँखा छलेर कतै फोनमा व्यस्त देखिन्थी।

छोरीसँग पनि झर्कोफर्को गर्थी। विभिन्न बहाना गरेर बाहिर निस्किरहन्थी। अनिशले विदेशबाट पठाएको पैसाको हिसाबकिताब खोज्दा दिन सकिन उसले। खाता खोलेको बैंक जान पनि मानिन। पैसा माइतीले चलाएका छन्, पछि दिन्छन् भनेर टार्न खोज्थी। यी र यस्तै कारणले उनीहरूको दिनदिनै झगडा बढिरह्यो।

अन्ततः उनीहरू सम्बन्धविच्छेद गर्ने निचोडमा पुगे। अदालतको फैसलाअनुसार छोरी अठार वर्ष पुगुन्जेलसम्म आमासँगै रहने भई। त्यो समयसम्म पढाइ र लालनपालनका लागि केही वर्षअगाडि किनेको त्यो तरहराको घडेरी श्रीमतीकै हुने भयो।

घडेरीको ऋण तिरेपछि झन्डै पाँच लाख रकम श्रीमतीको खातामा पठाएको थियो उसले। त्यो पनि उठाउन सकेन। अब ऊ रित्तो, केवल रित्तो भयो। आफ्नै कर्मलाई धिक्कार्दै उदास र उजाड मन लिएर तिनै बाउआमाको शरणमा आफ्नो जन्मस्थलतर्फ लाग्यो ऊ।

       -                    -                           -                              -

अनिश निदाएको छैन। उसका आँखाअगाडि झलझल आइरहे मनीषासँगका सुरुका प्रेमिल दिनहरू। जिन्दगीका मिठा सपना र त्यसपछि सपनाको सुन्दर महल भत्किएका दृश्यले उसलाई छाड्न मानेनन्।

‘ठ्याक्कै दस वर्ष भएछ मनीषासँग सम्बन्धविच्छेद गरेको। सम्बन्धमा दरार आउनुअघि उसको खातामा पठाएको पैसा उसले मोजमस्तीमा उडाई वा अर्कै नाठोले चप्काइदियो। बैंक खातामा पैसा नभेटेपछि मैले अरू हिसाबकिताब खोजिनँ। बरु, सम्बन्धविच्छेद गर्नै उचित ठानें। त्यो कलिली र अबोध छोरी उसैसँग रहने भई।

मुटुमाथि ढुङ्गा राखेर फेरि दुईपटक विदेश गएँ। अब विदेश पनि कति जानु। बाउआमा र आफन्तहरूले बिहे गर्न कर गरिराखेका छन्। मलाई अब बिहेप्रति खासै रुचि छैन। केका लागि बिहे? खुसी हुन वा तड्पिन?

हुन त, मनीषा पनि एक्लै छे। ऊ किन हिँडिन त्यो नाठोसँग? सायद, दुःख गरेको मेरो पैसा उडाइदिएपछि ऊ पनि टाढियो होला। के भो र केटा फेरी–फेरी मस्ती गर्न भ्याएकै होली। हैट् ! त्यसलाई मैले किन सम्झेको हुँला? तर के गर्नु, छोरीको माया लागेर आउँछ। ऊ आज तेह्रचौध वर्षकी भई। तर, बाउको माया पाउन सकिनँ। बाउआमा छुट्टिनुमा आखिर उसको के दोष छ र। कहिलेकाहीं बेलुका उसैले फोन गर्छे। आफ्नी मुटुको टुक्रासँग थोरै बोल्न पाउँदा पनि कति आनन्द लागेर आउँछ।’ अनिशभित्र सोचाइका तरङ्गहरू अझै शान्त भएनन्।

केही दिनपछि अनिशलाई फेरि छोरीको फोन आयो।

‘बाबा ! तपाईंसँग भेट्न मलाई कति मन लागेको छ। तपाईं मधेस झर्नुहुन्न?’

‘आउँछु छोरी। यसपालि आ’को बेला तिमीलाई भेट्छु।’

‘पक्का?’

‘पक्का।’

बाउछोरीको यो कुराकानी भएको एक हप्तापछि अनिश पहाडबाट इटहरीतिर झ¥यो। पुगेकै दिन बेलुका छोरीलाई त्यही पुरानै नम्बरमा फोन ग¥यो।

‘हेलो ! अमिरा हो?’

‘होइन। म मनीषा बोलेकी।’

‘अमिरालाई पाऊँ न,’ उसले आमाचाहिँसँग अरू बोल्न चाहेन। मनीषाले अनिशले फोन गरेको भन्ने थाहा पाइहाली। बोल्न त खोजी तर उताबाट अरू शब्द आएन। उसले छोरीलाई फोन दिई।

‘बाबा ! तपाईं काँ हो?’

‘म यतै आ’को छु छोरी! तिमीलाई काँ भेटौं त?’

‘कैले भेट्ने? भोलि?’

‘हुन्छ,’ उनीहरूले भेट्ने ठाउँ र समय निर्धारण गरे।

भोलिपल्ट दिउँसो उनीहरू तरहराको एउटा सेकुवा खाजाघरमा भेट भए। भेट हुनासाथ छोरीले बाउलाई अँगालो हाली। दुवैका आँखाबाट आँसु बर्सिए। बोल्न सकेनन्। निकै बेर मौनता छायो। स्थिति अलि सामान्य हुँदै गएपछि अचानक मनीषा पनि त्यहीं आइपुगी।

 मनीषाले अनिशलाई हल्का मुस्कानका साथ नमस्ते गरी। मनीषालाई त्यहाँ देख्नासाथ अनिशले अप्ठ्यारो महसुस गर्‍यो। बसौं कि जाऊँ, के गरौं के गरौं जस्तो भयो। केही बेरको सन्नाटापछि अब अमिरा बोल्न थाली–

‘बाबा ! तपाईं र ममीबिच के के भयो। मलाई धेरै कुरा त थाहा छैन। तपाईं अचानक हराउनुभो। बाबा कहिले आउनुहुन्छ ममी? भनेर सोध्दा विदेश जानुभ’को छ, पछि आउनुहुन्छ भन्नुहुन्थ्यो। तर, त्यो पछि मेरा लागि कहिल्यै आएन। मैले यत्रो समय बाबाको माया पाउन सकिनँ। अरूका बाबा देखेर मलाई रुन मन लाग्थ्यो।

तपाईंहरूको डिभोर्स भएको कुरा मैले धेरैपछि मात्र बुझें। ममी एक्लै बसेर तपाईंको फोटो हेर्दै रोएको पनि मैले कति चोटि देखेको छु। अब म बुझ्ने भएकी छु। एसइई दिने बेला पनि भयो। मैले था पा’की छु, तपाईंले पनि अर्को बिहे गर्नुभ’को छैन। मैले थाहा नपाउँदा सुरुसुरुमा ममीबाट केही गल्ती भ’को भए पनि अहिले मैले देख्दा ठिक हुनुहुन्छ। उहाँको गलत कार्य मैले देखेको छैन। तपाईंहरूले ममाथि यत्रो खेलबाड गर्नुभो। मेरो बाल अधिकार र भविष्यका बारेमा सोच्नुभएन।

मैले बाउआमा प्रेमले हाँसेको बोलेको देख्न पाइनँ। अनि म पनि कसरी खुसी हुन सकौं। मेरो बिन्ती छ, तपाईंहरूले आफ्ना पुराना गल्ती बिर्सेर फेरि एक हुनुहोस्। सँगै बस्नुहोस्।

 कृपया ! मेरो खुसी फर्काइदिनुहोस्। फेरि सम्बन्ध जोडेर दुनियाका लागि एउटा उदाहरण बन्नुहोस्। त्यसका लागि मैले के त्याग गर्नुपर्छ, म तयार छु। मैले यही योजना बनाएर तपाईंहरूलाई यसरी भेट गराएकी हुँ।’

यति कलिली छोरीको यस्तो प्रौढ कुरा सुनेर बाउआमा दुवै रोए। केहीबेरको भावपूर्ण मौनतापछि मनीषाले झोलाबाट पाँचवटा हजार–हजारका बिटा पैसा निकाली। ‘यो हजुरले विदेशबाट दुःख गरेर कमा’को पैसा। मैले घडेरी पनि खाइमासेकी छैन। त्यो पनि हजुरकै नाममा पास गर्दिन्छु। सुरुमा हजुर विदेश हुँदा मेरो बुद्धि बिग्रेकै हो।

मेरो के बुद्धि आयो र अर्काको जालमा फसें। उसले मेरो बैंस र हजुरले कमा’को पैसाबाट मस्ती गर्न खोजेको रहेछ। विभिन्न बहानामा उसले मसँग पैसा माग्थ्यो। पछि फिर्ता होला भनेर मैले पनि दिँदै गएँ। उसले ममाथि प्रेमको नाटक गर्‍यो। मैले हजुरप्रति ठुलो घात गरें। पछि हाम्रो सम्बन्धविच्छेद भएको थाहा पाएपछि ऊ अचानक गायब भयो।

म पनि पूरै रित्तिएँ। त्यसपछि मलाई जीवनप्रतिको कुनै राग बाँकी रहेन। खर्च जुटाउन र आफूलाई व्यस्त बनाउन सानोतिनो जागिर खोज्ने क्रममा यही छोरी पढ्ने स्कुलमा पढाउने काम पाएँ। झन्डै डिप्रेसनमा पुगेकी मलाई त्यो मास्टरी जागिर, केटाकेटी र शिक्षक साथीहरूसँगको घुलमिलले मन बहलाउन सजिलो भयो। सक्नुहुन्छ भने मलाई अज्ञानी सम्झेर हजुरले माफ दिनोस्।’ मनीषाले आफूलाई आँसुसँगै पोखी।

यसबिचमा अनिशले अर्डर गरेबमोजिम तीन ठाउँमा खसीको सेकुवा र चिसो पेय आयो। खाइसकेपछि अनिशलाई उछिनेर मनीषाले नै छिटोछिटो त्यसको पैसा तिरी।

  -                    -                           -                              -

यस भेटको केही समयपछि, यी तीन जना मनुष्य इटहरीमा नयाँ फ्ल्याट लिएर सँगै बस्न थालेका छन्। खुसीले कम्ती मात्तिएकी छैन अमिरा। बाउलाई एकैछिन छोड्दिन अचेल। अनिशले त्यहीं नजिकै धरान जाने बाटोमा एउटा हार्डवेयर पसल खोलेको छ।

मनीषाले स्कुल पढाउन छोडेर अनिशलाई व्यापारमा सघाउँदैछे। फेरि अर्को बच्चा पाउने तरखरमा छे ऊ। त्यही पुरानो घडेरीमा एउटा सानो सपनाको घर बनाउँदैछन् उनीहरू। पहाडबाट बाउआमा पनि मनभरि खुसीको कुम्लो–कुटुरो बोकेर छोराबुहारी भएतिरै बाटो लागिसकेका छन्।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App