१) मुक्तक
हरेक वस्तीहरूमा छ अभावको कथा कसले के भन्ने?
समाजमा जेलिएको छ पुरातन व्यथा कसले के भन्ने?
सोझा लुटिएकै छन्, पिल्सिएकै छन् दिनदिनै जस्तो,
कहिले हुन्छ सुरक्षित खै सबको जेथा कसले के भन्ने?
२) मुक्तक
एक अनौठो उदाहरण बनाएको छु यो मनलाई,
तिम्रो मायाको व्याकरण बनाएको छु यो मनलाई।
कहिले मान्छ, कहिले मान्दै मान्दैन यो मन किन,
त्यसैले करण, अकरण बनाएको छु यो मनलाई।
३) मुक्तक
ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ।
गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ।
लगातार नियतिले पछारेको सम्झना छ मलाई,
रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।
४) मुक्तक
एक स्वप्निल रहर हुनुपर्छ बांँच्नका लागि।
शान्त मनको शहर हुनुपर्छ बाँच्नका लागि।
जतिसुकै आदर्श बोकोस मान्छेको जातले,
दुई मुटुको एक लहर हुनुपर्छ बाँच्नका लागि।
५) मुक्तक
तिमी नै हौ मेरो प्यार, खुलेआम भन्न सक्छु।
बनेर म सिता तिमीलाई, राम भन्न सक्छु।
तिम्रै आकाशमा उदाउनु र अस्ताउनु छ अब,
कसम तिम्रो मायाको न्यानो घाम भन्न सक्छु।
६) मुक्तक
सपनाको पनि एक भिन्न आकार हुने गर्छ,
कुनै बेलाको कल्पना पनि साकार हुने गर्छ।
साँचो प्रेम त्यतिबेला मात्र सम्भव छ है प्रिय,
जब दूरी हटाउँछ मनले र एकाकार हुने गर्छ।
७) मुक्तक
हाँगाबाट टुक्री झरेको पात हुने मन छैन।
जाँगरबिनाको निकम्मा हात हुने मन छैन।
मलाई त फुल्ने मन छ यी पाखा पखेरामा,
रुवाउने व्यर्थ दुश्मनी जात हुने मन छैन।
८) मुक्तक
तिम्रो मुस्कानले घाइते हुने प्रहार चाहन्छु,
हो तिमीसँग म एक प्रेमिल संसार चाहन्छु।
पागल हुनु छैन तर मरिदिन तयार छु बरु,
बाँच्नकै लागि त्यो दिलको कारागार चाहन्छु।
९) मुक्तक
मुखले रामराम बगलीमा छुरा बोक्नेहरू छन्,
आदर्श र सिद्धान्त मात्र जहिले घोक्नेहरू छन।
के गर्न सकिन्छ र यस्ता कोखमा दाँत हुनेलाई,
केही गरेको छैन भन्दै आगोमा झोक्नेहरू छन्।
१०) मुक्तक
कहिल्यै भनिएन मनको पीर यहाँ,
न त देखाइयो आँखाको नीर यहाँ।
मुस्कुराउँदै बाँच्नुपर्छ ,सिकेकी छु,
कर्मले बदलेर सधै यो तक्दिर यहाँ।
प्रकाशित: १४ फाल्गुन २०८० १४:०१ सोमबार