२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अटिजम अध्ययनमा अवरोध

यस्ताे पनि!

गत वर्ष १६ वर्षीया क्याटलिन स्कट लीले आत्महत्या गरिन्। बकिङ्घमसायरस्थित वाइकम्बे एबे स्कुलमा अध्ययनरत उनी अटिजम पीडित थिइन्। अटिजम भएका बालबालिका वा वयस्कहरूमा संवाद गर्न समस्या हुन्छ। अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।

क्याटलिनको मृत्युपछि क्याम्ब्रिज विश्वविद्यालयले उनका अभिभावकहरूसँग मृत्युको कारण बुझ्न निजी डायरी अध्ययन गर्न चाह्यो। बेलायतको द टाइम्स पत्रिकामा प्रकाशित समाचारअनुसार यसका लागि अटिजम रिसर्च सेन्टरका निर्देशक तथा प्राध्यापक सिमोन बारोन कोहेनले अगुवाई गर्ने भए।

अटिजम भएका किशोरकिशोरीमा आत्महत्याको दर निकै छ। प्राध्यापक कोहेनको अध्ययनले अटिजम र आत्महत्याको तीव्रतामाथि गहन विश्लेषण गर्ने अपेक्षा गरिएको थियो।

क्याटलिनले आफ्नो दैनिकी लेख्ने गरेकी थिइन्। उनी र उनीजस्तै अटिजम भएका तर आत्महत्या गरेकाहरूको डायरी अध्ययन गर्र्दा अटिजम भएकाहरूको शिक्षा, स्वास्थ्य, हुर्काइ र हेरचाहमा पनि सघाउ पुगिने साथै, डायरीमा उनीहरूको विचार, उनीहरूको क्रोध र खुसी सबै अंकित हुने हुनाले त्यो अध्ययन फलदायी हुने अध्येता सिमोनको अपेक्षा थियो।

विश्वविद्यालयले ‘अटिजम र आत्महत्या’ अध्ययन गर्ने खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा यसको विरोधमा केही समूह लागिरहेका थिए। यस किसिमको अध्ययनले आत्महत्या गर्ने व्यक्तिहरूलाई अमानवीय प्रमाणित गर्ने र तिनको निजत्व खोसिने भएकाले अध्ययन रोकिनु पर्ने विरोधीहरूको धारणा थियो। त्यसैले हाललाई भने विश्वविद्यालयले भने यो अध्ययन रोक्ने भएको छ।

उता अध्येता कोहेन भन्छन्, ‘अटिजम भएकाहरूको आत्महत्या दर चिन्ताको विषय हो। तिनको आत्महत्या दर घटाउनु अध्ययनको प्रमुख दायित्वसमेत हो।’ यसअघि अध्येता कोहेनले १० हजार अटिजम भएका परिवारहरूको डिएनए नमुना लिइनुपर्ने धारणा राखेका थिए। सो धारणाको पनि चर्को विरोध भएको थियो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ११ फाल्गुन २०८० ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App