१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

कवि तथा गीतकार कला सेरेङको कविता तथा गीतसङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृति सार्वजनिक गरेका हुन्।  

अढाइ दशकदेखि कर्मथलो हङकङमा रहेको सेरेङको यो पहिलो कृति हो। कृतिमा ११४ शीर्षकका गीत तथा कविता छन्। परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन्। मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रीतिका शब्द उनिएका छन्।

कृतिबारे उपकुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताए। उनले कला, साहित्यले देशमा परिवर्तन ल्याउन, मानिसलाई रुवाउन र हँसाउन शक्ति रहेकाे बताए।

उनले विदेशमा बस्ने नेपालीहरूले साहित्यलाई धेरै माया गर्ने गरेको पाएको भन्दै कवि कला सेरेङलाई शुभकामना दिएका थिए।

कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीतमार्फत पस्कन खोजेको बताए। उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिंदै जाने बताए।

कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताए। ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ।’

कार्यक्रममा विनोद चोङबाङले संयोजन गरेको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखेका छन्।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कला साहित्यमार्फत मानिसका भोगाइ र बिम्बहरू प्रस्फुटन हुने बताए।

कार्यक्रममा प्राडा नृसिंह कुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद श्रेङ्ग, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, गीतकार सुरेन्द्र राना, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, सुनुवार सेवा समाज अध्यक्ष अमृत बहादुर सुनुवार श्रेङ्ग समाज काठमाडौका अध्यक्ष दुर्गा श्रेङ्ग, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतनाथ धमल, गितकार सरिता राई लगायतको उपस्थिति रहेको थियो।

यस्तै कला सेरेङको ‘अतितका यादहरू’ गीति भिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन्। प्रसिद्ध गायिका अन्जु पन्तले गाएकी छ।

उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ। परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ। त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन्। सीएम सुनुवार वाम्बूले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायक समेत हुन्।

प्रकाशित: ७ फाल्गुन २०८० १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App