५ वैशाख २०८१ बुधबार
कला

‘रुवाउने माया’ गीतमा स्वार्थी दम्पत्तिको कथा

गीतकाे अन्तर्भाव/समीक्षा

एउटा ठिटो मजदुर अर्को मजदुरलाई घनले हानेर मार्न खोज्छ। उसले सिधै घनले हान्न सक्दैन। जोडजोडसँग ढुंगामा घन बजार्दा चन्द्रेको टाउकोमा लाग्छु र ऊ भुइँमा ढल्छु। चन्द्रेकी श्रीमती रुँदै आउँछे र फररर धोती फुकाली धररर च्यातेर रगत बगिरहेको लोग्नेको टाउको बाँधिदिन्छे। ठिटो मजदुरले गोजीबाट सिन्दुर निकालेले चन्द्रेकी श्रीमतीको सिउँदोमा पोखिदिन झम्टन्छ। तर, अरू ज्यामीले उसलाई समातेर पछार्छन्। ठिटो ज्यामीले त्यहीँ प्राण ओकेल्छ।

उता, उपचार गर्न लोग्नेलाई लिएर पवित्रा शहर जान्छे। शहरमा सुन्दर युवक डा. पल्लवसँग पवित्राको गहिरो प्रेम बस्छ। लोग्नेको उपचार सकिएर घर फर्कने बेलामा पवित्रा र पल्लव रुँदै एक अर्काको आँसु पुछिदिएर फेरि रुँदै फर्कन्छन्। गाउँ फर्केपछि पल्लवको सम्झनामा पवित्रा पागल हुन्छे। चन्द्रेले पनि अर्कै गाउँकी मिश्रीलाई घर भित्र्याउँछ। लोग्नेले कान्छी श्रीमती ल्याएपछि पवित्राले कहिल्यै गाउँ नफर्किने गरी घर छोडेर डा. पल्लवसँग विहे गरी घरजम गर्ने सपना बोकेर शहर जान्छे। उता डा. पल्लव पवित्राले धोका दिएको भन्दै भर्खरै मात्र कहिल्यै देश नफर्किने गरी विदेश जान्छन्। विमानस्थलमा पल्लवसँग भेट नहुँदा पवित्रा त्यहीँ मुर्छा परेर ढल्छे। होसमा आउँदा ऊ देवघाटमा भक्तजनसँग हाँसेर जीवन बिताइरहेकी हुन्छे। हिजाआज ऊ रुवाउने मायाबाट मुक्त भएर ईश्वरको मायाले हाँस्न सिकेकी छ।

यो कथा सञ्चारकर्मी अनिल नेपालीको भर्खरै मात्र बजारमा आएको सामाजिक कथामा आधारित गीत ‘रुवाउने माया’ मा उठाउन खोजिएको विषयवस्तु र बेजोड कथा हो। यो गीतको यतिबेला समीक्षा हुन थालेको छ। सर्वोत्तम च्यानल युट्युवमार्फत सार्वजनिक भएको गीतमा गरीब र निःसन्तान दम्पत्तिलाई एक अर्काको मायाले कसरी रुवाउँछ भन्ने कथा प्रष्ट रूपमा देखाइएको छ। मार्मिक शब्दसंयोजन रहेको गीतमा सधैंका लागि गाउँ छोड्ने र सधैका लागि देश छोड्ने बीचको आकस्मिक प्रेमले अनन्त रुनुपरेको कथा पनि सरल तरीकाले देखाइएको छ।

पवित्र प्रेमको खोजीमा भौतारिँदै हिँडेकी कथाकी मूल पात्र पवित्रा र डा.पल्लवको वियोगान्त विछोड सबैभन्दा मर्मस्पर्शी छ। उक्त गीतमा लय तथा शब्द अनिल स्वयम्को छ भने स्वर अनिल र अनुजा पुडाशैनीको रहेको छ। दिलिप परियार र मिना परियारको मुख्य अभिनय रहेको भिडियोलाई अनिलले नै निर्देशन गरेका हुन् भने कलाकार लोकेश एन.पी.ले छायांकन गरेका हुन्। फरक कथावस्तुको साथ नेपाली संगीतमा बलियो इँटा थप्न अनिलले नेपालीले केही हप्ताअघि सामाजिक कथामा आधारित गीत ‘रुवाउने माया’ सार्वजनिक गरका थिए। नयाँ पुस्ताको रुचिमा पर्ने नृत्यधुन मिश्रित करुण रसमा गाइएको यो गीतमा शब्द, संगीतको बेजोड संगम रहेको छ।

आज माया परपर बन्छे

मायाले पेट भरिँदैन भन्छे

मालीगाईलाई वनमा घाँस छैन

मलाई रुवाउने मायाले

मलाई हँसाउला भन्ने त

कति नि आश छैन

यसअघि अनिलका ‘साइँली’, ‘पियारा तिमी आउँछौ कहिले’, ‘सम्झिने नि मै छु तिमीलाई’, ‘जय जय शिव’, ‘धागो चङ्गामा’ जस्ता गीतह श्रोतासामु आए पनि उनको अहिलेसम्मकै बलियो सिर्जना हो– रुवाउने माया। पछिल्लो समय बजारमा चलेका दोहोरी गीतको तुलनामा यो गीतको मुड र धार पृथक छ। यो मौलिक लोक भाकाको गीत हो, जसको शब्द/सङ्गीतले सबैको मन छुन्छ।

‘रुवाउने माया’ की विरही पात्र मिनाको पहिलो अभिनयलाई पनि सबैले मन पराएका छन्। उनको हाँसो र रोदनले पोख्त अभिनयको प्रंशसा भएको छ। व्यवसायीकताभन्दा टाढा रहेर अनिलले गरेको विशुद्ध सन्देशमुलक सिर्जना हो यो। भ्यूजको आधारमा गीतको भिडियो विस्तारै उकालो चढ्दै गए पनि अनिलको सन्देशमुलक र आशालाग्दो सिर्जनाको रूपमा यसलाई लिन हिच्किचाउनु पर्दैन। यो गीतमा मर्मस्पर्शी कथानक भिडियो बन्न सक्ने कथा अटाएका छन् अनिलले। नारी पात्रको विद्रोही भावले पनि गीतलाई अर्थपूर्ण बनाएको छ।

जता पुग्छु उतै आगो बाल्छु

जहाँ पुगे नि आफ्नो ज्यान त पाल्छु।  

       -     -       -     -

अर्काकी छोरीलाई रुवाउँछौ दिनदिन

तिमीले पनि मर्नु छ कुनै दिन

 -     -       -     -

जस्छ लाश खरानी घसेर

कोही त हाँस्छ छेवैमा बसेर

सामाजिक कथावस्तुलाई जस्ताको तस्तै शब्द÷सङ्गीतमा उतार्न अनिल यो गीतमा गज्जबसँग पोखिएका छन्। भावमा डुबेर सुन्दा यो गीतले जोकसैको शरीरमा काँडा उमार्छ। गीतलाई उत्पीडनमा परेको दाम्पत्य जीवनको साझा आवाजको रूपमा स्वीकारिएको छ। गीत झट्ट सुन्दा मनोरञ्जनात्मक सुनिन्छ तर गहकिलो सन्देश बोकेको छ।

दर्शक/स्रोताले सहजै टिप्ने र गुन्गुनाउनले शब्दहरू भएकाले यो गीत लोकप्रिय बन्दै गइरहेको छ। धनसम्पत्तिभन्दा  सुखी दाम्पत्य जीवन बाँच्न पवित्र प्रेम चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ यस गीतले। ठोस विषयवस्तुलाई कोमल शब्दसङ्गीतद्धारा गीतमा उतार्न सफल अनिल एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील छन्। उनका दैनिक पत्रपत्रिकामा लेख, रचना प्रकाशनसँगै आधा दर्जन साहित्यिक कृति प्रकाशित छन्।  

प्रकाशित: ७ फाल्गुन २०८० १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App