२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेल

सिर्जना अभियान समाजको साहित्यिक श्रृखंला सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेललाई प्रस्तुत गरियो। कथा, कविता, गीत र संस्मरण लगायतका विभिन्न विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा ढुङ्गेलले मुलुकबाट टाढा पुगे पनि आफ्नो देश र माटोको माया लाग्ने बताए। त्यही मायाले नै आफूले साहित्यमा आफ्ना अनुभव र भोगाइले उतारेको बताउँदै बाँच्नुको सार्थकताको लागि पनि देखेभोगेको सत्यलाई उतारिरहेको अभिव्यक्ति दिए।

कार्यक्रममा स्रष्टा ढुङ्गेलको साहित्यिक व्यक्तित्वबारे बोल्दै समालोचक युवराज मैनालीले सँगै पढेको साथी भए पनि धेरैपछि मात्र लेखकको रूपमा चिनेको बताए। समालोचक मैनालीले स्रष्टा ढुङ्गेलको लेखनमा विकृतिमाथि प्रहार गर्नुका साथै स्थितिलाई फरक ढंगले हेर्ने कोण रहेकाे बताए।

गीतकार सुवासचन्द्र ढुङ्गेलले स्रष्टा शेखर सानैदेखि विद्रोही स्वभावको भएकाले उनका रचनामा पनि त्यसैको छनक पाएका बताए।

कथाकार ध्रुव मधिकर्मीले शेखरको लेखनलाई विभिन्न कोणबाट हेर्न सकिने बताए।

कार्यक्रममा स्रष्टा ढुंगेललाई कवि महेश प्रसाई, डा. तारा निरौला र गायक विनोदराज ढुङ्गेलले शुभकामना दिएका थिए।

विदेशमा रहेर पनि नेपाली साहित्यका विविध विधामा सिर्जनारत् रहेर विशिष्ट योगदान गरेवापत स्रष्टा शेखरलाई सिर्जना अभियान समाजले सम्मान गरेको थियो।

समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्य तथा सङ्गीत क्षेत्रका डा. शशी थापा, माणिकबाबु ग्वंग, हिमलाल श्रेष्ठ, दुर्गा किरण तिवारी, राजेशमान केसी, लक्ष्मी बैद्य, हरिगोविन्द भोमी, हरिकृष्ण बखुन्छे, सत्यन मानन्धर, विमल ताम्राकार, मिमला शर्मा, नवीना श्रेष्ठ, इन्दिरा चापागाई, सुनिता निरौला र यमुना प्रधानांग लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

स्रष्टा ढुङ्गेलका शेखरका सय गीत (कवित), माटोको सुगन्ध (गीत), कहाँ छ मेरो देश (संस्मरण), क्षितिजपारिका सपनाहरू (कथा) र जात (कथा) लगायतका कृतिहरू प्रकाशित छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App