क्षितिजले एक हुल उज्यालो घरभित्र पठाएपछि
जब यो धर्ती छोए
र जिउँदो हुँ भन्ने प्रमाणको निम्ति
रुवाइको पहिलो आवाज
यो दुनियाँलाई सुनाए।
मेरो अस्तित्व पहिचान गर्न
मलाई छोइएर हेरियो
“छोरी जम्मिएछिन् तोल्मा तिम्रो“
कोकूको यो आवाज घरभरि पोखियो
भयानक सपनाबाट तर्सी बिउँझिएर
चकमन्न मध्यरात अनुभूत गरेजस्तै
अनुहार लिई
आपा कोठाबाट बाहिरिनुभो।
पीडा ओठको एकापट्टि कुनामा लुकाई
मुस्कुराउँदै आमाले
मेरी छोरी भनी अनन्त प्रेम खनाई
म पुलकित भै आमाको छातीमा टाँसिएँ
आमाको आँखाबाट आविर्भूत झरेको आँसु
मेरो अनुहारमा परे
के अर्थ थियो?
त्यो आँसुको!
मेरो अबोध शिशुपनको अगाडि पहाडझैं उभियो।
लामो समय प्रश्न बोकेर उभिएको
आँसुको अर्थ खोजें
पल्टाएर धर्मग्रन्थका पानाहरू
खोतलेर इतिहासहरू।
थाहा भयो!
जब हाम्रा मुन्धुम च्यातेर/जलाएर
यी निरंकुश शासकहरूले
वेदशास्त्र र वधू शिक्षा आख्यान
जबर्जस्ती घोक्याउन थाले
त्यही समय कम्मरमा भिरेको खुर्पा र
चौबन्दी तुनामा बाँधिएको बिनायो, मुचुङ्गा फाली
सिम्माहरू मन्दिर पसे
लोग्नेको सराप पाई अहिल्याझै पत्थर हुने डरले
गोडा धोएको पानी पिउन थाले
कतै गिद्धे नजरबाट वचन
बुर्का लगाउन थाले।
साँच्चै! आमा त्यही दिनदेखि
छोरी जन्मिदा प्रत्येक आमाहरू रुन थाले।
आमा!
तिम्रो त्यही आँसुको कसम खाएर भन्छु
आइन्दा छोरी जन्मिदा कुनै आमाहरूले रुनुपर्ने छैन
पल्टाएर पढ त प्राचीन इतिहासहरू
यहाँ सुम्निमाहरू कहिले हारेका छन्?
बरु मातृसत्ता मुस्कुराएको भेट्ने छौ।
आज घाम आधा मात्र उदाएको छ
यही चेतनाको डाकमा च्यातेर धर्मग्रन्थ र वधू शिक्षा पानाका
नयाँ संस्करण लेख्दै
छोरीहरु मान्छेका समानान्तर जिन्दगीका
दस्तावेज लोकार्पण गर्न लामबद्ध उभिंदै छ्न।
-आस्था कोपिला
प्रकाशित: १ फाल्गुन २०८० १३:४१ मंगलबार