coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रामराज्य

लघुकथा

(१ ) श्रद्धा

वाग्मती स्नान र पशुपति दर्शनपछि ऊ पत्नीतिर फर्क्यो, छोराबुहारीले निम्तो पठाएका छन्, मान्न जाऔं।’

उनीहरू पुग्दा छोरा मन्त्र पढ्दै थियो, ‘ॐ अद्येत्यादि.....त्वं मया निमन्त्रितः ....।’

बुहारी सघाउँदै थिई।

उनीहरूले आसन ग्रहण गरे। छोराबुहारीले श्रद्धा भावले दिएको अन्नजल पनि ग्रहण गरे।

पितृकर्म सकिएपछि छोराबुहारीले ढोगे। आशीर्वाद मागे। दुवैले आनन्दित मनले आशीर्वाद दिए।

‘पितृकर्म त राम्ररी नै गरे।’

‘विदेशमा यस्तै हो। पुरेतबिना आफै यति गर्नु पनि ठुलै कुरा हो।’

‘हुन त हो तर विधि पुगेन जस्तो लाग्यो मलाई त!’

उसले बुढीको मुखमा पुलुक्क हेर्यो। तृप्तिको भावमा भन्यो, ‘विधि पुगेन त के भो, श्रद्धा पुगे भइहाल्यो!’

२) पछुतो

भूकम्पले ढलेको घर सम्झिदै आहत मन लिएर बबुरो छोरोको हात समाएर आकाशतिर आसे आँखा लाइरहेको थियो। घरीघरी ठुलो आवाज गरेर हेलीकोप्टर आउँथ्यो, एक फन्को मार्थ्यो; फर्किन्थ्यो। हेलिकोप्टर नबसी फर्कने गर्न थालेपछि छोरोको पटकपटकको प्रश्नमा ऊ जवाफ दिन थाल्यो,‘खोई राहत?‘

‘हेलीले ल्यायो।’

‘खोई हेली?’

‘नेताले उडायो।’

‘खोई नेता?’

पछुतो मान्दै उसले भन्यो, ‘चुक्यो!’

छोराले बुझेन। सोध्यो, ‘को चुक्यो बुबा? नेता कि हामी?’

 ‘दुवै।’

३) रामराज्य   

‘ऊ! त्यहाँ के भइरहेको छ?’ मेरो विदेशी मित्रले जिज्ञासा प्रकट गर्‍याे।

‘जाउँ न त हेरौं।’ भन्दै म अघि लागें।

चौरको दुई छेउमा दुईवटा भिन्नाभिन्नै कार्यक्रम आयोजना गरिएको रहेछ। एउटा छेउमा द्वन्द्वको क्रममा मारिनेलाई सहिद घोषणा गरिदै थियो। अर्को छेउमा सोही मान्छेलाई सहिद बनाउनेलाई महान् क्रान्तिकारीको दर्जा दिएर अभिनन्दन गरिंदै थियो। दुवै कार्यक्रममा माननीय र सम्माननीयहरूको बाक्लै उपस्थिति थियो।  

हामी ढुक्क भएर कार्यक्रम हेर्दै थियौं। म अभ्यस्त भएर ढुक्क थिएँ। ऊ नबुझेर ढुक्क थियो। दुवै कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भयो। मित्रले मेरो मुखमा पुलुक्क हेर्‍याे र केही नबुझेको जस्तो गरी थप जिज्ञासा राख्यो। मैले बेलीविस्तार लाएँ।

उसले सोध्यो, ‘मारिनेलाई तपाईंहरू सहिद भन्नुहुन्छ अनि मार्नेलाई के रे?’  ‘क्रान्तिकारी।’

‘अनि दुवै कार्यक्रम सँगसँगै एउटै चौरमा!‘ उसले आश्चर्य मान्यो।

‘आश्चर्य मान्नु पर्दैन मित्र! कहिलेकाहीं यस्ता कार्यक्रम एउटै मञ्चमा पनि सम्पन्न हुन्छन्।’

उसले लेघ्रो तान्दै भन्यो, ‘वाउ! सन्सारको आठौं आश्चर्य रहेछ यो मुलुक त! मर्ने मार्ने दुवैलाई सन्मान दिइदो रहेछ। गजब!’

मैले भनें, ‘गजब मान्नु पर्दैन मित्र! यहाँ ब्वाँसो र बाख्रा एउटै नदीमा सँगसँगै पानी पिउँछन्।’

‘असम्भव पनि सम्भव हुन्छ कतै?’ उसले फेरि साेध्याे।

मैले झर्को नमानी भनेँ, ‘हुन्छ  किन नहुनु, यहाँ रामराज्य जो छ!’

४) बलिदानी  

‘ल हिंड् भेट्ने समय समाप्त भयो!’ हकारेको आवाज सुनियो। सुकिलामुकिला हातहातमा अबिर, फूल, माला र खादा लिएर आआफ्नाहरूलाई सजाउँदै थिए। आआफ्नो कित्तामा उभिएकाहरू सामाग्री थाप्दै थिए। सुन्ने जतिले आवाजतिर हेरे, नसुन्नेहरू कार्यक्रममै व्यस्त देखिए। एक्कासि आएको आवाजले सुन्नेहरूमाझ खैलाबैला मच्चियो। धेरैका हंस हरायो। थोरै ढुक्क देखिए।

केही सुन्दर वस्त्रमा सजिएका अनुहारहरू देखापरे। निधारमा अबिर, गलामा फूलमाला लगाएकातिर फर्केर श्रद्धाले दुई हात जोरे। उनीहरूको बलिदानको गाथा गाए। अनि आफन्तबाट सम्मानित भएर पनि रित्तिएका र स्वार्थसिद्धिका लागि पगरी पहिराइएकातिर फर्केर भने, ‘ देखिए तिमीहरूका नक्कली बलिदान अब हिंड यमलोक आआफ्ना स्वार्थका कुम्लो बोकेर।’

५) प्रच्छन्न

‘भिरबाट खस्न लागेको गोरूलाई ...’ ऊ भन्दै थियो बिचमै लालबुझक्कड प्वाक्क बोल्यो, ‘रामराम भन्ने हो।’

उसले निधारमा गाँठो पार्दै भन्यो, ‘पूरा कुरा त भन्न देऊ।’ 

‘लल भन पूरा कुरा, के भन्न खोजेको हो।’ लालबुझक्कड बोल्यो।  

‘भिरबाट खस्न लागेको गोरूलाई काँध थाप्नेलाई के भन्छन् अरे?’ उसले सोध्यो।

अर्काले जवाफ फर्कायो,‘महागोरू।’

‘के रे? बढ्ता हुने होइन है!’ लालबुझक्कड रातोपिरो भयो।

दुई पक्षबिच निकै चर्काचर्की भएपछि मध्यस्थता गर्नेले दिक्क मान्दै भन्यो, ‘गोरुको राइँदाइँ, महागोरू स्वार्थमा; बहरहरू सिंगौरी खेल्दै।’

‘कहीं नभएको जात्रा ...।‘ उसले अधुरो वाक्य बोल्यो।

जवाफ फर्काउने बोल्यो, ‘गणतन्त्रमा।’

 - नवराज शर्मा

प्रकाशित: २९ माघ २०८० १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App