२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तिम्रो नाममा

कविता

गीत लेख्छु प्रेमपत्र बन्छ

कविता लेख्छु

सम्मोहन बन्छ

आख्यानहरू प्रेमाख्यान बन्छन्

प्रेमालाप बन्छन् गजलहरू

मन किन पग्लन्छ यसरी

सधैं सधैं तिम्रो समीपमा

मैनजस्तै !

०००

अक्षरहरूलाई जब जब म

आराधना गर्छु तिम्रो नाममा

जून उदाउँछ आँखामा

गुलाब मुस्कुराउँछ हृदयमा

तिम्रो मुहार एक तमासले

सुमसुम्याउन थाल्छ अक्षर

फिका फिका लाग्छन्

विश्वविख्यात प्रेमकथाहरू

०००

आफ्नै प्रेमको

प्राकृत स्मारकनेर उभिएर

जब ताजमहल सम्झन्छु

त्यो खेलौनाजस्तै लाग्छ

०००

हृदयको बाँसुरीमा

प्रितको धुन सुसेल्नु

कति प्रिय हुँदो रहेछ पानाभरि

०००

तिम्रै बाहुपासमा

लहराजस्तै बेरिएर

चलिरहेछ यो जिन्दगी

के पो लेख्नु र तिम्रा नाममा

पूरै नाम तिमीलाई

जून घाम तिमीलाई

यो हृदय तिमीलाई

०००

तिम्रो नाममा

हृदयको त्यही पानामा

जे लेखे पनि किन प्रेमपत्र बन्छ?

प्रकाशित: २७ माघ २०८० ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App