२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ। भानु नगरपालिकाले भानु– ४ चुँदीरम्घामा साहित्य उद्यान निर्माण कार्य अगाडि बढाइएको हो।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। यसका लागि संघीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयले उद्यान निर्माणका लागि केही दिनअगाडि सो रकम उपलब्ध गराएको हो।

उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि चासो राखेका छन्। उनकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो।’ उक्त बजेटबाट जग्गा अधिग्रहण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाको सालिक निर्माण गरिने जनाइएको छ।

नगर प्रमुख त्रिपाठीका अनुसार सुरुमा जग्गा अधिग्रहणको काम हुने छ। यसपश्चात् गुरुयोजना निर्माण गरी उद्यानको काम अगाडि बढ्ने  छ। उनले भने, ‘भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ। यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थल बनाउने मुख्य लक्ष्य हो।’

साहित्य उद्यान निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उपप्रमुख उमा गोतामेले बताइन्। उनका अनुसार उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिने छ।

उद्यान समितिका अध्यक्ष डा. जयराज आचार्यले समितिले उद्यान निर्माणका लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले तीनवटै तहको सरकारको सहयोगबाट भानु जन्मस्थलको विकास सम्भव रहेको उल्लेख गरे। –रासस

प्रकाशित: २५ माघ २०८० ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App