यस वर्ष मार्को पोलोको मृत्यु भएको सात सय वर्ष पूरा हुन्छ। सानासाना कुराको महोत्सव मनाउने इटालीले यो अवसरलाई कसरी चुक्न देला र! त्यसै पनि उनी भेनिसका प्रिय छोरा थिए। १७ वर्षको उमेरमा शहर त्यागेर उनी दूर यात्रामा निस्केका थिए। पहिलो पटक पिताजीसँग र अर्को पटक काकासँग चीन पुगेपछि उनले करिब २४ वर्ष त्यहाँ बिताए।
चीनबाट फर्केपछि उनले जुन आत्मकथा रचे, त्यसले सारा युरोप हल्लाइदियो। यसका बाबजुद भेनिसले उनको मूर्ति बनाएन। उनी यसरी संसार डुल्ने पहिलो यात्री थिए। उनले कुब्ला खाँलाई भेटे र सेवा गरे। उनी म्यानमार, भारत, इन्डोनेसिया, श्रीलंका र भियतनामसम्म पुगेर त्यहाँका रोचक कुरा आँखैले देखे।
त्यो बेलाको भेनिसको मालिब्रान थिएटरमा उभिएर हेर्दा उनको घर परैबाट चिनिन्थ्यो। त्यो घर साह्रै परित्यक्त भयो भनेर आउँदो अप्रिलमा उनको मृत्युको सातसय वर्षपछि घरलाई मूर्त रूप दिइँदैछ।
यसअघि मार्को पोलोको घर कहाँ पर्छ भनी ठम्याउनेको कमी थियो तर अन्वेषक रोसेला सेस्टरले मिहिनेतपूर्वक पोलाको घर फेला पारिन् र विविध चिजबिज उत्खनन गरी निकालिन्। ‘मैले खन्दा जे फेला पारेँ, त्यसले उनी वास्तवमै यो ठाउँमा बस्थे भन्ने प्रमाणित भएको छ,’ उनी भन्छिन्, ‘कुनै बेला उनी बसेको क्षेत्र भेनिसको व्यापारिक र राजनीतिक शक्तिकेन्द्र हुने गर्थ्याे।’
पोलो भेनिस फर्किएपछि सन् १२९५ मा ‘द ट्राभल्स अफ मार्को पोलो’ पुस्तक लेखिएको थियो। यही प्रकाशनपछि नै युरोपले पहिलो पटक बारूद र कागजी मुद्राबारे थाहा पाएको बताइन्छ। यति मात्र होइन, पोलो फर्केपछि त्यहीँ जान भनेर क्रिस्टोफर कोलम्बस प्रेरित भएका थिए तर पुगे अमेरिका।
सन् १५९७ मा पोलोको घर जलेर ध्वस्त भएको थियो। त्यसपछि उनलाई उनकै शहर भेनिसले बिर्सिएको थियो। १९ औँ शताब्दीमा भने उनी हिँडेका पाइलाहरू अरूले पछ्याएपछि उनको लोकप्रियता बढ्न थाल्यो।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २२ माघ २०८० ०८:५७ सोमबार