२२ असार २०८१ शनिबार
image/svg+xml
कला

तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

मुक्तक

१) मुक्तक

तिमी हाँसेका छौ र पो बाँचिरहेछ जीवन,

सारा खुशी समेटेर साँचिरहेछ जीवन।

विश्वास र धर्म हराएको स्वार्थी दुनियाँमा,

तिम्रो अलौकिक मायामा नाचिरहेछ जीवन।

२) मुक्तक

एक हातले बज्दैन ताली दुई हात जोड्नै पर्छ,

आकांक्षाका विपरीत ध्रुव एकैतिर मोड्नै पर्छ।

मै खाउँ, मै लाउँ सुखसयल मै गरूँ नभनेर,

आफूभित्रको अहंकारको घैंटोलाई फोड्नै पर्छ।

 ३) मुक्तक

कहाँ मान्छ र मन, तिमीबिना बाँच्नलाई,

झन् कसरी सक्नु दिल खोलेर हाँस्नलाई।

जसोतसो जिएकै छु,सधैं आँसु पिएकै छु,

सकूँला कहिले मुटु मिलाएर बाँध्नलाई।

 ४) मुक्तक

कसैको साथले जीवनमा परिवर्तन आउँदोरहेछ,

परिवर्तनले जीवनलाई गतिशील बनाउँदो रहेछ।

समयको गतिसँगै कतै बदलिन सकिएन भने,

जीवन झन् कष्टकर भै अन्धकार छाउँदोरहेछ।

 ५) मुक्तक

मन न हो कहिलेकाहीं चसक्कै बिझ्दोरहेछ,

थाहै नपाई परेलीहरू निथ्रुक्कै भिज्दोरहेछ।

गुम्सिएका व्यथाहरूले आन्दोलन गरिरहँदा,

उराठिला पीडाका पहाडहरूले थिच्दोरहेछ।

 ६) मुक्तक

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,

भन्नुपर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ।

तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी,

बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।

 ७) मुक्तक

प्रेमको आँखा ताराजस्तै चम्किरहन्छ,

सत्यतालाई  ईश्वर मानी गम्किरहन्छ।

उचनीचको भेदभावलाई मान्दैन यस्ले,

स्नेहको मार्गमा हरदम लम्किरहन्छ।

 ८) मुक्तक

प्रकृतिले भरिपूर्ण सुन्दरताकी खानी तिमी,

उत्तरतिर चम्किएकी हिमालकी रानी तिमी।

दक्षिणसम्म फैलिएको अन्नभूमि नेपाल हाम्रो,

दुई राष्ट्रबिच सजिएकी आमा मेरी सानी।

९) मुक्तक

एउटा व्यक्ति एउटा रुख नारा हामी नेपालीको,

वातावरण जोगाउने बाचा सारा हामी नेपालीको।

पर्यावरणीय ओजन तह क्षयीकरण जोगाउनलाई,

फोहोरमैला व्यवस्थापन गर्ने अभिभारा हामी नेपालीको।

१०) मुक्तक

हिमालको शिखरबाट लुक्दै खेल्दै आउँछौ तिमी,

पहाडको कन्दरामा मिठो गित गाउँछौ तिमी।

तराईका गरागरा सिंचाइले अमृत दाना भराएर,

सुन्दर शान्त सागरसँग मित लाउँछौ तिमी।

प्रकाशित: १६ माघ २०८० ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App