१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुगंगा गाउँपालिकासँगको समन्वयमा टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम सुरु भएको हो।

म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र थापा र सचिव कुमानसिंह गुरुङले अध्ययन टोलीलाई बिदाइ गरे।

पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारको २० जनाको अध्ययन टोली शुक्रबार साँझ पोखरादेखि बेनी हुँदै टोड्के पुगेको थियो। 

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला, कछुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।

‘गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरुको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौँ’, उनले भने, ‘धौलागिरि हिमालको फेदीमा रहेको नेपालका अल्पसङ्ख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुदायको बसोबास रहेको ठाडाखानी, कुइनेमङ्गले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरि पानोरमा ट्रेक नामकरण गरेका छौँ।’

धवलागिरि हिमशृंखला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थल आकर्षणका रुपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ। क्याम्पिङ पदयात्राका लागि उपयुक्त मानिएको छ।

यसअघि पहिचान भएको धौलागिरि सेञ्चुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो। टोड्केदेखि मालिका धुरी ठाडाखानी कुइने हुँदै घ्यासीखर्क पुगेपछि पानोरमा पदमार्ग धौलागिरि सेञ्चुरी र आइसफलमा जोडिने छ।

मन्त्री थापाले धवलागिरि हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा प्राथमिकता दिएको बताए।

मन्त्रालयका सचिव गुरुङले पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ गन्तव्यको पहिचानमा जोड दिएको बताए। उनले पोखराको फेवाताल पारीको रानीवनमा राउन्ड फेवा, भ्य’ फेवा पदमार्ग निर्माण गर्न लागिएको पनि बताए। –रासस

प्रकाशित: १३ माघ २०८० ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App