coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हेर्नुको मज्जा, देख्नुको स्वर्ग

आँखाले भ्याइनसक्नु हिमाली लस्कर। फैलिएका लम्मेतान प्रकृतिका तरेलीहरू। घामका मृदु किरणहरूमा रङहरूको अनौठो र आकर्षक शिल्प–विन्यास। तिनै किरणका रङलेपनमा तुलिकाघात सौन्दर्यका मुर्छनाहरूले सुसज्जित। प्राकृतिक उचाइमा मन रमाउन पाउनुको गहिराइ कति हो कति। त्यहाँ थियो– हेर्नुको मज्जा, देख्नुको स्वर्ग अलङ्कृत।

अन्ततः हेर्नुको दिव्यपल एक अनमोल क्षण। पाउनुको कोसेली समापनको रिक्तता होइन, हुँदैन रहेछ। बरू प्राप्तिको सिलसिला जीवनमा जीवन्त ज्ञानको विश्वविद्यालय हुँदोरहेछ। वर्षौंवर्ष पढेर पाएको ज्ञानभन्दा छिनभरको जीवन–भोगाइमा मिलेको प्राप्ति सदा स्मरणीय र वन्दनीय हुँदोरहेछ।

धन्य प्रकृति, धन्य धरोहर हाम्रा हिमालय पर्वत ! हेर्नलाई मज्जा दिइरहने हामीलाई, देख्नलाई स्वर्ग जानै नपर्ने हामीलाई। बल्लतल्ल पाइला टेक्न पुगेको अनकन्टारको स्वर्गभूमिमा। आँखाले देख्न पाएको मनमाफिकका करोडौं, अरबौं सुन्दर सुहागका माधुर्य रूपहरू, मनहरू। त्यहाँ खुलेको झलमल्ल ज्योतिर्मय प्रकृतिका छटाहरू। त्यहाँ आँखा रमाउने, मन हराउने, तन लहराउने, हृदयको ढुकढुकीमा प्रकृति प्रेम फक्रिने, पवित्र प्रेमको बीजारोपण गराउने।

हिमटाकुरामा सूर्य किरणका रङहरूको पृथक् बान्की–बनौटका बिम्बहरू। तिनलाई जति पिए पनि आँखाको प्यास नबुझ्ने। मरुभूमिजस्तो पानीको सागरै घोप्ट्याए पनि तृप्तिको कुनै छेकछन्दै नदेखाउने। नयनाभिराम जति हेरे पनि हेर्नुको धित मर्दै नमर्ने।  

अजम्बरी मायाजस्तै कहिल्यै नसिद्धिने, नरित्तिने। मनचिन्ते झोलाजस्तै दिनदिनै हजारौं यात्रीलाई बाँडेर ‘खल्तीखलास’ कहिल्यै नहुने। नखोक्रिने, जति नै चुसे पनि उस्तै। तृषित नयनले हेर्नुसम्म हेरिरहे तापनि सुन्दरताको भण्डार चुलिएको चुलियै। मनमोहक स्वरूप देखाएर लोभी आँखालाई निम्त्याइरहने दृश्यहरू।

अमृतसमान आमाको दुध पिएजस्तै तनतनी आनन्दले अघाउँजी घटघटी जति पिए पनि पिएर न स्वाद बिग्रिने, न त पिएर सिद्धिने। आमाको साथ मायालु स्पर्श–सुखको अनुभूति महसुस गर्दै।

यस्तै प्रकृतिको अमृतसमान स्वाद। स्वादिलो सौन्दर्यको मिठास। कति आनन्दको दृश्य–दर्शनको आभास। जहाँ कुनै किसिमको लोभलालच र धोकाधपेडी छैन। केवल मित्र–मिजासको हार्दिक मन हिमालजस्तै कञ्चन। दुधकोशीजस्तै निर्मल। निलो आकाशजस्तै विशाल र अनन्त। प्रकृतिको एक अनुपम सौगात हिमशैल। विराट सौन्दर्यमय वैभवको अतुलनीय अवस्थितिले यात्रीहरू चुपचाप, निःशब्द, अवाक्।

त्यसैले यो ठाउँ, यो आधार शिविरको मार्ग विश्वकै उत्कृष्ट पदयात्रा स्थल। जहाँ अनेक देशका अनेक यात्रीको ओइरो सधैं लागिरहन्छ। यिनै दृश्यमा हराउन, यिनै परिवेशमा लहराउन, यहींको प्रकृतिसँग साक्षात्कार हुन। साता दिनबढी दिनदिनै हिँडेर थाक्दैनन् पाइला। पुगेर सकिँदैन गन्तव्य। पुग्नुपर्ने ठाउँ बाँकी नै रहन्छ। देख्नुपर्ने दृश्य अझै रहस्यमै रहन्छ। यात्री तिनै खुल्दुली, त्यही जिज्ञासा बोकेर रहस्यको खोजीमा, उपलब्धिको प्राप्तिमा आइरहन्छन्

 सर्वोच्च हिमाली शृङ्खलाहरू एकसाथ उपस्थित। यसबाहेक हिउँले बनेका सयौं थुम्काथुम्की, चुलीचुचुराहरू। नयाँ हिमालय पर्वतमालाका लावालस्करहरू। होचिँदै गहिराइतिर झरेका। अग्लिँदै चुचुरा बन्न तम्सिएका। कतै फैलिएर पर परसम्म हिउँ पाटन बनेका। जमेर हिउँको ठुलो ढिस्को भएर त्यसबाट लामा लामा सुइराहरूका अचम्मका स्फटिकजस्ता पारदर्शी ताँती झरेका। कतै काँडैकाँडा हिउँका घोच्ने तिखा भाला गाडिएजस्तो भएका। आँखालाई हेर्न भ्याइनभ्याइ हुने। मनलाई सप्रेम सन्तुष्टिको अनमोल उपहार उपलब्ध हुने।

यी नवजीवनका हिमाली कोपिलाहरू। सिर्जनाका नयाँ अध्यायहरू। प्रकृतिका रङ्गीन सपना–संसार। जहाँ सिकारी, तस्करीको कुनै डर नमानी निर्धक्क पाखापखेरामा रमाइरहेका वन्यजन्तुहरू। चिलिमे चरा, कस्तुरीमृग, घोरल, डाँफे, हिउँचितुवाका बथान चरनमा चरिरहेका छन्। घामका किरणहरूले निर्मित बिछट्टकै रङ–कोलाजको क्यानभास। प्रकृतिको एकान्तमा उल्लासमय सङ्कीर्तन। 

अनेकौं रङहरूको मित्र–मिलन। हिमाली पाटो प्राकृतिक धाम बनिरहेको। उच्च धरोहरको प्रतीक भइरहेको छ। जहाँ शान्त, समृद्ध र सुन्दर छ परिकल्पनाको विश्व। समृद्ध सम्पदाहरूले समाविष्ट सेरोफेरोमा आगन्तुक पाहुना मन्त्रमुग्ध हुनु स्वाभाविक हो।

हेर्नुको मज्जा र देख्नुको सुन्दरता त्यहाँ प्रस्फुटित हुन्थ्यो। पाउनुको सन्तुष्टिमय आह्लादको अनुपम घडी त्यहीं मिल्थ्यो। परन्तु सुन्दरतालाई छुनु, छाम्नु हुन्न रहेछ। केवल हेरेर तृप्त हुनुपर्ने रहेछ। अनजानले छोइँदा भताभुङ्ग गल्र्याम्म ढल्ने रहेछ सौन्दर्यको बिरासत। हिउँ पग्लिएर बगेपछि हिमनदीको भेलले अनायासै विनाश निम्त्याउन सक्छ।

समयमा हिउँ नपरेपछि वातावरण धमिलिन सक्छ। समयानुकूल सबै ठिकठाक रहन हिमपात हुनुपर्छ। तिनलाई हेर्न यात्रीहरूको लावालस्कर पनि आउजाउ भइरहनुपर्छ। प्रकृतिलाई रसास्वादन गर्नु भनेको आनन्दले हेरेर अघाउनु हो। परैबाट देख्नु र हेर्नुको मज्जा सुललित अध्याय रहस्यमय विराट प्रकृतिको स्वभाव हो।

वास्तवमा प्रकृतिको कति मिठो आभास। रङको बेग्लै संवाद। रूपको अलग्गै आवाज। ढुङ्गाले पनि बात मार्न खोज्ने। वन्यजन्तु पनि बोल्न नजिक आउने। खोलाखहरेको सङ्गीतमय अलग्गै मिठास गुन्जिरहने। हावाका झोक्काले रुखका पातहरू नचाउँदै नृत्यमग्न प्रकृतिको पहिचान गराउने। पर्यटकहरू त्यत्तिकै यता कहाँ आएका हुन र ?

हिमालको आकर्षक बनावट। सौन्दर्यको पृथक् परिभाषा। हिँडेर त हिमतालजस्तो जोखिममा जिन्दगीको बेहालको सम्भावना। बेरङका, बेढङ्गका, बिरूपका अवस्थितिहरू हिमपातपछि एकनासको। अद्भुत सुकुमारी स्वरूप पस्किएर मस्त यौवनको जवानी जीवन प्रदर्शन गर्न उपस्थित। मनमाफिकको दृश्य भेटेपछि गीतिगायन स्वतः गुन्जिँदोरहेछ। हातका आकृति, अनुहारका भावभङ्गी, खुट्टाहरू चर्या नृत्यजस्तो नृत्यमग्न। कत्थक नाचजस्तो काया–कलरव। हातहरू उसरी नै लतालहरा, लालित्यमय। अङ्ग–अवयव रबरजस्तै लचक्क लच्किँदै अनौठो स्वरूप–संसार उद्घाटित हुने प्रकृति।

वास्तवमा हिमाल–दर्शन यात्रानुभूतिको नवीकरणको सुखद भेट पनि हो। हिमालयको निम्तो, मौलिकताको पाटो, प्राकृतिक सौन्दर्यको मिठो सुगन्धमा मिश्रित दृश्य। के बिघ्न जमेको जम्न पनि, बडेमाको ढिक्का भएर। हेर्दा पनि बोसोको उरुङखात थुप्रोजस्तो। बाटै ढाकेर, डाँडै छोपेर, खोला नै जमाएर। हिउँ परेपछि हिमाली भेगमा हिउँकै रामराज्य हुँदोरहेछ। घरका छाना, आँगन, पेटी, पर्खाल सबैतिर सेतै हिउँ जमेपछि पर्यटक पाहुनाहरू रमाउनसम्म रमाइरहेका थिए।

हिमाल त हिउँ थपिएपछि झन् हिस्सी परेको। ससाना बुट्यान, चट्टानसमेत हिउँले छोपिएपछि अर्कै रूपरङको कलेवर कति सुन्दर बन्दोरहेछ। हेर्नुको मज्जा यही थियो। देख्नुको आनन्द पनि यसमै मिल्थ्यो। पुग्नु र पुगेर भेट्नुको प्राप्ति पनि यही थियो। यत्तिकै लागि पैदल यात्राको लगातार हिँडाइ हिँडेको हो।

प्रकृतिभित्र अचम्मको सौन्दर्य लुकेको हुँदोरहेछ। फक्रन, फुल्न, फल्न र तृषित नयनलाई लोभ्याउन पर्खिरहेको। घामपानी, असिना, हावाको घाउचोटमा हायलकायल हुँदै। रुखोसुक्खा, बन्जर हुँदै गएका सयौं पहाडी तरेलीहरू हिमपातमा पनि हर्षको दियालो प्रज्ज्वलित पार्दै। हिमपहिरामा समेत धैर्यधारण गरी जीवनलाई अझ जीवन्त बनाउन अग्रसर। मौसम परिवर्तनको चक्रलाई आत्मसात गर्दै। हिउँदे याममा हिउँले सर्वत्र ढाकिएपछि बल्ल पो खुल्ने रहेछ लुकेको हिम–सौन्दर्य !

विकट टाकुरामा लुकेका असङ्ख्य सुन्दरताका भण्डारहरू हिमाली हार्दिकताले भरिपूर्ण। हिउँका सेताम्मे ओइरो ओइरिएपछि ती खोपिल्टा, खाल्टा, खर्पस, जोखिमका सारा भड्खालाहरू समथर भएर अर्कै हिमाली राज्य। जता फर्के पनि, जहाँ हेरे पनि सौन्दर्य–संसारको अपरिमित हिमालमय प्राकृतिक संरचना।

जब रातदिन नभनी अविरल हिमवर्षा बर्सिरहन्छ, लेकाली पाटाको उराठ भूमि आवाद हुन थाल्दोरहेछ। साहसिक यात्रामा पदयात्रीहरू हिमप्रकोपको पीडालाई पैतालाले किचिमिची पारेर हिँड्दारहेछन्। स्थानीयहरू भने जाडो छल्न न्यानो बस्तीतिर केही महिनाका लागि बसाइँ जाँदा रहेछन्।

आँखाको मृगतृष्णामा रोमाञ्चक अनुभूतिको लामो अध्याय। चिसिनुसम्म चिसिए पनि जिउ सौन्दर्यानुभूतिको आनन्दमा हर्षविभोर भएर उचाइ वर्णन गर्न पुग्दोरहेछ। भनिसाध्य नहुने यी रूप–सौन्दर्यको बेलीविस्तारका कैरन्हरू कति–कति !

हिउँको चिसोलाई रत्तिभर वास्ता थिएन। हिउँमा उफ्रिपाफ्री गरेर अनौठो मज्जा लिन पाएपछि। लेकाली पाहुनापासा मस्तले रमाइरहेका थिए। ामी कति वैभवशाली, कति भाग्यमानी। यसरी नै सधैं रमाइरहन पाए, यस्तै खुसी सधैं मिलिरहन सके ! बाँच्न मात्र सक्नुपर्छ मनग्यै आनन्दसँग साक्षात्कार भइरहन पाइन्छ।

सफा, सेतो हिउँ मिसिएर हो कि हिमाली हावाको चिसो एक झोक्का नै पनि कति प्रिय, कति मायालु। हिउँदे हिउँमा खेल्न, हेर्न र हिउँ छुन नपाएकाहरूका लागि हिउँदे हिउँको आकर्षण बेग्लै र विशेष हुन्छ। हिउँको ओइरो छिचोलेर हिउँपहाडको थाप्लोमा पुगेको आँखाले चारैतिर हिउँफूलको सुन्दरता देखेपछि लट्ठै पर्छ। मन आनन्दले अघाउँजी हुन्छ।

यसबेला हिउँको दृश्य मात्र होइन, हिउँको वर्णन पनि स्वादिलो र रसिलो हुन्छ किनभने आफैंले गरेको साक्षात्कारमा कल्पनातीत अनुभूतिको खातैखात खप्टिन्छ। चिप्लो, चिसो र कठिनको उकालो चढेर हिउँमा खेल्नुको न्यानो अनुभव एकप्रकारले स्मरणीय नै हुन्छ। जहाँ हिमपातसँग हित्तचित्त गाँस्न पुग्नेहरू थुप्रै हुन्छन्।

प्रकाशित: १३ माघ २०८० ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App