कुनै हेपिएको, दुःखी विधा सम्झाउन अचेल ‘सिन्ड्रेला साइन्स’ भन्ने गरिन्छ। खासगरी गणित र विज्ञानका विभिन्न विधालाई उच्चस्तरको र समाज अध्ययन गर्न आवश्यक पर्ने विभिन्न सहायक विषय (जस्तो मानविकी विधाका समाजशास्त्र, राजनीतिशास्त्र लगायतका) लाई दाताहरूले निकै कम दान दिन्छन्।
विज्ञान र प्रविधि पढाउने संस्थानका लागि भने दाताहरूले मन खोलेर दान दिने गरेका छन्। सिन्ड्रेला साइन्सका लागि दाताको मन खुल्न नसकिरहेका बेला बेलायती सरकारले गभर्मेन्ट सोसल रिसर्च विभाग बनाएको छ।
यो विभागले विज्ञान–प्रविधि र ‘सिन्ड्रेला साइन्स’हरूबीच सहकार्य गर्नेछ। सिन्ड्रेला साइन्सको प्रकृति नै यसको धिमा प्रगति हुनु हो। तर यसले समाजको जुन दिशा देखाउँछ, त्यसले विज्ञान तथा प्रविधिलाई तीव्र गतिमा नयाँ दिशामा डोर्याउँछ। त्यो गति पत्ता लगाउन यो विभाग बनाइएको हो।
समाज नजोडिएको नयाँ आविष्कारले कुनै क्रान्ति गर्दैन। उदाहरणका लागि, कोभिड १९ को खोप पत्ता लागे पनि यदि त्यो व्यापक उपयोगमा नआएको भए, प्रभावकारिता थाहा हुने थिएन। व्यापक जनसहभागिताले त्यो आविष्कारलाई मूर्त रूप दिएको छ।
धेरै वर्षदेखि आविष्कारलाई मात्र महत्व दिने तर समाज नजोडिने सिलसिलाका कारण ‘सिन्ड्रेला साइन्स’ उपेक्षित भएको भन्दै सरकारको पछिल्लो कार्यलाई वैज्ञानिक समुदायले धन्यवाद दिएको फाइनान्सियल टाइम्समा अञ्जना आहुजाले टिप्पणी गरेकी छन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ११ माघ २०८० ०१:१५ बिहीबार