काठमाडौं – बुढ्यौलीतिर लम्कदै गरेका लमजुङका बुद्धिमान गन्धर्वका लागि सारंगी बाजा मात्र होइन पुर्खाको इतिहास बोकेको साधन हो । पछिल्लो पुस्ता सारंगीको यो इतिहासबाट पर पर भइरहे पनि बुद्धि भने अहिले पनि सांरगीमा मिठो धुन रेट्न मन पराउँछन् । शनिबार गन्धर्व सांस्कृतिक कला संगठन र पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको सारंगी दिवसमा पनि बुद्धिले सांरगीमा एउटा मीठो धुन बजाए । बाँसुरी वादक रामकृष्ण गन्धर्वले उनको धुनमा स्वर भरे।
आज त मलाई निद्रै आएन
ए दिदीबैनी
छोडी जाम्ला तिम्रो देश
बसिरहनु दिदीबैनी..
हो..छोडी जाम्ला तिम्रो देश ...।
गाउँघरमा बिहेहुँदा बेहुलीले माइतीको आँगन छाड्ने दिन यस्तै विरह आफ्ना संगीसँग बाड्ने गर्छन् । उनले त्यही झल्कोको धुन बजाउँदा उपस्थित उही गाउँघरको रमाइलो बिहे कल्पन पुगे । युवा पुस्ताका अमृत गान्धारीले भने आफ्ना हजुरबाले गाएको गित सुनाए ।
के म नेपाली हैन र
के मलाई माया छैन र
बाजेले खामो गाडेको
धुरीको डोब छैन र...। गीतमा गन्धर्व समुदायको मौलिक लोकलयसँगै त्यो समुदायको देशप्रतिको प्रेम भरिएको थियो । ‘हजुरबाले गाउनु भएको गीत मैले भेटेपछि त्यसलाई सांरगीमा अभ्यास गर्न थाले,’ अर्जुन गान्धारीले थपे ,‘यति राम्रो गीत अहिलेको पुस्तालाई सुनाउनुपर्ने ठानेरै गाउँछु ।’ अमृतले शनिबार सुनाएको गीत तीसवर्षअघि उनका हजुरबुबा होमबहादुर गन्धर्व र भिमबहादुर गन्धर्वले रेडियो नेपालमा रेकर्ड गराएका थिए ।
नयाँ र पुरानो पेशाको चपेटामा परेका गन्धर्वको अमृत प्रतिनिधि उदाहरण हुन् । उनलाई पिता पुर्खाको पेसा छाड्न त मन छैन तर त्यही पेशाले मात्र भविष्य पनि बनाउँदैन । उनी आफ्नो पुख्र्यौली पेशा छाड्न विभिन्न कारणले वाध्य भएपनि सांरगी चटक्कै भने नछाडेको उल्लेख गर्छन् । ‘गाउँबाट काठमाडौं आएपछि धेरै समय ठमेलको सडकमा सारंगी बजाएरै पेट पाले । पछि भारतमा म्युजिक थेरापी पढेपछि आजभोलि म्युजिक थेरापिष्टका रुपमा काम गर्छु,’ अमृतले भने । संगीत कै माध्यमबाट हुने उपचारका लागि उनले सारंगीको धुनको प्रयोग गर्छन् ।
सारंगीको धुनलाई आधुनिक कलेवरमा प्रयोग गर्नेमा अमृत एक्ला भने होइनन् उनले जस्तै केदार गान्धारी र अनिल गन्धर्वले पनि सारंगीलाई नयाँ सन्दर्भमा पनि प्रयोग गरिरहेका छन् । केदारले सांरगीका नाममा स्वास्थ्य तथा सामुदायिक परियोजना चलाउँदै आएका छन् भने अनिलले सारंगीलाई नै केन्द्रमा राखेर समुन्द्र ब्यान्ड चलाइरहेका छन् । ब्यान्डको रुपमा उनले काठमाडौंका विभिन्न रेष्टुरेन्टमा सारंगीको धुनसँगै गीत गाउँछन् । तनहुँबाट राजधानी आएका अनिलको ब्यान्ड भने उनले नभई उनका बुबा बुद्ध गन्धर्वले स्थापना गरेका हुन् । गन्धर्व समुदायको प्रतिनिधित्व गरेर जापान जाने एउटा अवसर आउँदा दर्ता भएको ब्यान्ड चाहिने भएपछि सन २००४ मा उनका बुबाले ब्याण्ड दर्ता गरेका थिए । बुबाकै संगत लागेर सारंगी बोकेका उनले ५ पटक त जापानमा आफ्नो सारंगी कला देखाइसकेका छन् । ‘हराउँदै गएको आफ्नो बाजा मात्र हैन हाम्रो पहिचान जोगाउन पनि निरन्तरता दिएको हुँ ,’अमृतले बताए,‘हजुरबा र बुबाले बजाएको सारंगीका ताल सुन्दै सिके ।’ पुख्र्यौली बाजा जोगाउन भने सहज नरहेको उनले बताए । गाउँको सुर र ताल लाई अहिलेको जमानासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उनले सारंगीको धुनलाई नयाँ हिसाबले प्रयोग गरिरहेका छन् ।
‘गाउँको भाका र सुरलाई परिमार्जित भर्सनमा बजाउँछु’ उनले थपे ‘संगीतको ट्युनिंग, शैली पुरानो जस्तो हुन्न । उनका अनुसार सारंगीमा गिटारको जस्तो संगीतका नोट भर्छन् । सारंगीलाई पनि भौतिक रुपमा उनले त्यही अनुसार परिमार्जन गरेका छन् । हेर्दा परम्परागत सारंगी जस्तो देखेपनि उनले गाउँघरमा बनेका खिरा र सिउँडीको काठबाट बनेका सारंगीको साटो साल र बकैनाको सारंगी बनाएर बजाउँछन्।
बजारिया प्रतिस्पर्धामा उत्रनका लागि यो परिवर्तन जरुरी रहेको उनले बताए । सारंगीमा परेको संकटकै बारेमा अनुसन्धान गरेका उनले सारंगी लोप हुँदै जानुको पहिलो कारण जातीय र आर्थिक विभेद रहेको सुनाए । ‘एक त तल्लो जात भनेर हेप्छन्, दोस्रो कम पढेलेखेका युवा यसलाई रोजगारीमा बदल्ने ल्याकत राख्दैनन्,’ सारंगी जोगाउन नसक्नुको कारण उल्लेख गर्दै उनले भने,’ पेशाका रुपमा अंगालेपनि त्यसको भरले परिवार चलाउन गाह्रो हुन्छ ।’ सारंगीलाई समुदायको पहिचानसँगै अगाडि बढाउन राज्यले नै भूमिका खेल्नुपर्ने उनले जोड दिए।
दिवसमा प्रमुख अतिथी कम्युनिष्ट नेता बामदेव गौतमले सारंगी संरक्षण गर्न प्रस्ताव लिएर आए सम्बोधन गर्न सघाउने दाबी गरे । जागरण मिडिया सेन्टरका महासचिव शिवजी गायकले अरु दलित समुदायजस्तो छरिएर नभई एकै समुदायमा एकत्रित भएर बस्ने भएकाले गन्धर्व समुदायको उत्थान गर्न सरकारले चाहे सहज रहेको बताए । उनले देशभरका विभिन्न वस्तीमा करिब आठहजार जनसंख्याको हाराहारीमा गन्धर्व समुदाय रहेको उनले जानकारी दिए। कार्यक्रममा नेता बामदेव गौतमसँगै अन्य सहभागी सारंगीको धुनसँगै नाचेका थिए।
प्रकाशित: २० फाल्गुन २०७४ ०५:०२ आइतबार