२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

साहित्यकार आचार्य सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।

विगत पाँच दशकभन्दा लामो समयदेखि भाषा, साहित्य र समालोचनामा सक्रिय आचार्यका विभिन्न कृति प्रकाशित छन्।

उनलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। सोही अवसरमा मुक्तककार रोमा लम्सालको ‘अन्तिम भेट’ मुक्तकसंग्रहमाथि विमर्शसमेत गरिएको थियो। संग्रहबारे कवि तथा समालोचक हरिप्रसाद बरालले टिप्पणी गरे। संग्रह पढ्दा जीवन भोगाइका विभिन्न पक्ष प्राप्त गर्न सकिने बरालले बताए।

कार्यक्रममा लम्सालले संग्रहभित्रका मुक्तक वाचन गरेकी थिइन्। १ सय २७ पृष्ठको संग्रहभित्र २०२ वटा मुक्तक समावेश छन्। मञ्चको मासिक साहित्यिक शृंखलाअन्तर्गत सोही अवसरमा दुई दर्जनभन्दा बढी कविले आआफ्ना सिर्जना सुनाएका थिए।

 कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रमुख अतिथि विवश पोखरेल, साहित्यकार बलराम पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित: ७ माघ २०८० ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App