समस्याका पहाडहरू दिनदिनै चुलिंदैछन्। निश्चित हिसाबकिताब निकालेर परदेशिएको म, यो सालको नि हिसाबकिताब बिग्रियो। मेरो डायरीमा लेखेको अन्तिम डेडलाइनमा वर्ष फेरियो महिना फेरि उहीं छ। फेरि सम्झौताको एक वर्ष थपियो। हरेक वर्ष मेरो डायरीमा घर फिर्ने डेडलाइनमा केरमेट भइरहेको छ।
रेगिस्तानको जिन्दगी, एउटा कोठामा कच्याककुचुक मिलाएका खाटहरू त्यसमा पनि दुईतले खाट। गाउँको गोठका पालिहरूमा बिन्दास सुत्ने म, मलाई त्यो उकुसमुकुसले नसताएको हैन। सुरुका दिनहरूमा निसासिंदै जेल जस्तो जिन्दगी खेपे पनि अचेल सहज लाग्दै छ। आखिर आदत न रैछ जिन्दगी। भोगाइ न रैछ जीवन। मैले दिन गुजारिरहेको छु। मजस्तै धेरै मान्छेको जीवन आजकाल यसैगरी बित्दै छ। समय भनौं या समस्या बाध्यता भनौँ या विवशता मानिस आधुनिक दास बन्दै छ।
सायद सबै मान्छेलाई थाहा होला म र हामी जस्ता प्रायः मानिसहरू पैसाको मुखलाई उज्यालो बनाउन परदेशिएका हौं। उखानमा सधैं सुन्ने गरेको र जीवनमा धेरै भोगिएको त्यो पैसाको मुख निकै कालो हुने गर्दथ्यो।
संघर्षका दिनहरूमा त्यो पैसाको कालो मुखले कयौंपटक मलाई तर्साएको छ। निस्पट्ट त्यो अँध्यारो कालो पैसाको छायाले मलाई धेरै पटक विचलित बनाएको छ।
जिन्दगी बडो अपरिभाषित हुँदो रैछ है कान्छा? हरेक मान्छेले सोचे जस्तो बोले जस्तो जिन्दगी खै कस्को छ त? म त देख्दिनँ? सँगै काम गर्ने पश्चिमतिरका दाइले खस लवजमा मलाई बारम्बार प्रश्न गर्छन्।
जिन्दगीको भर्भराउँदो जवानी मरुभूमिको राप र व्यवहारिक तापले गुमाइसकेका ती दाइको पनि घर फिर्ने हिसाबकिताब अझै मिलेको छैन। परदेशमा यसरी हिसाबकिताब नमिलेर जवानी यतै सक्नेहरू अनगिन्ती भेटिन्छ्न। कोही साथीहरूसँग भोगाइका पोकोपुन्तुरो सोमरससँगै फुकाउँछन र हलुका महसुुस गर्छन् त कोही यसै पिल्सिएर बस्छन्।
आखिर कोही मान्छे खुसी छैन यो परदेशमा। खुसी खोज्न हिंडेकाहरू खुसी छैनन् किन? उत्तर सहज छ। परदेश। त्यो देश हैन परदेश। पर अनि देश। पराईको देश। अनि खुसी कसरी होस्? आफूबाहेक सारा परिवार घर र श्रीसम्पत्ति छोडेर गुलाम जो बन्नुपरेको छ। मैले जिन्दगी कहिले बुझ्न सकिन। आज बुझेको जिन्दगी केही समयपछि छेपारोले फेरेको रङभन्दा बढ्ता तरीकाले फेरिन्छ।
मैले गरेका आकलनहरू आकाशजमिनको अन्तरझै बनिदिन्छ। मेरा सपनाहरू दिनदिनै फेरिन्छन्। कोही पूरा हुन्छन् केही यसै लावाारिस। अनि सुस्केरामा आफूलाई थुमथुमाउनुबाहेक केही हुन्न जीवन। आखिर के चै होला जीवन? यस्तैयस्तै अनेक सोचेर परदेशका दिनहरू हरकोहीले बिताइरहेका छन्।
कति विदेश बस्छस्? कति पैसाको पछि लाग्छस्? यी र यस्तै तमाम प्रश्न आफ्ना र वरिपरिकाहरूको सामना नगर्ने कमै होलान् तर प्रश्नसँग पोख्त हुँदै विवशताको प्लेन चढेर फेरि रेगिस्तान फर्कनुबाहेक अरू उपाय आजसम्म निस्केको छैन।
मेरा कोसिस कयौंचोटि फेल भइसकेका छन्। अब त फर्किन्न होला भनेर कयौंपटक गरेको कोसिस कोसिसमै सीमित भए। किन भए? कसरी भए? हरप्रश्नका उत्तरहरू मसँग छन्। तर प्रश्न गर्ने आफन्तसँग तिनै प्रश्न मात्र छन् उत्तर छैन।
यदि उत्तर हुन्थ्यो भने हरेक दिन नेपाली नेपाल विमानस्थलमा रोइरहेका किन भेटिन्थेनन् होला? श्रीमान् बिदाई गर्दै गरेका श्रीमती, श्रीमती बिदाई गर्दै गरेका श्रीमान् र आफन्त बिदाई गर्दै गरेका आफन्तहरूका भिड हाँसीखुसी आफ्नै कर्ममा देशमै रमाइरहेका हुन्थे होला। तिनका आँसुले विमानास्थलको भुइँ सिंचित हुन्थेन होला?
केही मान्छेले नेपालमै प्रगतिउन्नति नगरेका भन्ने नि हैन। ती औंलामा गन्न सकिनेबाहेक आम मान्छेको सपना देश बस्ने छँदै छैन। किन छैन? त्यसको नि उत्तर छ। हामी पुस्तौदेखि अभावमै हुर्किएकाहरूको एक त लगानी गर्ने पुँजी छैन।
पुँजी जुटाए पनि सफल नभइएला कि भन्ने डर छ। त्यसको कुनै आड गरिदिने निकाय छैन। अनि हाम्रो संस्कार भनौं कि हाम्रो समाजको मनोविज्ञान सानातिना काम देशमै गर्दा हामीलाई लाज हुन्छ।
हामी तिनै परदेशमा गर्ने दुखहरूलाई आफ्नाे देशमा गर्न सक्दैनौं। हाम्रो इज्जत जान्छ। त्यो हाम्रो समाजले हुर्काउँदै आएको संस्कृति हो। तर त्योभन्दा नि कठिन र फोहोरी काम गरेर यसो फुर्सद हुँदा समुन्द्रको छेउ वा चिल्ला सडक र ठुला बिल्डिङछेउ उभिएर फोटो हाल्दा हामी कति ठूलो आत्मसम्मानको अनुभूति गर्छौ त्यो यथार्थ हो।
अर्को कुरा हामीलाई आफ्नै बलबुतामा देशमै केही गर्नुपर्छ भन्ने कुनै सिकाइ नै छैन। त्यो न स्कुल, कलेजले सिकाउँछ। अहिले स्कुल सकिनेबितिकै शैक्षिक कन्सल्टेन्सीका नाममा खुलेका मेनपावर कम्पनीहरूले पैसा भएका र अङ्ग्रेजी जान्नेहरूलाई युरोप अमेरिका अस्ट्रेलियातिर बेचिरहेका छन्।
सरकारी स्कुलका उत्पादनलाई राज्यद्वारा संरक्षित दलालहरूले खाडीमा बेचिरहेका छन्। बेच्ने बेच्ने नै हो। विकसित देशहरू उत्पादन र सामानहरू बेच्छन्। हामीजस्ता गरिब देशहरू मान्छे बेच्छौ। तिनका कमाइमा देश बाँचिरहेछ। नेतृत्व यसकै चास्नीमा डुबिरहेको छ। यस्तै छ देशमा।
हाम्रो सिकाइ नै परनिर्भर हुने सिकाइ छ। स्कुल, कलेजहरूले के सिकायो भन्दा परीक्षामा नम्बर कसरी ल्याउने भन्ने मात्र सिकायो। स्कुल कलेजले जीवन बाँच्न के कसो गर्नुपर्छ?उत्पादन र स्वरोजगार कसरी हुने भन्ने व्यवहारिक शिक्षा नै सिकाएनन्। अनि त्यो कलेजले दिएको शिक्षा र सर्टिफिकेटकतै बिक्दैन। अनि सर्टिफिकेट दराजमा राखेर परदेशिनुबाहेक कुनै विकल्प बाँकी रहेन, रहँदैन।
परदेशी जति देशबारे जानकार सायदै कोही होला। फुर्सद पायो कि मोबाइलको स्क्रिन स्क्रोल गरेर फुर्सदको समय सकिन्छ। अनि देशमा भइरहेको राजनीतिक गतिविधि लुछाचुँडी वाक्कदिक्क समाचारले झन बेचैन बनाइदिन्छ।
देश साँच्चिकै खान मिल्थ्यो भने हुँडार जस्ता नेताहरूले देशलाई एक टुक्रा बाँकी नराखी खाइसक्थे होलान्? खान त खाइनिसकेका छन्। देशमा कुनै वस्तु लिलामीबाट बाँकी छ भने अस्तित्व मात्र बाँकी छ।
प्रकाशित: ५ माघ २०८० ०६:३५ शुक्रबार