२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जडौरी लुगा

लघुकथा

हाम्रो अपार्टमेण्ट अगाडि टक्क एउटा महँगो गाडी रोकियो। मैले नियालेर हेरें उक्त गाडीलाई। त्यो गाडीबाट सफा दुई एकसाथ गोडा निस्किए। उक्त दुई गोडा एउटी अमेरिकी महिलाको रहेछ। ऊ हाम्रै कोठा अगाडि हाँस्दै आएर उभिई। मेरी छोरीले हात मिलाई र अंग्रेजीबाट केके भलाकुसारी गरी।

किन यो महिला यहाँ आई भनेर म नियालिरहेकी थिएँ। त्यो महिला त्यहीं उभिई। मेरी छोरीले एक झोला केही चिज थमाई।

म असमन्जसमा परें। कहिले आउजाउ नभएकी त्यो महिला। फेरि हामी पनि भर्खर त्यहाँ बसाईं सरेर आएको चिनजान नै नभई छोरीले के दिई होला भनेर मनमा कौतुहलता जागिरह्यो।

उक्त महिला धन्यवाद भन्दै उक्त चिल्लो गाडीमा चढेर गई।

मैले छोरीलाई सोधें, ‘नानी को हो त्यो महिला? तैंले के दिएकी?’

छोरीले हाँस्दै भनी, ‘को हो? म पनि चिन्दिनँ नि!’

मैले भनें, ‘अनि तैंले त केही चिज दिएर पठाइस् त!’

 छोरीले भनी, ‘ए नानीको पुराना लुगाहरू थिए। त्यही लुगाहरू कसैलाई चाहिएको छ भने लिन आउनु भनेर फेसबुकमा राखेकी थिएँ। त्यही लिन आएकी ऊ।’

म ट्वाल्ल पर्दै सोंच्न थालें। हाम्रोतिर हो भने एकपल्ट लगाएको लुगा हामीले मायाले आफ्नैलाई दिए पनि जडौरी लुगा दियो भनेर नाक खुम्च्याउँछन्। यस्तो धनी देशमा भने त्यस्तै जडौरी लुगाहरू पनि चिल्ला, महँगा कारमा आएर खुशी हुँदै लैजाँदा रछन्। भनेपछि हामी र हाम्रो सोच गरिब कि देश गरिब? जहाँ हरकुरामा नकारात्मक सोच लागु हुन्छ।’  

प्रकाशित: ४ माघ २०८० ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App