४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा-२०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू- प्राडा गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाशचन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नीता श्रेष्ठ, डा. बुनु दाहाल र नवीन शाही, चर्चित गायकहरू - नविन पौडेल, नरहरि प्रेमी र रितु कंडेल, बालनृत्यकार रन्जना थपलिया, सञ्चारकर्मीहरू - गोकर्णप्रसाद भण्डारी, चिरञ्जीवी मास्के, जीवन लामा र पुष्पा थपलिया तथा समाजसेवी रुद्र थपलियालाई सापसले गत पुस ४–६ गतेसम्म शैलुङमा आयोजना गरेको कविता यात्रामा सहभागी भएबापत सम्मान गरिएकाे थियाे।

सो कविता यात्रामा शैलुङमा स्रष्टा घरकाे शिलान्यास पनि गरिएको थियो। घर निर्माण गर्न जग्गा र निर्माणका लागि लगानी तथा कविता यात्राका लागि वातावरण समेत बनाउन सहयोग गरेकाले समाजसेवी एवं गीतकार शोभित उप्रेतीलाई सम्मान गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले चर्चा गरेका थिए।

स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसँग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने उद्देश्यसहित सो कार्यक्रमको आयोजना गरिएको थियो। २०३९ सालदेखि संघले कविता यात्राको आयोजना गर्दै आएको छ।

दोलखाकै जिरी लगायतका ठाउँमा संघले २०४२ सालमा पनि कविता यात्राको आयोजना गरेको थियो भने अगिल्लो पटक इलाममा आयोजना गरेको थियो।

दोलखामा आयोजना गरिएको कविता यात्रामा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरूको पनि सहभागिता रहेको थियो भने शैलुङ गाउँपालिका-८ पनि स्थानीय आयोजकको रूपमा रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरू शोभित उप्रेती र अधिवक्ता दिनेश त्रिपाठी र समाजसेवी नवीन शाही लगायतले मन्तव्य राखेका थिए।

यसैगरी कविता यात्राका सहभागी सर्जकहरूले पनि आआफ्नो अनुभव र कविता यात्राको चर्चा, रचना वाचन र गीत गाएका थिए। कार्यक्रममा कविता यात्राले शैलुङमा थप सांस्कृतिक जागरण ल्याएको अनुभव व्यक्त गरिएको थियो।

उक्त कविता यात्रामा दोलखाको चरणावतीधामको दर्शन, शैलुङको थुम्कामा साहित्य विमर्श, कवि गोष्ठी एवं नृत्य र कालापानीमा ‘स्रष्टा घर’को शिलान्यास र भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

बाह्र हजार फिटको उचाइमा सामूहिक कविता वाचन गरिएको यो पहिलो रहेको मानिन्छ। सोही कार्यक्रममा भारत सरजारको निम्तोमा अयोध्या जान लागेकोमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र सञ्चारकर्मी ज्ञानेन्द्र कार्कीलाई विदाई पनि गरिएको थियो।

प्रकाशित: ३ माघ २०८० ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App