आजकाल साहित्यिक बजारमा यात्रा नियात्राका थुप्रै पुस्तक आइरहेका छन्। यसमा यदाकदा निकै स्तरीय कृति पनि नदेखिएका होइनन्। तर कुनै कुनैचाहिँ नियात्राका नाउँमा देश विदेश चहारिरहेका आआफ्ना विज्ञापन र स्वप्रशंसाहरू बढी आउन थालेको महसुस हुन्छ। जसमा कला र शिल्पले लेपन गरिएका सामग्रीभन्दा अनावश्यक गन्थन र सतही विवरणहरू बढी पढ्न पाइन्छन्। समुद्रमा डुवुल्की मारेको, टावर चढेको, रेल र पानीजहाजमा यात्रा गरेको, दरवार चर्च र म्युजियम घुमेको, रेष्टुराँमा पसेर खाना खाएको अनि होटलमा रात बिताएका फेहरिस्त विवरणहरूले पाठकको अमूल्य समय बर्बाद नगरिरहेको पनि होइन। नवीन कुरा के दियौ पाठकलाई भन्नेतर्फ त्यति ध्यान दिइरहेको देखिंदैन। यो भने हाम्रो नेपाली साहित्यिक जगतकै लागि ठूलो चिन्ताको विषय हो।
यात्रा भनेको के हो? अथवा नियात्रा के हो? के यसका सैद्धान्तिक नियमहरू छैनन्? विचार, दृष्टिकोण हुँदैन? रस लालित्य चाहिंदैन? कला, शील्प र भावले नसिङ्गारीकन लेखिएका रचना साहित्यको कोटीभित्र पार्न सकिन्छ? अथवा पर्दछन्? यस्तैयस्तै सोचिरहेको अवस्थामा बिदेशकै प्रसङ्ग जोडिएको एक कृति मेरो हातमा आइपर्यो।
कृष्ण बजगाईद्वारा लिखित उमिहोतारू। यसलाई पनि मैले केही हदसम्म त्यही कोटिमा राखेर पुस्तकका पानाहरू पल्टाउने जाँगर चलाएको थिइनँ। निकै दिनसम्म आफ्नै कोठाको एउटा कुनामा थन्किरहेको यो नियात्रा कृतिलाई एकदिन अनायासै हातमा लिन पुगेँ।
रेडियो नेपालमा एक दशक जागीर खाएर दुई दशक विदेश बस्दैमा कृष्ण बजगाईले कति छिट्टै मातृभूमिका प्रसङ्ग र नेपाली शब्दहरू बिर्सेछन् भन्ने पनि नलागेको होइन, शीर्षक र विषयसूची हेरेर।
अतः म उनीसँग सुरूमै केही ठुस्किन पुगेँ। कतै नेपाली नामै पो हो कि? मलाई थाहा नभएको पनि त हुन सक्छ भनेर मरिहत्ते उमिहोतारूको अर्थ खोज्न विभिन्न कोष पल्टाउन थाले अहँ कहीँ कतै पत्ता लगाउन सकिनँ। अनि उनको यो नियात्रासङ्ग्रह नै पढ्न बाध्य बनें। बल्ल थाहा भयो उमिहोतारू भनेको जापानी शब्द रहेछ– ‘सामुद्रिक जुनकिरी’। राम्रो र युनिक नाम भए पनि शीर्षक कै दर्जा पाउनुपर्ने उमिहोतारू प्रति लेखकलाई किन यत्रो मोह जागेछ? पुस्तक पढिसकेर पनि यो कुरा भने जान्न सकिनँ।
‘बतासे’ यो नामसँग मलाई निकै प्रेम छ। किनभने म खोटाङको यही गाउँमा जन्मन पुगेको हुँ। बतासे भन्ने गाउँमै हो मेरो नाल गाडिएको। सायद त्यसैको तिर्सना मेटाउन म सङ्ग्रहको प्रथम नियात्रा पढ्दै बतासे शहर कहाँ रहेछ भन्ने जिज्ञासा मेटाउन आतुर बनें।
शिकागो शहरको बतासे र मेरो गाउँको बतासेमा आकाश जमिनको अन्तर रहनु स्वभाविकै हो। तर एउटा कुरामा भने समानता पो मिल्यो कि भन्ने सोचेर म नजानिँदो पाराले रोमाञ्चित पनि बन्न थालें। अमेरिकाको शिकागो शहरलाई बतासे उपनाम दिइएको प्रसङ्ग जोड्दै लेखक भन्छन्, ‘उन्नाइसौ शताब्दीमा शिकागोका नेताहरूले पनि नेपालकै जस्तो बढी गफ गर्ने तर सिन्को पनि नभाँच्ने गर्दा रहेछन् रे। जनतामाझ बतासे तमासा देखाउने पार्टीका नेतालाई व्यङ्ग्य गर्दै एक पत्रकारले दिएको बतासे उपनामलाई सहर्ष स्वीकारेको रहेछ शिकागोले (पृ.११)।’
कतै मेरो गाउँको बतासे नाम रहनामा पनि यही कुरा लागु भएको त होइन? म गम्भीर सोचमा परेँ। कताकता चित्त पनि बुझ्यो। बतासे नामको नयाँ अर्थबोध मात्र भएन नयाँ भाष्य निर्माण भएजस्तो पनि लाग्यो मलाई।
शिकागो शहर हुँदै बग्ने एक नदी जसलाई ठीक उल्टो दिशामा घुमाएर बहाइएको प्रसङ्गले म झन् जिज्ञासु भएँ। कतै यस्तो पनि हुन्छ? प्रकृतिलाई नै उल्ट्याउन सक्छ मान्छेले? के यो विकासको चरम नमूना र प्रगति होइन? धेरै नेपाली शिकागो शहर पुगेर यात्रा गरेका छन्, नियात्रा लेखेका छन् तर खै कसैले यसबारे यति मिहिन पाराले खोज गरेर लेखेको देख्दिनँ त म?
‘हँन पुस्तकमा त राम्रै खुराक पो छ कि के हो?’ अघिसम्म मिल्किएको उमिहोतारूलाई अब म निकै स्नेहले सुमसुम्याउने भैसकेको छु। ‘क्याम्ब्रिज’ भन्नेबित्तिकै हाम्रो दिमागमा त्यहाँको विश्वविद्यालयको सम्झना हुन्छ।
विश्वविख्यात व्यक्तिहरू जन्माउने ज्ञानको खानी रहेको स्थानमा निर्वस्त्र सुन्दरी! यो के हो? पुस्तकभित्रको दोस्रो शीर्षकले उत्तिकै उत्सुकता पैदा गराउँछ मलाई। ‘हामी असुरक्षित छौं, जलवायु परिवर्तन तत्काल रोकौं’ भन्ने अङ्ग्रेजीमा नारा लेखिएका व्यानर बोकेर निर्वस्त्र वीसपच्चीस जना जति महिला र पुरूष विरोध प्रदर्शन गरिरहेको देख्छन् हाम्रा नियात्राकार।
अझ उनी थप्छन्, ‘...विवाह पनि नभएका निर्वस्त्र युवतीको कामुक शरीरबाट यौनको ज्वारभाटा उठ्नुपर्नेमा विरोधको मुस्लो उठिरहेको देखें।’
सडक पेटीमा रेलिङ नभाँची, टायर नबाली, सडक अवरूद्ध नगरी, लठ्ठी र ढुङ्गा नबर्साई पनि विरोध हुन्छ र? मेरो देशमा राँके जुलुस बोकेर सरकारी तथा निजी सम्पत्ति तोडफोड गर्दै जिन्दावाद र मुर्दावाद गर्ने हाम्रै देशका नेता र कार्यकर्ताहरूका ठूलठूला झुण्डलाई यतिखेर म झलझली सम्झन पुग्छु।
यो पुस्तक नियात्रा हो कि अनुसन्धानमूलक कृति? म अब दोधारमा पर्छु। यसमा पादटिप्पणी, सन्दर्भग्रन्थ सूची राख्ने हो भने त अनुसन्धानमूलक कृतिको रूपमा लिन सकिने रहेछ। म अनुमान गर्न थाल्छु। किनभने यसमा ज्यादै गहन खुराक, विविध सूचना र जानकारीहरू रहेछन्।
कृष्ण बजगाई लन्डनको योनी म्यूजियममा पुर्याउँछन् हामीलाई। यो म्यूजियममा घुम्न जाँदा मनमा आएका उनका भाव, तरङ्ग र तर्कनाको वर्णन उनले ज्यादै रोचक ढङ्गले गरेका छन्।
आफूलाई परेको अप्ठ्यारो कत्ति पनि नलुकाई नहिच्किचाई प्रकट गरेर आफ्नो मनोदशा र व्यथा छर्लङ्ग्याएका छन्। योनी म्यूजियम हेर्न जाने कस्तो नकच्चरो पुरूष रहेछ! यो को होला? कहाँको होला? भनेर सबैले उनीतिर नजर दौडाएको महसुस गर्दछन् उनी। लाज मान्छन् तर जब अरू पुरूषलाई त्यहाँ देख्छन् तब मात्र उनी ढुक्क हुन्छन्।
यसरी मनको भित्री तहसम्म लेखनलाई उतार्न सकेका छन् बजगाईले। कतै जीवन भोगेजस्तो गरी यथार्थ लेख्न सकिन्छ कृतिलाई? उनको लेखनीबाट अब म कायल बन्न पुग्छु। मलाई त्यसैत्यसै उनीप्रति डाह पो लाग्न थाल्छ।
उक्त म्यूजियमभित्र प्राचीन, मध्य र आधुनिक युगमा महिलामा हुने महिनावारीका कथा व्यथा र योनी सम्बन्धी जानकारी दिने सूचनाको अथाह भण्डार पाएर एकैछिनमा उनी भाग्यमानी सम्झन्छन् र खुसी व्यक्त गर्छन्।
म्यूजियम अवलोकन गर्ने क्रममा नेपालको छाउपडी प्रथाबारे त्यहाँ लेखिएका कुराहरू देखेर उनी लज्जित भएको प्रसङ्गले हामी सबैका् शिर निहुरेको मैले पनि पुस्तक पढ्दा पढ्दै महसुस गर्न पुगे। हाम्रो चेतनास्तरलाई दरिलो झापड हान्न उनी निकै सफल हुन्छन् यहाँ।
विश्वकै समय मापन गर्ने स्थान ग्रिनविच जहाँ अर्का नियात्राकार श्रीओम श्रेष्ठ रोदनसँग काल्पनिक रेखा हेर्न पुगेका बजगाई भन्छन्– अमेरिकाको वासिङ्गटन डिसीमा २५ राष्ट्रका प्रतिनिधिबिच अन्तर्राष्ट्रिय मेरिडियन सम्मेलनको आयोजनामा भोट हुँदा बेलायतको ग्रिनविचले सबैभन्दा बढी मत पाएको हुँदा त्यही समयदेखि यो स्थान विश्वकै समय निर्धारकस्थल बनाइएको कुरा गर्दै नेपालको शक्ति र सामथ्र्य पुग्थ्यो भने सगरमाथामा यो स्थान राख्न पाएको भए त्यो सबैभन्दा अकाट्य र दह्रो हुने राय व्यक्त गरिरहँदा निर्धन र निर्वल हुनुको पीडाबोध एकैचोटि अनुभूत गर्न बाध्य बनें। राम्रो तर्क उनले यहाँ प्रस्तुत गरेको मैले महसुस गरेँ।
पैसा तिरेर कुकुरको चिहानमा पुगेको कुरा पनि उनले उत्तिकै रोचक ढङ्गमा गरेका छन्। कुकुरको चिहानघारीले पर्यटकलाई आकर्षित गरेर पैसा कमाएको देखेर उनी सम्झन्छन् ब्राइण्डिङ्ग गरेर बेच्न सक्ने हो भने पर्यटनका नाममा जे पनि बिक्री हुँदो रहेछ भन्ने निष्कर्षमा पुग्छन्। जुन कुरा एकदम सही लाग्छ। नेपालमा यसका कति प्रचुर सम्भावनाहरू थिए तर त्यसै खेर गइरहेको परिदृश्य फेरि मेरो आँखामा झल्झली आउन थाल्छ।
आफू घुमेको ठाउँको यति रोचक ढङ्ग र सूक्ष्म तरिकाले गहन अध्ययन गरेर लेख्न सक्नु कुनै लरतरो विषय पटक्कै होइन। उनी जहाँजहाँ पुग्छन् र जसजसको बारेमा लेख्छन् त्यसको त पूर्ण र पर्याप्त सामग्री प्रस्तुत गर्छन् नै, त्योबाहेक पनि यात्रा गर्दा गर्दै बाटोमा अनायासै देखिएका भेटिएका स्थान, त्यहाँका ढुङ्गा, माटो, नदी, वन जङ्गलको पनि उनले उत्तिकै रूपमा व्याख्या विवेचना र विश्लेषण गर्न सक्नु अर्काे उनको प्रशंसालायक प्रस्तुति हो। लेखकको यो अद्भूत क्षमताले मलाई निकै लोभ्यायो रोमाञ्चित बनायो। ‘ए बाबा! कति धेरै सूचना र जानकारीहरू एकठ्ठा पार्न सकेका!’
कवि मिल्टनको कटेजमा घुम्न निस्कँदा बाटोमा घना जङ्गल र बोटविरूवाहरू देख्छन् । अब के थियो सुरू भयो उनको अनुसन्धान-‘रूखहरू एकापासमा संवाद गर्दछन् र आवश्यकता अनुसार पौष्टिक तत्वहरू जराको माध्यमले एक आपसमा आदानप्रदान गर्दछन्।
उक्त कुरा वैज्ञानिकहरूले हालसालै पत्ता लगाएको कुरा स्मरण गर्दछु। धेरै वर्षअघि नै ग्रिक मिथोलोजीमा केही रूखले संवाद मात्र होइन भविष्यवाणी समेत गर्दथे भनिएको छ। संसारभर आफ्नो साम्राज्य कायम गर्न लडाईमा निस्कने अलक्जेण्डर द ग्रेटले संवाद गर्ने रूखलाई बारम्बार भेट्न जाने गरेको कुरा पढ्न पाइन्छ। संसारको पहिलो यात्री मार्काेपोलोले पनि यात्राको क्रममा भारतमा बोल्ने रूखलाई देखेको कुरा यात्राबाट इटाली फर्केर आएपछि बताएका थिए ’(पृ.११५)। यस्ता कुरा त कत्ति छन् छन् पुस्तकभरि।
यसरी बाटोमा एकाएक भेटिएका, देखिएका विषयवस्तुलाई मनमा टिपेर त यत्तिको लेख्न सके भने मूल विषयवस्तु बनाएरै हिंडेका नियात्राकार कृष्ण बजगाईले साहित्यकारहरू किट्स, वर्डवस्थ, नात्चुमे, डि.एच लरेन्स, फ्रायड, कुपर, मिल्टन, एडलिन भर्जिनिया उल्फ, नात्चुमे सोसेकी र युकियो मिसमा जस्ता सर्जकहरूबारे त जीवनी नै लेखे सरह जानकारीहरू प्रदान गरेका छन् पुस्तकमा।
उनी योनी म्यूजियम घुम्न जान्छन् र महिनावारीका सम्बन्धमा एउटा थेसिस नै बन्ने खालका सूचनाहरू एकठ्ठा गर्न पुग्छन्। नेपालको छाउपडी प्रथाबारे मात्र होइन कङ्गो, जाम्बिया, ताइवान, कोरिया, वोलेभिया, मलेसिया, फ्रान्स, बेलायतजस्ता देशमा पनि यस बारेका धारणा, प्रचलन र चालचलनहरूको इतिवृत्त नै प्रस्तुत गर्छन्।
बिरामीको उपचारमा कविताले औषधिको काम गरेको अर्काे रोचक तथ्य पनि उनले खोलेका छन्। यो कुराले हाम्रो जस्तो साहित्यलाई अनुत्पादक क्षेत्र भनेर हेयका दृष्टिले हेर्ने गरेको क्षेत्रका लेखक कविलाई उत्साह र उर्जा नमिल्ला र?
उनी भन्छन्, ‘बेलायत सरकारको राष्ट्रिय स्वास्थ्य सेवाका विरामीहरूलाई औषधि उपचारसँगै कविता सुनाउँदा उनीहरूमा आत्मबल बढेको, उत्साह थपिएको र पीडामा कमी आएको तथ्य बाहिर आएको छ। बेलायतमै स्वास्थ्यसँग जोडिएको ‘पोयम इन द वेटिङ रूम’ भन्ने परोपकारी संस्था नै खुलेको छ। ‘पोयट्री अफ मेडिसन’ भन्ने वर्कसप चलाएका छन् बेलायतमा (पृ.८०)।’
यस्ता उदेकलाग्दा तर सत्य कुरा जुन सितिमिति हामीजस्ता पाठकले थाहा नपाएका क्षेत्रमा समेत उनको कलम दगुरेको छ। यो उनको लेखनीको यो विशेषता हो, सबल पक्ष हो।
–बेलायतका प्रसिद्ध कवि लर्ड वायरन आफ्नो कक्षा कोठामा जीवित भालु लिएर जान्थे।(पृ.२०)
-त्यहाँ कवि कुपरको कपाल सुरक्षित राखेको देखेर अचम्म लाग्यो। (पृ.९८)
- कुकुर पाल्ने मानिसमा नैराश्य कम हुने र कुकुरसँग खेल्दा तनाव कम हुने कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ। बेलायतका केही कार्यालयहरूका कर्मचारीहरूले कुकुर साथै लैजान पाउने सुविधा पनि छ। (पृ.५४)
-डि.एच.लरेन्स अभागी लेखक थिए, उनको गुमनाम मृत्यु भयो। उनी जस्ता सुप्रसिद्ध स्रष्टाको मृत्युको समयमा १० जना मात्र मलामी थिए। (पृ.८९)
-सायद उनी (एडलिन भर्जिनिया) लेख्नकै लागि जन्मेकी थिइन् कि? (पृ.१२८)
-निवास नजिकैको उज नामक नदीमा गोजीमा ढुङ्गा भरेर ५९ वर्षको उमेरमा भर्जिनियाले फाल हानिन्। गोजीमा ढुङ्गा हाल्नुको अर्थ पानीमा लास नतैरियोस् भन्ने थियो। (पृ.१३१)
-चित्रमाथि हाइकु लेखिने जापानी साहित्यको अर्काे विधा हो-हाइगा। (पृ.१४५)
-जापानमा भने साहित्यकार मात्र होइन उनको बिरालोको चिहान समेत चर्चामा रहेको थाहा पाउँदा आह्रिस पो लागेर आयो। (पृ.१५६)
-त्यहाँ उनले (युकियो मिसिमो) ले एकछिन उग्र भाषण गरे र अन्त्यमा (हाराकिरी) गरे। जापानी भाषामा हाराकिरीको अर्थ हुन्छ धारिलो तरवारले आफ्नो पेट चिरेर आत्महत्या गर्नु। (पृ.१७०)
यी त केही नमूना मात्र हुन्। यस्ता थुप्रै रोचक र नयाँनयाँ तथ्यहरूले पुस्तकलाई पठनीय र रोचक बनाएको महसुस हुन्छ।
जहाँ पुगे पनि जहाँ घुमे पनि आफ्नो नाल गाडिएको ठाउँ नेपाल नसम्झने को होला र? त्यसमा पनि कोमल मनमस्तिष्क भएका लेखक साहित्यकारहरू? ग्रिनविच घुम्न निस्कन्छन् र त्यहाँको चकाचौध विकास हेरेर नेपाल सम्झँदै भन्छन्, ‘कहिले ठडिएलान् मेरो देशमा समृद्धिका हाम्रा सपनाहरू?
‘अलिक पर बगिरहेको थेम्स नदी शान्त देखेँ। तर मेरा मनमा बेस्सरी उठेका थिए असन्तुष्टिका ज्वारभाटाहरू (पृ.४७)।’
हो, नियात्राकार कृष्ण बजगाईका पाइला यात्रा भनेपछि त्यसै त्यसै उचालिन्छन्। यात्रामा पहाड, पर्वत, समुद्र, नदी, तलाउ, दरवार, चर्च, मठमन्दिर, किल्ला, दुर्ग र तीर्थस्थलहरू घुम्दा उनी अत्यन्त आल्हादित बन्छन्, खुसी हुन्छन्।
अझ इतिहास, कला, साहित्य र संस्कृतिको खोजीमा निमग्न हुन पाउँदा आनन्दित हुन पुग्छन्। त्यस्ता यात्रामा मनोरञ्जन र आनन्दभन्दा पनि ज्ञान प्राप्तिको अभिलाषा राख्छन्। उनी आफै पनि भन्छन्, ‘म जति जति विदेशको यात्रा गर्छु उति उति आफ्नो दश चिन्दै र बुझ्दै जान थालेको छु। पृ.१०४)’।
यस्ता सर्जकसँग दुईचार दिन आफू पनि संगै हिंड्न पाएको भए? म पुस्तक पढ्दैपढ्दै यस्तैयस्तै कल्पना गर्न पुगेँ। बेलायतको विलिङ्गमा आजभन्दा झण्डै चार वर्षअघि अनेसासको एक साहित्यिक कार्यक्रममा उनीसँग भेट्दा यस्तो सौभाग्य मिल्न सकेको भए म कति धन्य हुने थिए होला? सम्झन्छु।
यस्ता सर्जकहरूलाई आफ्नो देशभित्र साहित्यिक पर्यटन गराएर यहाँका अथाह साहित्यिक खुराकहरू पाठकसामु पस्कन सकेको खण्डमा हाम्रो देशको साहित्यिक भण्डार कति धनि बन्ने थियो होला। यसतर्फ नेपाल सरकार गम्भीरतापूर्वक कहिले लाग्छ होला? काठमाडौंस्थित कमलादीको दृष्टि यस्ता कुरामा कहिले पुग्ला? यस्ता सोचहरू मेरो दिमागमा एकाएक आउन थाले।
बेलायत, जापान र अमेरिका तीन देशको यात्रा गर्दाका विवरणहरू समेटेर तयार पारिएको प्रस्तुत नियात्रासङ्ग्रह भुँडी पुराण प्रकाशनले प्रकाशित गरेको हो। २०७९ सालमा प्रकाशित प्रस्तुत नियात्रासङ्ग्रह २०० पृष्ठको आकारमा रहेको छ भने यसको मूल्य ३००।- रूपैयाँ रहेको छ।
प्रकाशित: २९ पुस २०८० ०७:३९ आइतबार