संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।
यस ग्रन्थले धार्मिक व्रतकथाका अलावा ऐतिहासिक एवम् सम्भ्रान्त ललितपुर सहर र चैनपुरलाई सांस्कृतिक रूपमा जोड्ने सेतुको काम गरेको छ। श्रेष्ठले वैभवशाली र सम्भ्रान्त ललितपुरको नेवारी सभ्यता, संस्कृति र गौरवमय धार्मिक परम्परालाई चैनपुरमा समेत विस्तार गर्नमा महत्त्वपूर्ण योगदान दिएका थिए।
यो ग्रन्थले चैनपुर-ललितपुरको ऐतिहासिक सांस्कृतिक सम्बन्धको गाँठो दर्बिलो तुल्याएको छ। ललितपुरको सर्वेश्वरबाट व्यापारको सिलसिलामा बाजेकै पालमा चैनपुर बसाइँ गएका श्रेष्ठले उहीं बसेर यो कृति तयार पारेका परिवारका सदस्यले जानकारी दिए।
नेपालमा हस्तलिखित ग्रन्थ लेखनको कार्य ईश्वीको नवौं शताब्दीदेखि सुरुवात भएको मानिन्छ। विसं १९१५ मा श्रेष्ठद्वारा हस्तलिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ धार्मिक/सांस्कृतिक महत्त्वको मात्र नभएर ऐतिहासिक महत्त्वको दस्ताबेजका रूपमा आएको मौलिक ग्रन्थ हो।
अहिले हिन्दुहरूले पढ्ने स्वस्थानीका किताबमा ३१ अध्याय छन् तर यो स्वस्थानीमा भने २२ अध्याय मात्र छन्। जुन अरू स्वस्थानीभन्दा पृथक विशेषता हो। पाठकलाई पढ्न तथा स्रोतालाई सुन्न र बुझ्न सजिलो होस् भनेर अध्यायपिच्छे शीर्षक दिइनु यो स्वस्थानीको अर्को विशेषता हो।
यस पुस्तकमा खस भाषाको प्रभाव देखिन्छ। जसले पौराणिक, भौगोलिक एवम् वंशविशेषको महत्त्वलाई समेत उजागर गरेको छ।
स्वस्थानीको पुस्तकमा पुष्पिका वाक्यका रूपमा लेखकले आफ्नो नाम, तिथिमिति, वंशको परिचय एवम् चैनपुरका स्थानीय देवस्थलहरूको समेत नाम उल्लेख गरेका छन्। जसले इतिहास जान्न चाहनेलाई समेत गुन लगाएको छ। बोलीचालीको नेपाली भाषामा लिप्यन्तरण गरिएको यो पुस्तकमा मूल पाठसमेत समावेश छ। जसले संस्कृतिप्रेमी र अनुसन्धातालगायत सबैलाई सहज हुने प्रकाशकको दाबी छ।
यस स्वस्थानीको हस्तलिखित मूलपाठको अन्वेषण, सम्पादन एवम् परिचयात्मक लेखन गरेका इतिहासकार रमेशकुमार ढुंगेलले गरेका छन्। पुष्पिका वाक्यसहित लेखिएको हस्तलिखित स्वस्थानी व्रतकथा भएकाले यो ऐतिहासिक महत्त्वको दस्ताबेज भएको बताउँछन्।
त्यसैगरी मूलप्रतिबाट सर्वसाधारणले बुझ्ने गरी आधुनिक नेपाली भाषामा लिप्यन्तरण गर्ने कार्य भने पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले गरेका हुन्। लामो समय यही क्षेत्रमा काम गर्दा पुरातत्त्वको महत्त्व बुझेकाले आफू यसका लागि उत्साहित भएको उनको भनाइ छ।
हस्तलिखित यस ऐतिहासिक ग्रन्थलाई सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले पुस्ताकार रूपमा प्रकाशन गर्ने काम भने निराकार श्रेष्ठको संयोजनमा स्वस्थानी प्रकाशन समूहले गरेको हो।
प्रकाशित: २८ पुस २०८० ०४:३४ शनिबार